१९ साउन २०८३, मङ्गलबार

जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव

२०८३ साउन १९, मङ्गलबार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव

काठमाडौं : सहकारी क्षेत्र तरलता अभाव, सुशासनको प्रश्न र सदस्यको विश्वास पुनःस्थापनाको चुनौतीसँग जुधिरहेका बेला जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा सशक्त वित्तीय प्रदर्शन गर्दै ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले उक्त नाफाबाट आफ्ना सदस्यलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेका छ।

चुनौतीपूर्ण आर्थिक परिवेशका बाबजुद संस्थाले जोखिम व्यवस्थापन, सदस्यकेन्द्रित सेवा र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेकै कारण सकारात्मक नतिजा हासिल गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रन बहादुर थापाले बताउनुभयो।

‘हामीले नाफाभन्दा पनि सदस्यको बचतको सुरक्षा, गुणस्तरीय ऋण लगानी र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्यौं। त्यसको प्रतिफल अहिलेको वित्तीय उपलब्धिमा देखिएको छ,’ सीईओ थापाले भन्नुभयो।

संस्थाको कुल सम्पत्ति ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। बचत संकलन ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ र ऋण लगानी ३ अर्ब ७४ करोड ९१ लाख रुपैयाँ पुगेको छ। शेयर पूँजी ३१ करोड २२ लाख रुपैयाँ रहेको संस्थाले २६.८० प्रतिशत तरलता कायम राख्न सफल भएको छ। त्यस्तै, संस्थाले भाखा नाघेको ऋण (एनपीएल) १.०६ प्रतिशतमा सीमित राख्न सफल भएको जनाएको छ।

संस्थाको जगेडा कोष ४० करोड ७२ लाख रुपैयाँ तथा कर्जा जोखिम कोष ११ करोड १३ लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक तथा नियामकीय मापदण्डअनुसार आवश्यक कर्जा जोखिम कोषको पूर्ण व्यवस्थापन गरिएको संस्थाले जनाएको छ। यी सूचकहरूले संस्थाले सम्भावित वित्तीय जोखिम व्यवस्थापनमा समेत पर्याप्त तयारी गरेको देखाउँछन्। हाल संस्थामा ४४ हजार ३७० सदस्य आबद्ध छन् भने ११ हजार ४७० सदस्यले ऋण सुविधा उपयोग गरिरहेका छन्।

जनउत्थानले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत संस्कृतिको रूपमा अघि बढाएको छ। आर्थिक वर्षभर संस्थाले ३३९ गर्भवती सदस्य भेटघाट, ३८८ सुत्केरी भेटघाट, ३० चेलीबिदाइ तथा नयाँ बुहारी स्वागत, १७ प्राणघातक रोगीलाई सहयोग, ५ प्राकृतिक विपद् राहत तथा १२४ सदस्य परिवारलाई मरण राहत उपलब्ध गराएको जनाएको छ।

वित्तीय क्षेत्रमा बढ्दो अनिश्चितता र सहकारीप्रतिको घट्दो विश्वासका बीच जनउत्थानको वित्तीय उपलब्धिले सुशासन, विवेकपूर्ण लगानी, प्रभावकारी जोखिम व्यवस्थापन र सदस्यप्रति उत्तरदायी व्यवस्थापन अपनाउने सहकारी संस्थाले कठिन परिस्थितिमा पनि दिगो विकास र सदस्यको विश्वास कायम राख्न सक्ने सन्देश दिएको छ।

संस्थाले आगामी असोज १० गते आयोजना हुने २१औँ वार्षिक साधारणसभाबाट १० प्रतिशत शेयर लाभांश सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण तथा आगामी वर्षको नीति तथा कार्यक्रम अनुमोदन गर्ने छ।

अभिलेख

लोकप्रिय