१७ वैशाख २०८३, बिहिबार

तेह्र लाख घरपरिवारको लगत सङ्कलन

२०७१ असार २४, मङ्गलबार
तेह्र लाख घरपरिवारको लगत सङ्कलन

काठमाडौँ, २४ असार । गरिब घरपरिवार पहिचान, परिचयपत्र व्यवस्थापन र वितरण संयोजन बोर्डको सचिवालयले गरिब घरपरिवार पहिचानका लागि १३ लाख घरपरिवारको लगत सङ्कलन गरेको छ ।
देशमा गरिबीको क्रम न्यूनीकरण गर्दै लैजाने लक्ष्यका साथ देशका विभिन्न २५ जिल्लामा स्थलगत लगत सङ्कलन गरिएको हो ।
बोर्डको सचिवालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार पहिलो चरणमा अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, बागलुङ, सिन्धुली, रौतहट, सिराहा, खोटाङ, भोजपुर, गोर्खा र रामेछाप जिल्लामा प्रारम्भिक रूपमा लगत सङ्कलन सम्पन्न गरी सकिएको छ ।
हाल घरपरिवारको सम्पूर्ण विवरण उल्लेख गरिएको उक्त लगत तथ्याङ्क सचिवालयमा प्रविष्ट गर्ने काम भइरहेको र उक्त कामलाई दुई महिनाभित्रमा सम्पन्न गरी अर्को एक महिनाभित्रमा गरिबी घरपरिवारको पहिचान गरिने लामिछानेले जानकारी गराउनुभयो ।
पहिचान सम्पन्न भएपछि पहिचान गरिएका गरिब घरपरिवारको सम्बन्धमा सम्बन्धित गाविस कार्यालयमा उजुरीका लागि सूचना टाँस गरी प्राप्त उजुरी समेतका आधारमा आवश्यक छानबिन गर्दै परिचयपत्र वितरण कार्यलाई अन्तिम रुप दिइनेछ ।
सरकारको विद्यमान मापदण्ड समेतका आधारमा गरिब घरपरिवार पहिचान गरिने उल्लेख गर्दै उहाँले हाल सङ्कलित १३ लाख घरपरिवारमध्ये चार लाख घरपरिवार गरिबी घरपरिवारको वर्गमा पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सरकारका १३ मन्त्रालयका १९ वटा राष्ट्रियस्तरका कार्यक्रम र विभिन्न सङ्घसंस्थाका माध्यमबाट धेरै गरिबी लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।
परिचयपत्र वितरणले गरिबी सहयोग सम्बन्धमा भइरहेको आर्थिक अनियमितता समेतलाई रोकेर वास्तविक गरिबहरूको पहिचान गरी लक्षित कार्यक्रममा एकरुपता आउने अपेक्षा गरिएको छ । परिचयपत्र वितरणसँगै विभिन्न मन्त्रालयबाट भएका गरिब लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ्ने र यसबाट नेपालको विद्यमान गरिबी न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको निर्देशक लामिछानेले जानकारी गराए।

अभिलेख

लोकप्रिय