४ वैशाख २०८३, शुक्रबार

राष्ट्रिय योजना आयोग र सहकारी अभियान बीच छलफल

२०७७ जेठ ११, आईतवार
राष्ट्रिय योजना आयोग र सहकारी अभियान बीच छलफल

काठमाडौं, ११ जेठ

‘स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ’

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको स्वेच्छिक राष्ट्रिय समिक्षा प्रतिवेदन (भीएनआर) को तयारीका सन्दर्भमा आज सहकारी अभियानसँग भर्चुअल परामर्श गरेको छ । सो छलफलमा अभियानले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहकारी क्षेत्रले खेलेको भूमिकाको विषयमा चर्चा भएको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले १५ औं योजनाको आत्माभित्र सहकारी र दिगो विकास लक्ष्य रहेको बताउँदै सहकारी क्षेत्र तत्लोतहसम्म पुग्ने भएकाले एसडीजी कार्यन्वयनका लागि यो योगदान अपरिहार्य रहेको औल्याउनुभएको छ । उहाँले कोभिड १९ को महामारीका कारण दिगो विकास र १५ औं योजनाका लक्ष्यमा असर गरेको र त्यसलाई न्यूनीकरण गर्न तथा अर्थतन्त्रको पुनरोत्थान गर्न उपयुक्त योजना कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने बताउनुभयो । उहाँले सहकारीले स्वास्थ्यका क्षेत्रमा समेत महत्वपूर्ण सेवा प्रदान गर्न सक्ने भएकाले त्यसतर्फ समेत अभियान अग्रसर हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कँडेलले स्थानीय तहलाई उत्पेरित गर्न समेत सहकारीले भुमिका खेल्न सक्ने औल्याउँदै अगामी बर्ष सबै स्थानीय तहलाई योजना बनाउन उत्पेरित गर्ने तयारी भएको समेत बताउनुभयो । छलफलमा संयुक्त राष्ट्र संघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले भीएनआरको विषयमा प्रष्ट पार्नुभएको थियो । नेपालले दोस्रो पटक यो प्रतिवेदन प्रस्तुत गर्न लागेको हो । नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि के कस्ता कार्य गरिरहेको छ भन्ने विषय र अहिले एसडीजी हासिलको कुन क्रममा नेपाल छ भन्ने विषय रिपोर्टमा समेटिने उल्लेख छ ।

राष्ट्रिय सहकारी महासंघले योजना आयोगले गठन गरेको विभिन्न कमिटीमा रहेर आफ्नो योगदान दिइरहेको छ भने सहकारीमार्फत दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका समेत खेल्दै आएको छ ।

नेपालले एसडीजी हासिलका लागि ४७९ वटा सुचांक तय गरेको भए पनि कोभिड १९का कारण कार्यान्वयनमा प्रभाव परेको आचार्यले बताउनुभयो । उहाँले नेपाल, भारत र बंगलादेशले आफ्नो दोस्रो भिएनआर रिपोर्ट उच्चस्तरीय राजनीतिक मञ्चमा प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

योजना आयोगका सदस्य मिनबहादुर शाहीले दिगो विकास लक्ष्य प्राप्तिको मुख्य पार्टनरका रुपमा सहकारी रहेको बताउँदै छलफलको सहजीकरण गर्नुभएको थियो । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी एसडीजीका १७ वटै लक्ष्य प्राप्तिका लागि काम गर्न सक्ने क्षेत्र भएको र त्यसका लागि शुरुआतदेखि नै महासंघले सहकारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्नका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले उत्पादक शक्तिलाई उत्साहित बनाउन, भुमिहिन श्रमिकलाई खेतीमा संलग्न गराउन, खेतियोग्य जमिनमा उत्पादन बृद्धि गर्नका लागि सहकारीको भूमिका रहँदै आएको बताउनुभयो । उहाँले विभेदको अन्त्य गर्ने, मर्यादित काम र आर्थिक बृद्धि, उत्तरदायी उपभोक्ता र उत्पादनका लागि सहकारीको मूख्य भूमिका रहने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लाबेल बोर्ड सदस्य ओमदेवी मल्लले महिलामाथि हुने सबै प्रकारका हिंसाको उन्मुलनका लागि सहकारीले महत्वपूर्ण कार्य गरेको र महिलालाई आत्मनिर्भर बनाइ सर्वसुलभ तथा सुरक्षितका साथ काम गर्ने वातावरणको प्रत्याभुत गराउनका लागि सहकारीको योगदानका कारण यो क्षेत्रमा लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । युएनले पनि तल्लो तहसम्म पुग्ने क्षेत्र सहकारी भएकाले विश्व सहकारी अभियानको छाता संघ अन्तर्राष्ट्रिय सहकारी महासंघ र आइएलओलाई नजिकको पार्टनका रुपमा लिएको बताउनुभयो ।

आइसीए ग्लोबल बोर्ड सदस्य मल्लले सहकारीमा महिला र पुरुष बीको विभेदको अन्त्य भई सबै तहका सहकारीमा ३३ प्रतिशत प्रतिनिधिका लागि नीतिगत व्यवस्था कार्यन्वयनमा आएको बताउँदै नेतृत्व तहमा ४० प्रतिशत महिलाको सहभागिताले एसडीजीको पाँचौ एजेन्डा हासिल गर्न सहयोग पुग्ने औल्याउनुभयो । उहाँले पदाधिकारी तहमा समेत महिलाको नेतृत्व स्थापित गर्ने विषयमा अभियान अग्रसर रहेको बताउँदै अनुशासित समाज निर्माणका लागि सहकारीले भूमिका खेलेको औल्याउनुभयो ।

महासंघका उपाध्यक्ष रमेश पोखरेलले सहकारीले वित्तिय साक्षरता, उत्पादन वितरण, गरिवी निवारण, स्वरोजगार सिर्जनालगायतका क्षेत्रमा कार्य गरिरहेको प्रष्ट पार्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले प्राविधिक जनशक्ति र सहकारीको उद्योगलाई आधिकारी कानुनी मान्यता प्राप्त हुन सकेको खण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै कृषि सहकारीबाट २५२ वटा उद्योग संचालन भएको ५० उद्योग निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले विउ प्रशोधन उद्योग, आधुनिक नर्सरी, मल उद्योग स्वदेशमा सहकारीमार्फत संचालन गर्न सके देश आत्मनिर्भर हुने बताउनुभयो । उहाँले सहकारीले सिराहामा कमला नदिबाट सिंचाई गरेको उदाहरण दिदै सिंचाईका लागि सहकारीलाई जोड्दै उत्पादन बृद्धि गर्नुपर्ने, खाद्य बैंक स्थापना गर्ने लगायतको विषय उजागर गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक केवी उप्रेतीले कोभिड १९को प्रभावका कारण एसडीजीको प्राथमिकताका क्षेत्र परिवर्तन गर्न पुर्नमुल्यांकन गर्नुपर्ने बताउनुभयो । रोजगारी सिर्जना, उतपादन बृद्धि, वित्तिय व्यवस्थापन, साक्षरता र परिचालनमा सहकारीको योगदान रहेको र बैंकले २५ अर्ब लगानी गरिरहेको बताउनुभयो । उहाँले कोभिड १९का कारण गरिवी बढ्ने, भोकमरी लाग्ने अवस्था नआओस् भनेर बैंकले विना धितो चैतदेखि नै त्यसलाई सम्बोधन गर्ने ऋण प्रवाह गरिरहेको बताउनुभयो ।

महासंघका संचालक तथा नेपाल केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष नारायण देवकोटाले संघमार्फत २५ वटा साना दुग्घ उद्योगले स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गरेर ग्रामिण अर्थतन्त्रलाई सवल बनाउने कार्य गरेको बताउनुभयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सदस्यलाई उद्यमी बनाउनका लागि नेफ्रकुनले चालेको कदमको विषयमा चर्चा गर्नुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका संचालक इन्दिरा पन्तले सदस्य र समुदायमा केन्द्रित भएको सहकारी क्षेत्रले जागरण, सचेतना देखि उत्पादन, बजारीकरण र स्थानीय क्षेत्रको उत्थानका लागि महत्वपूर्ण भूमिका खेलेको भए पनि ती योगदानलाई प्रचार तथा अभिलेखिकरण गर्नुपर्ने औल्याउनुभयो ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी क्षेत्रले स्थानीय तहका जनप्रतिनिधिलाई समेत दिगो विकास लक्ष्यका विषयमा सचेत गराउँदै सहकार्य गरेकोे, महासंघले सहकारीका लागि एसडीजी गाइडलाइन तयार गरेको बताउनुभयो । उहाँले सहकारीले गर्ने कार्यक्रममध्ये ७ प्रतिशत कार्यक्रम दिगो विकास लक्ष्यसँग जोडिएको तथ्यांक राख्नुभयो । सुब्बाले सहकारी क्षेत्रमा करिब ४० प्रतिशत महिला नेतृत्वमा रहेको बताउँदै कोभिड १९को महामारीका समयमा मुल्य नियन्त्रणका लागि सहकारीले प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।
यस्तै, नेपाल केन्द्रीय मौरीपालन सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले मौरी संरक्षण भएको खण्डमा मात्र मानव अस्तित्व रहने भएकाले मौरी मैत्री विरुवा लगाउने, विदेशबाट फर्कने श्रमिकलाई सहकारी कृषिमा आवद्ध गराउँदै नया स्वरुपबाट काम गर्दा दिगो विकास लक्ष्य हासिल हुने बताउनुभयो ।

केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले गरिवी न्युनिकरणका लागि किसानलाई चिया खेतीमा आवद्ध गरेर, उद्योग स्थापना गरेर, रोजगारी सिर्जना गरी आर्थिकस्थिति सुधारका कार्य संघले गरेको बताउनुभयो । उहाँले विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने, पिछडिएकालाई सहकारीमार्फत तालिम सिप सिकाएर आत्मनिर्भर बनाउने काम भएको बताउनुभयो ।

अभिलेख

लोकप्रिय