१९ चैत २०८२, बिहिबार

६९ औँ राष्ट्रिय सहकारी दिवस: सहकारीको उद्यमशिलता र पारदर्शितामा जोड

२०८२ चैत १९, बिहिबार
६९ औँ राष्ट्रिय सहकारी दिवस: सहकारीको उद्यमशिलता र पारदर्शितामा जोड

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा बिहीबार विशेष समारोह सम्पन्न भएको छ ।

प्रत्येक वर्ष चैत २० गते देशभर विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने परम्परा अनुरूप यस वर्ष “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित दिवस मनाइदै छ । कार्यक्रमको उद्घाटन महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले गर्नुभएको थियो । बडालले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाका रूपमा व्याख्या गर्दै यसको सुदृढीकरणका लागि सरकार र सहकारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार सहकारीहरूले करिब ८० प्रतिशत घरपरिवारलाई समेट्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएका छन् । केही सहकारी संस्थामा समस्या देखिएको स्वीकार गर्दै उहाँले करिब १०० देखि २०० सहकारीमा विचलन आएको जानकारी दिनुभयो । साथै, सुशासन र पारदर्शिता सुनिश्चित गर्न सहकारी विभाग र नियमन प्राधिकरणको भूमिका अझ स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका अध्यक्ष रमेश पोखरेलले सप्ताहव्यापी रूपमा सहकारी दिवस मनाइएको र यसले प्रभावकारी सन्देश प्रवाह गरेको बताउनुभयो। कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले यस वर्षको नारामाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सल्लाहकार तथा पूर्व मन्त्री गणेश शाह, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । महासंघका उपाध्यक्ष डिवी बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रेम सुवेदीले गर्नुभएको थियो । सो अवसरमा ‘सहकारी सन्देश’ कोशी विशेषांकको विमोचन समेत गरिएको थियो ।

अभिलेख

लोकप्रिय