कार्मारोङ महिला कृषि सहकारीको तेस्रो साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्विरोध चयन
जीवन सेजुवाल
मुगु : मुगुम कार्मारोङ गाउँपालिका-९, छायलमा रहेको कार्मारोङ महिला कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ।
छायल, पापु, चिमात तथा गाउँपालिकाका अन्य लामा समुदायका महिलाहरूको पहलमा स्थापना भएको सहकारीको फागुन २८ र २९ गते सञ्चालन भएको सभाबाट तारादेवी बुढाको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरिएको हो।
निर्वाचन मण्डलकी सदस्य धरती शर्माका अनुसार नयाँ सञ्चालक समितिमा अध्यक्षमा तारादेवी बुढा, उपाध्यक्षमा जयसरा ऐडी, सचिवमा मसुरकला बुढा, कोषाध्यक्षमा पुतली बुढा तथा सदस्यहरूमा लछन्धरा ऐडी, सूर्यदेवी रोकाया, गौरी बुढा, रुपा बुढा, पविता सावत, बैशागी रोकाया र उज्याली बिक निर्विरोध निर्वाचित भएका छन्।
सहकारीमा हाल १ सय ७२ जना महिला साधारण सदस्य आबद्ध छन्। दुई दिनसम्म सञ्चालन भएको साधारण सभामा निवर्तमान कोषाध्यक्ष तारा बुढाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८१/०८२ मा १३ लाख ५० हजार २ सय रुपैयाँ ऋण लगानी गरिएकोमा ७ लाख ९७ हजार ४ सय ७३ रुपैयाँ असुली भएको तथा १ लाख ८४ हजार रुपैयाँ ब्याज आम्दानी भएको जानकारी दिइयो। हाल सहकारीको बैंक मौज्दात ४ लाख २८ हजार ७ सय २३ रुपैयाँ रहेको बताइएको छ।
साधारण सभामा संस्थाको अघिल्लो सञ्चालक समितिकी सचिव कमला बढुवालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार मुगुम कार्मारोङ गाउँपालिकाको आवश्यकताको प्राथमिकताका आधारमा परियोजना सञ्चालन गरी कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, प्रदेश कार्यक्रम कार्यान्वयन इकाइ नव प्रवर्द्धन साझेदारी कोषको सहयोगमा ग्रामीण समुदायको आयस्रोत वृद्धि गरी जीवनस्तर सुधार गर्ने उद्देश्यले छाँया नेपालले यस सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइन्।
छाँया नेपालको महिला सशक्तीकरणमार्फत जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त परियोजनाअन्तर्गत उद्यमीहरूलाई स्थानीय आचारसंहिता निर्माण तथा लेखा व्यवस्थापन तथा पर्यापर्यटन सम्बन्धी तालिम प्रदान गरिएको थियो। संस्थागत विकासका लागि कार्यान्वयन समितिसँग ७ पटक बैठक गरी दिगो व्यवस्थापन तथा पारदर्शिताका विषयमा छलफल गरिएको जानकारी दिइयो।
साथै, सहकारी संस्थाका ६४ जना शेयर सदस्यहरूलाई सहकारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको र ८ वटा लघुउद्यम महिला समूहका सदस्यहरूलाई जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर तथा त्यसको रोकथामबारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताइएको थियो।
हाल सहकारीमा आबद्ध महिलाहरूले सामूहिक तरकारी खेती तथा कोशेली घरमार्फत रैथाने अन्नबालीका साथै फलफूल बिक्री–वितरण गर्दै आएका छन्। नव निर्वाचित अध्यक्ष तारादेवी बुढाका अनुसार गएको आर्थिक वर्षमा मात्र तरकारी बिक्रीबाट ८१ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ भने एक जनाले नियमित रोजगारी समेत पाएका छन्। सहकारीको मुख्य आम्दानीको स्रोतका रूपमा सामूहिक तरकारी खेतीलाई लिएको बुढाले बताइन्।
पहिले सामान्य घरखर्चका लागि पनि पुरुषकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले सहकारीमा आबद्ध महिलाहरूले तरकारी खेतीसम्बन्धी प्राविधिक तालिम, प्लास्टिक टनेल तथा बीउबिजन सहयोग पाएपछि घरमै तरकारी उत्पादन गरी आयआर्जन गर्न थालेका छन्।
यससँगै सहकारीमा साधारण सदस्य र शेयर सदस्य बन्ने महिलाहरूको रुचि पनि बढ्दै गएको निवर्तमान सचिव कमला बढुवालले बताइन्। सहकारीले स्थानीय महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको साधारण सभामा सहभागी महिलाहरूले बताएका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार