बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
संरक्षित पुँजी फिर्ता कोषबाट २/२ प्रतिशतका दरले अतिरिक्त लाभ
बनेपा : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाअन्तर्गत चारवटा एकाई बैठकबाट भएका निर्णयलाई एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेसँगै साधारणसभा सम्पन्न भएको हो।
संस्थाले सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम असोज २४ गते एकै समयतालिकामा चारवटा एकाई बैठक सञ्चालन गरेको थियो। सबै एकाईमा समान कार्यसूचीमाथि छलफल गरिएको थियो। एकाई बैठकमा संस्थाका कुल सदस्य संख्याको ५९.४२ प्रतिशत सदस्यको उपस्थिति रहेको संस्थाले जनाएको छ।
सभामा प्रस्तुत अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ३४ लाख ९९ हजार ६९७ रुपैयाँ १७ पैसा सञ्चालन मुनाफा आर्जन गरेको छ। समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब २६ करोड ६६ लाख ९४ हजार ७७९ रुपैयाँ १५ पैसा पुगेको छ।
त्यस्तै, संस्थामा सदस्यको बचत १ अर्ब ८८ करोड ३५ लाख ९७ हजार ३१० रुपैयाँ ७७ पैसा, शेयर पुँजी १४ करोड ५५ लाख २ हजार ९०० रुपैयाँ र संस्थागत पुँजी १९ करोड ८६ लाख ३७ हजार ८२ रुपैयाँ ७० पैसा रहेको छ। संस्थाले सदस्यलाई प्रवाह गरेको ऋण लगानी १ अर्ब २८ करोड ४७ लाख ८८ हजार ५२० रुपैयाँ ४३ पैसा पुगेको प्रतिवेदनमा उल्लेख छ।

६ प्रतिशत लाभांश, बचत र ऋणमा योगदान गर्ने सदस्यलाई थप लाभ
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सदस्यलाई ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, संरक्षित पुँजी फिर्ता कोषमार्फत सदस्यले बचत तथा ऋण कारोबारमा गरेको योगदानका आधारमा दुवै शीर्षकमा २/२ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ।
संस्थाले सदस्यको आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्योपचार सहयोगसम्बन्धी नयाँ कार्यक्रमसमेत अघि बढाएको छ। साधारणसभा सम्पन्न भएसँगै लागू हुने गरी उपचारका क्रममा अस्पतालमा भर्ना भई बसेका सदस्यलाई ३ हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि सभाले आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि पारित गरेको हो।

सदस्यको जीवनका विभिन्न चरणमा सहयोग
बुडोलले सदस्यको जीवनमा आइपर्ने विभिन्न अवस्थालाई ध्यानमा राखेर सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रसूति हुने महिला सदस्यलाई ६ हजार ५०० रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग, दुर्घटना बीमाअन्तर्गत १ लाख रुपैयाँ बराबरको सुविधा तथा घातक रोग लागेका सदस्यलाई २० हजार रुपैयाँ बराबरको उपचार सहयोग उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी, सदस्यको मृत्यु हुँदा परिवारलाई ३० हजार रुपैयाँ काजकिरिया खर्च र प्राकृतिक प्रकोपबाट प्रभावित सदस्यलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि संस्थाले गरेको छ।
सदस्यको समानान्तर शेयर कायम गर्ने नीतिसहित अघि बढेको संस्थाले मुनाफा आर्जनमा मात्र केन्द्रित नभई सदस्यले जीवनका विभिन्न परिस्थितिमा आर्थिक तथा सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने योजनालाई प्राथमिकता दिएको छ।
लाभांशसँगै बचत तथा ऋण कारोबारमा आधारित अतिरिक्त लाभ र सदस्य सुरक्षा कार्यक्रममार्फत संस्थाले सहकारीको प्रतिफल सदस्यसम्म पुर्याउने प्रयास गरेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार