५ वैशाख २०८३, शनिवार

एक दर्जन सामाजिक कार्य गर्दै बिन्धवासिनीले मनायो २७ औं स्थापना दिवस

२०७६ फागुन ७, बुधबार
एक दर्जन सामाजिक कार्य गर्दै बिन्धवासिनीले मनायो २७ औं स्थापना दिवस

बनेपा, ७ फागुन

काभ्रे जिल्लाको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले एक समारोह बीच २७ औं स्थापना दिवस मनाएको छ ।

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सहकारी वैंकका अध्यक्ष के.वि उप्रेती र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीहरुमा उत्कृष्ट सहकारीको रुपमा रहेको बताउनु भयो । यस सहकारीले लगातार ३ वर्ष एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरिसकेको समेत उहाँले बताउनु भयो । शुभकामना राख्नुहुँदैै अध्यक्ष कंडेलले वित्तीय क्षेत्रमा सहकारीले २० प्रतिशत भन्दा वढी योगदान दिएको बताउनु भयो । साथै नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सम्पन्न गर्न सहकारीहरुले आ–आफ्नो क्षेत्रवाट लाग्नुपर्ने कुरामा जोड दिनुुभयो । कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैक सम्पूर्ण सहकारीहरुको बैक भएकोले सहकारी बैंकले गर्न सक्ने बिन्धवासिनीलाई जुनसुकै सेवा प्रदान गर्न तयार रहेको बताउनु भयो । २७औं स्थापनाको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भयो ।

नेफ्स्कुनका अध्यक्ष परितोष षौडेलले स्थिरिकरण कोष र यसको महत्वको बारेमा प्रकाश पार्नुहुँदैं संस्थाले सबृद्ध नेपालको परिकल्पनालाई पूर्ण रुपमा सफलता प्राप्त गर्न सदस्यहरुलाई व्यवसायिक बनाउनु पर्ने बताउनु भयो ।

स्थापना दिवसको अवसरमा संस्थाले काठमाडौंमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्था र विन्धवासिनीको एकिकृत कारोवार घोषणा कार्यक्रममा साविक सिर्जनशी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं व्यवस्थापकले संस्थाको वित्तीय विवरण तथा हिसाव खाताहरु बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थालाई हस्तान्तरण गरी एकिकृत कारोबारको समेत शुभारम्भ गरिएको थियो । एकिकृत कारोबार शुभारम्भ पछि बिन्धवासिनीको सेवा काभ्रेपलाञ्चोक र काठमाण्डौ जिल्ला गरी दुई जिल्लाभर कायम भएको छ ।

समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम अन्तर्गत स्थापना दिवसको अवसर पारेर भकुण्डे सेवा कार्यालयमा निःशुल्क दन्त परीक्षण, तेमालमा रहेको भुमेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण, पनौतीमा रहेको प्राणनाथ माईती बृद्ध आश्रमका लागि भाैितक सामाग्री तथा फलफूल वितरण, नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सम्पन्न गर्न काभ्रेपलाञ्चोक जिल्लाका सिमाना क्षेत्रहरुमा स्वागत वोर्ड राखिएको छ । त्यस्तै च्यासिंखर्क सेवा केन्द्रबाट पूर्ण कालीन सेवाको प्रारम्भ, खुल्ला रक्तदान तथा रक्तचाप परीक्षण, संस्थाको संस्थापक सचिव दिवाकर गुरागाईलाई स्वास्थ्य उपचार सहयोग वितरण, निःशुल्क आँखा शिविर, कार्यालयहरुमा दिपावली आदि कार्यक्रमहरु आयोजना गरिएको संस्थाका प्रमुख व्यवस्थापक के.वि लामाले जानकारी गराउनु भयो ।

काभ्रे जिल्लाभित्र १६८५ वटा समूह मार्फत ३५ हजार सात सय शेयर सदस्य र ७ हजार तीन सय सत्तरी जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४३ हजार सेवाग्राही, शेयर पुँजी ३० करोड ९१ लाख २५ हजार, ऋण लगानीमा बाँकी २ अर्ब २३ करोड ८१ लाख ८३ हजार, बचत तथा निक्षेप २ अर्ब १६ करोड ९८ लाख ६५ हजार पुगेको छ भने कुल सम्पत्ती २ अर्ब ८८ करोड ११ लाख ४९ हजार सम्पति पु¥याउन संस्था सफल भएको प्रमुख लामाले जानकारी दिनुभयो ।

संस्थाले संस्थापक सदस्यहरुलाई सम्मान, विभिन्न कार्यक्रमहरुमा संस्थालाई विभिन्न साँस्कृतिक कार्यक्रम, विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रसंसा पत्र तथा सम्मान गरेको थियो । त्यस्तै रक्तदान तथा निःशुल्क रक्तचाप परिक्षण, ०७५÷०७६ को कारोबारको आधारमा ४१ जना सदस्यलाई असल ऋण परिचय पत्र तथा सम्मान गरेको थियो । त्यस्तै दलित छात्रवृत्ति, उत्कृष्ट सेवा कार्यालय व्यवस्थापन उपसमिति पुरस्कार तथा सम्मानबाट पनौती सेवा कार्यालय व्यवस्थापन उपसमिति, कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट कर्मचारी पुरस्कार सेवा कार्यालय पाँचखालका कर्मचारी घननाथ दंगाललाई पुरस्कार तथा सम्मान गरेको थियो । त्यस्तै दिर्घसेवा पदकबाट सेवा कार्यालय बनेपामा कार्यरत सहायक व्यवस्थापक विश्वनाथ गुरागाईलाई सिल्भर मेडलसहित सम्मान गरेको थियो ।

अभिलेख

लोकप्रिय