३० असार २०८३, मङ्गलबार

किसान बहुउद्देश्यीय सहकारी मनायो रजत जयन्ती, माटो परिक्षण प्रयोगशाला सञ्चालनमा

२०७७ कात्तिक १७, सोमबार
किसान बहुउद्देश्यीय सहकारी मनायो रजत जयन्ती, माटो परिक्षण प्रयोगशाला सञ्चालनमा

कैलाली, १७ कात्तिक

लम्कीचुहा नगरपालिका–१,लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २६ औं प्रवेश गरेको छ । संस्थाले आज आफ्नो रजत जयन्ती समारोह मनाएको छ ।

संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको रजतजयन्ती समारोहको प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाई रहनुभएको थियो । समारोहमा मेयर बजगाईले किसान सहकारी न्यून आय भएका व्यक्तिको आर्थिक सहयात्री बनेको बताउनसभयो । उहाँले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुबाट लक्षित वर्ग लाभान्वित भैरहेको बताउनुभयो ।

सो समारोहमा वडा नं. १ का वडाध्यक्ष जनक बम, राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका सदस्य शिवा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा सहकारीले संस्थापक अध्यक्ष इन्द्रकुमार शाहलाई २५ तोला चाँदीको सिक्काद्वारा सम्मान गरेको छ । त्यस्तै सहकारीले समाजमा उत्कृष्ठ काम गर्दै आएका अन्य तीन जनालाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा परोकार कार्यमा संलग्न सहारा घरका सञ्चालक बलबहादुर बिष्ट, कृषि कार्यमा संलग्न नविन जोशी र युवा अभियन्ता केपी खनाल रहनुभएको छ । तीनै जनालाई जनही ११ हजार नगद सहित सम्मान गरिएको हो ।

सहकारीले रजतजयन्तीको अवसर पारेर विभिन्न प्रतियोगिता समेत आयोजना गरेको थियो । ती प्रतियोगिताका विजेताहरुलाई समेत रजतजयन्ती समारोहमा पुरस्कृत गरिएको छ । सहकारीले ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाब्यापी खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा कुबेर तिमिल्सेना प्रथम, पूजा शाह द्वित्तीय र दिक्षा तिमिल्सिना तृतीय भएका छन । रजतजयन्ती समारोहमा उनीहरुलाई क्रमशः १५, १० र ५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

त्यस्तै सहकारीले ‘कोभिड–१९ को विषम परिस्थितिमा सेवाप्रवाह एवं व्यवशायिक सफलताका लागि कर्मचारीको भूमिका’ विषयक अन्तर शाखा स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा लम्की शाखाका अमरराज भण्डारीले प्रथम, टीकापुर शाखाका रिता बजगाईले द्वित्तीय, फूलबारी शाखाका अर्जुन रिमालले तृतीय र सुखड शाखाका दीपेन्द्र बटालाले सान्त्वना स्थाना हासिल गरेका छन । उनीहरुलाई क्रमशः १०, ७, ५ र ३ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

२०५२ सालमा १ शाखा, १ कर्मचारी, २७ जना शेयर सदस्य र ३६ हजार ६ सय शेयर पूँजी रहेको सहकारी २५ वर्ष भित्रै कैलालीका अधिकांश ठाँउ फैलिएको छ । सहकारीका अहिले जिल्लाभर २१ शाखा, १ कृषि फर्म, १ रासायनिक मल बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला छ । सहकारीले रजतजयन्ती समारोहकै अवसरमा माटो परिक्षण प्रयोगशालाको समेत उद्घाटन गरेको छ । प्रमुख अतिथि मेयर बजगाईले प्रयोगशालाको उद्घाटन गरेका छन । सहकारीमा अहिले १७८ कर्मचारी, ५५ हजार ४०७ शेयर सदस्य र १२ करोड ३९ लाख शेयर पूँजी रहेको छ ।

सहकारीले गत आव २०७६र०७७ मा ८ करोड ८५ लाख खुद मुनाफा गरेको छ भने २ अर्ब ७७ करोड ८२ लाख ६ हजार ९४० रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले बैकिङ कारोबारका साथै शेयर सदस्यहरुलाई निशुल्क कृषि परामर्श समेत दिने गरेको छ ।

 

अभिलेख

लोकप्रिय