२९ साउन २०८३, शुक्रबार

जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’, सीईओ भन्छन्- सामूहिक प्रयासको परिणाम

२०८३ साउन २९, शुक्रबार
जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’, सीईओ भन्छन्- सामूहिक प्रयासको परिणाम

काठमाडौं : रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एशियाली स्तरको एक्सेस प्रमाणीकृत कार्यक्रमअन्तर्गत ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्न सफल भएको छ।

एशियाली ऋण महासंघ (अकू)ले ७ अगस्ट २०२६ मा गरेको विस्तृत मूल्यांकनपछि जनउत्थान साकोसलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्मका लागि ‘एक्सेस सिल्भर’ प्रमाणीकरण प्रदान गरेको हो। अकूले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई पत्र पठाउँदै जनउत्थान साकोसले सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको जानकारी दिएको हो।

जनउत्थान साकोसलाई प्रदान गरिने उक्त सम्मान आगामी सेप्टेम्बर ११ मा मलेसियाको क्वालालम्पुरमा हुने ‘एसियन क्रेडिट युनियन फोरम २०२६’को उद्घाटन समारोहमा औपचारिक रूपमा प्रदान गरिनेछ।

अकूका अनुसार मूल्यांकनमा वित्तीय कार्यसम्पादन, सदस्य–ग्राहक केन्द्रितता, आन्तरिक व्यवसायिक प्रक्रिया तथा सिकाइ र वृद्धि गरी चारवटा प्रमुख पक्ष समेटिएका थिए। जनउत्थान साकोसले वित्तीय पक्षमा ५२ मध्ये ३९, सदस्य–ग्राहक पक्षमा १०८ मध्ये ८३, आन्तरिक व्यवसायिक प्रक्रियामा १०४ मध्ये ७८ तथा सिकाइ र वृद्धिमा ८० मध्ये ६१ अंक प्राप्त गरेको छ।

अकूले जनउत्थान साकोसलाई सीमान्तकृत समुदाय तथा युवा उद्यमीलाई साना व्यवसाय सञ्चालन र दिगो आर्थिक गतिविधिमा संलग्न हुन सहयोग गर्ने नवीन वित्तीय समाधान प्रदान गर्ने नमुना सहकारीका रूपमा समेत प्रशंसा गरेको छ।

संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउनुपर्ने सुझाव दिँदै अकूले न्यून आय भएका सदस्यलाई लक्षित आर्थिक कार्यक्रम विस्तार तथा वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा जोड दिएको छ।

जनउत्थान साकोसले सन् २०१८ देखि एक्सेस ब्राण्ड प्राप्त गर्दै आएको छ । पछिल्लो तीन वर्षदेखि संस्थाले निरन्तर ‘एक्सेस सिल्भर’ ब्राण्ड प्राप्त गर्दै आएको छ ।

सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ । ४४ हजार ३ सय ७० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान मुलुककै एक अग्रणी एवम् उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित छ । जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

सदस्य र समुदाय केन्द्रीय वित्तीय गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई  प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ४० करोड ७२ लाख बढी छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रनबहादुर थापाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त हुनु संस्थाका करिब ४० हजार शेयर सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, उपसमिति तथा सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए।

उनले यस उपलब्धिका लागि सबैलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दै संस्था नाफाका लागि मात्र नभई सदस्य सेवामा समर्पित हुँदै आएको बताए। सदस्यलाई अझ सिर्जनशील र रचनात्मक सेवा सुविधा प्रदान गर्ने क्रममा जेष्ठ सदस्य स्याहार केन्द्रसमेत सुरु गरिएको जानकारी दिँदै उनले आगामी दिनमा सदस्यका आवश्यकता पूरा गर्ने थप गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

अभिलेख

लोकप्रिय