२६ भदौ २०८३, शुक्रबार

बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग

२०८३ भदौ २५, बिहिबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग

यसैबीच, संस्थाले विपत्तिको यस कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा पुनःस्थापनाको अभियानमा सहयोग गर्न आफ्ना सम्पूर्ण सदस्यहरूलाई समेत आग्रह गरेको छ।

काठमाडौं : विपत्तिले घर आँगन उजाडिएका बेला पीडितको दुःखमा साथ दिनु नै मानवीयताको सच्चा परिचय हो। यही भावनाका साथ ताहाचल, काठमाडौंमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ लाख ३३ हजार २ सय रुपैयाँ सहयोग गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

संकटको घडीमा पीडित नागरिकको दुःखमा सहकारी क्षेत्र पनि साथमा रहेको सन्देश दिन संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको संस्थाले जनाएको छ।

विपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै संस्थाले कठिन परिस्थितिमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएको छ। पीडितको पीडा साझा भएकाले यस्तो संकटमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाको भनाइ छ।

संस्थाले बाढीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

अभिलेख

लोकप्रिय