सहकारी सुधारमा दल उदासीन
काठमाडौं,९ वैशाख । केही सहकारीको ठगीका कारण १२ हजार सर्वसाधारणको झन्डै ९ अर्ब जोखिममा परिसके पनि सरकार र राजनीतिक दलहरू सुधारमा उदासीन देखिएका छन् । बलियो नियमन निकाय र कानुन नभएका बेला ऐन संशोधन गरेर सर्वसाधारणलाई सुरक्षा दिनुपर्ने आवश्यकता भए पनि त्यसतर्फ ध्यान जान सकेको छैन । चार वर्षअघि नै समस्या समाधानका लागि बलियो ऐन कानुन बनाउनुपर्ने सुझाव एक उच्चस्तरीय समितिले दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको हो । त्यसयता एक पटक गैरदलीयसहित कांग्रेस, एमाले र एमाओवादीले सत्ता चलाए पनि सहकारीका विषयमा सबै मौन रहे ।
२०६६ गठन भएको समितिले दुई वर्ष लगाएर अध्ययन गरी पेस गरेको प्रतिवेदन यत्तिकै थन्किएको छ । प्रतिवेदन तयार गर्नेमध्येका एक अर्थविद् रामेश्वर खनाल सहकारी ऐनले मात्र नपुग्ने देखेर थप व्यवस्था गर्न सरकारलाई सुझाव दिएको बताउँछन् । ‘सहकारी र लघु वित्तलाई सुपरिवेक्षण गर्ने गरी अलग्गै संस्था बनाउन सुझाव दिएका थियौं,’ उनले भने । तर ऐन संशोधनसहित प्रतिवदेनका अधिकांश महत्त्वपूर्ण काम सरकारले अघि बढाएन ।
२०४८ सालको सहकारी ऐनले २५ जना जम्मा भएर सहकारी संस्था खोल्न सक्ने व्यवस्था गरेको छ । सीमा नतोकी बचत तथा ऋणको कारोबार गर्न पाउने अधिकार दिएको ऐनले आर्थिक अनियमितता हुँदा कारबाही गर्ने व्यवस्था भने गरेको छैन । ऐनले आवश्यक विवरण नबुझाउने सहकारी संस्थालाई १५ सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने मात्र व्यवस्था राखेको छ ।
‘ऐन बनाउने समयमा सहकारी क्षेत्रमा अनियमितता, फटाइँ हुन्छ भन्ने सोचिएकै थिएन,’ सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले भने, ‘त्यसैले कानुन संशोधन गरेर सहकारी अपराधलाई व्याख्या गर्न आवश्यक भएको छ ।’
कृषि मन्त्रालयअन्तर्गत रहँदै ०६३/०६४ मा पहिलो पटक सहकारी ऐन संशोधनको तयारी भएको थियो । त्यसपछि पनि पटकपटक संशोधन गर्दा राजनीतिक दललाई सहकारी अभियानबाट परेको दबाबले काम अघि बढ्न सकेन । ‘सहकारी अभियानका मान्छेले दबाब दिएपछि र आफू अनुकूल बनाउन खोजेपछि संशोधनको काम अघि बढ्न नसकेको हो,’ विभागकै एक अर्का अधिकारीले भने, ‘ऐनबाहेक अन्य नियम कानुन पनि संशोधन गर्न खोज्दा ठूलै दबाब आउने गरेको छ ।’ न्यौपानेसमेत ऐन नियमको संशोधन तयारी थाल्दा ‘स्वायत्तता माथि प्रहार’ भन्दै विरोध हुने गरेको बताउँछन् ।
कृषि मन्त्रालयबाट छुट्टएिर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनेपछि पनि ऐन संशोधनका प्रयास भएका थिए । मन्त्रालय आफैंले नभई सहकारी विकास बोर्डमार्फत ऐन संशोधनको काम अघि बढाउन खोजिएको थियो । तर त्यसले पनि सफलता पाएन ।
विभिन्न अन्तर्राष्ट्रिय निकायले पनि सहकारीको अनुगमन र कानुनी संरचना सुधारमा ध्यान दिन सरकारलाई पटकपटक सुझाव दिएका छन् । पछिल्लो समय विश्व बैंकले पनि सहकारी क्षेत्रका सरोकारवालासँग छलफल गरेर सरकारलाई कानुनी संरचनामा सुधार ल्याउनुपर्ने बताएको थियो । ‘विश्व बैंकका पदाधिकारीले सहकारीमा चासो दिएका थिए,’ विभागका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद घिमिरले भने, ‘उनीहरूलाई कानुनी र संरचनागत सुधार ल्याउन आवश्यक रहेको बताएका छौं ।’
सहकारी सिद्धान्त विपरीत चल्ने सहकारीलाई खारेज गर्ने अधिकार भए पनि त्यसअनुसार काम हुन नसकेको खनाल बताउँछन् । ‘खराब संस्थालाई विघटन गर्दै लैजानुपर्छ र सञ्चालक समितिमा एकै व्यक्ति/परिवारको हालिमुहाली रोक्नुपर्छ,’ खनालले भने, ‘यसका साथै सदस्यबाहेकलाई ऋण दिने काम पनि रोकिनुपर्छ ।’ दुवै काम सहकारी विभागले गर्न सक्ने र कडाइ हुने बित्तिकै सहकारी क्षेत्रमा समस्या कम हुन थाल्ने उनी बताउँछन् ।
०६८ मा कार्यदलले दिएको सुझावमा सरकारले सहकारी नीति र विकासका लागि योजना बनाउन आवश्यक रहेको बताइएको छ । कार्यदलले सहकारी बचत तथा ऋण ऐन र राष्ट्रिय सहकारी बैंक ऐन नहुनुलाई पनि समस्याका रूपमा देखाएको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।
मुलुकभर करिब ३० हजार सहकारी संस्था छन् । बचत तथा ऋणको मात्र कारोबार गर्ने सहकारीको संख्या १३ हजारको हाराहारी छ । सर्वसाधारणबाट पैसा लिने र ऋण लगानी गर्ने बहुउद्धेश्यीय सहकारी पनि ४ हजारको हाराहारीमा छन् । १ करोड रुपैयाभन्दा बढीको कारोबार गर्ने सहकारी संस्था मुलुकभरमा २७ सयको हाराहारीमा छ । ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारी पनि १८ छन् ।
सदस्यबाहेकसँग कारोबार गर्न नपाइने व्यवस्था भए पनि एक कित्ता सेयर किन्न लगाएर ठूलो रकम ऋण लगानी गर्ने क्रमले सहकारी क्षेत्रमा समस्या सुरु भएको हो । यस्तो क्रम पछिल्लो समय पनि रोकिन सकेको छैन ।स्केच वर्तमान सहकारी मासिकबाट साभार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार