२६ भदौ २०८३, शुक्रबार

स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा

२०८३ भदौ २६, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा

काभ्रे : जिल्ला सहकारी संघ लि., काभ्रेले आफ्नो ५९औँ स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई लक्षित गरी सामाजिक सेवामूलक कार्यक्रम गरेको छ। संघले पनौती नगरपालिका-९, त्रिवेणीघाटस्थित श्री प्राणनाथ माईती वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन तथा न्यानो जुत्ता वितरण गरेको हो।

भाद्र २६ गते आयोजित कार्यक्रममा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले ज्येष्ठ नागरिकहरूलाई भोजन गराउनुका साथै न्यानो जुत्ता हस्तान्तरण गर्नुभयो। कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा आत्मीय कुराकानीसमेत गरिएको थियो। सो अवसरमा अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण समाजको साझा जिम्मेवारी भएको बताउँदै सहकारी संस्थाले समुदायप्रतिको सामाजिक दायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो।

संघले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक सेवासँग जोड्ने उद्देश्यले वृद्धाश्रममा कार्यक्रम आयोजना गरिएको जनाएको छ। संघका अनुसार आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा सकारात्मक प्रभाव पार्ने सेवामूलक गतिविधिलाई निरन्तरता दिइनेछ।

वृद्धाश्रममा आयोजित उक्त कार्यक्रममार्फत जिल्ला सहकारी संघले ज्येष्ठ नागरिकप्रतिको सम्मान, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

अभिलेख

लोकप्रिय