२६ भदौ २०८३, शुक्रबार

भोटेकोशी बाढीपीडितको पीडामा स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको मल्हम

२०८३ भदौ २५, बिहिबार
भोटेकोशी बाढीपीडितको पीडामा स्वतन्त्र भूतपूर्व सैनिक सहकारीको मल्हम

संस्थाले बाढीबाट ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

गैंडाकोट : विपदमा परेका नागरिकको पीडामा सहकारी क्षेत्रले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै आएको छ। यही जिम्मेवारीलाई निरन्तरता दिँदै गैंडाकोट-४, नवलपरासीमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएपछि संस्थाले पीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।

संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।

संकटको समयमा पीडितको दुःखमा साथ दिनु सहकारीको सामाजिक जिम्मेवारीसमेत भएकाले संस्थाले आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष वेद बन्धु रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विपत्तिमा परेका नागरिकको पीडा साझा भएकाले कठिन घडीमा एकअर्काको साथ र सहयोग नै मानवीयताको महत्वपूर्ण परिचय भएको संस्थाले जनाएको छ। राहत र पुनःस्थापनाको प्रयासमा आफ्नो क्षमताअनुसार योगदान गर्ने प्रतिबद्धतासमेत संस्थाले जनाएको छ।

अभिलेख

लोकप्रिय