सहकारीमा विस्तार होइन, सुरक्षालाई प्राथमिकता दिनुहोस् : गणेश अर्याल
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोटको ३१औँ वार्षिक साधारण सभा निर्णय प्रमाणीकरण समारोहमा स्रोतव्यक्तिका रूपमा बोल्दै अर्यालले सहकारी संस्थाको मूल मर्म सदस्य केन्द्रित सामूहिक व्यवसाय भएको बताउनुभयो। उहाँका अनुसार सहकारी सदस्यको, सदस्यका लागि र सदस्यद्वारा स्थापित व्यवसाय हो। तर, सहकारी सदस्यको हित र नियन्त्रणबाट बाहिरिँदै जाँदा समस्या उत्पन्न हुने गरेको उहाँले उल्लेख गर्नुभयो।
गैंडाकोट : सदस्यको स्वामित्व, हित र नियन्त्रणबाट बाहिरिँदा सहकारी दुर्घटनामा पर्ने गरेको केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका पूर्व प्राचार्य एवं चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभएको छ। उहाँले सहकारीमा सदस्यको लगन, लगानी, लगाउ र लगाम कमजोर हुँदा संस्था समस्याग्रस्त बन्ने जोखिम रहने उल्लेख गर्दै अहिले विस्तारभन्दा सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।
‘सहकारी अफ द मेम्बर (सदस्यको), फर द मेम्बर (सदस्यका लागि) र बाइ द मेम्बर (सदस्यद्वारा) स्थापित सामूहिक व्यवसाय हो। तर, जब यो सदस्यबाट टाढा, सदस्यकै हितविपरीत र सदस्यको नियन्त्रणबाहिर पुग्छ, तब दुर्घटना हुन्छ,’ उहाँले भन्नुभयो, ‘समस्याग्रस्त सहकारीको मूल कारण यही हो।’
अर्यालले सहकारी संस्थाको सफलता सदस्यको लगन, लगानी, लगाउ र लगाममा निर्भर रहने बताउनुभयो। सदस्यको सक्रियता, संस्थाप्रतिको अपनत्व र प्रभावकारी नियन्त्रण कायम रहँदा मात्रै सहकारीले आफ्नो उद्देश्यअनुसार काम गर्न सक्ने उहाँको भनाइ थियो।
सहकारीको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै उहाँले संस्थाहरूले व्यवसाय विस्तारमा मात्रै ध्यान दिनुभन्दा अर्थतन्त्रको अवस्था मूल्यांकन गरी सुरक्षित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
‘अहिले सहकारी संस्थाले ट्राफिक नियम ‘रोकी, हेरेर जानुहोस्’ सम्झेर पालना गर्नुपर्ने बेला हो,’ उहाँले भन्नुभयो, ‘अहिले वृद्धि होइन, अर्थतन्त्रको अवस्था हेरेर सुरक्षाको पूर्ण प्रत्याभूति गर्दै सञ्चालन गर्नु आवश्यक छ।’
उहाँले सहकारी संस्थाहरूलाई वर्तमान परिस्थितिको गम्भीरता बुझेर अघि बढ्न आग्रह गर्दै व्यवसाय विस्तारभन्दा आर्थिक सुरक्षा र सदस्यको बचतको संरक्षणलाई प्राथमिकता दिनुपर्ने सन्देश दिनुभयो।
त्यस्तै, अर्यालले सहकारीको सामूहिक प्रणालीलाई व्यक्तिगत स्वार्थ र अहंकारले विस्थापित गर्न नहुने बताउनुभयो। सहकारीको आफ्नै इकोसिस्टम अर्थात् पारस्परिक सहकार्य र सामूहिक हितमा आधारित प्रणाली रहेको उल्लेख गर्दै उहाँले त्यसलाई इगो सिस्टममा बदल्न नहुने धारणा राख्नुभयो।
‘सहकारीको आफ्नै इकोसिस्टम छ, यसलाई इगो सिस्टममा बदलिन नदिऔँ। जुन दिन इकोसिस्टम इगो सिस्टममा परिणत हुन्छ, त्यो दिन सहकारी समाप्त हुन्छ,’ उहाँले भन्नुभयो।
अर्यालले सहकारीको मूल मर्म सदस्यको स्वामित्व र नियन्त्रणमा कायम राख्नुपर्ने, संस्थाको आर्थिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने तथा सामूहिक हितभन्दा व्यक्तिगत स्वार्थ हाबी हुन नदिनुपर्नेमा जोड दिनुभएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
एम बैंकको दशैँ अफर : १० हजारको बम्पर पुरस्कारदेखि स्मार्टवाचसम्म
२५ आश्विन २०८३, आईतवार
किसान साकोसको ३१औँ साधारण सभा सम्पन्न, कर्मचारीको उत्कृष्ट कार्यसम्पादनको कदर
२५ आश्विन २०८३, आईतवार
सहकारीमा विस्तार होइन, सुरक्षालाई प्राथमिकता दिनुहोस् : गणेश अर्याल
२५ आश्विन २०८३, आईतवार