६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन २०८२ माघ १३ र १४ गते ललितपुरमा भएको हो ।
देशभरका युवा सहकारीकर्मी, प्रविधि विज्ञ, नीति निर्माता, सरकारी, निजी, गैरसरकारी तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागितामा सम्पन्न सम्मेलनमा सहकारी क्षेत्रमा युवाको नेतृत्व र प्रविधिको भूमिकाबारे घनीभूत छलफल भएको थियो।
सम्मेलनबाट प्राप्त निष्कर्ष र संकल्प सार्वजनिक गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यवहाक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रको रूपान्तरणका लागि युवा नेतृत्व र प्रविधिको समन्वय अब विकल्प नभई आवश्यकता भएको बताए ।
सम्मेलनले जारी गरेको ६ बुँदे संकल्पअनुसार सहकारी संघ संस्थाहरूको नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्थागत नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।
साथै, सहकारीलाई पारदर्शी, दिगो र सदस्य–मैत्री बनाउन डिजिटल भुक्तानी प्रणाली, डेटा व्यवस्थापन, फिनटेक, एग्रिटेक लगायतका आधुनिक प्रविधिहरूको पूर्ण अवलम्बन गर्दै प्लेटफर्म–आधारित सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, जनशक्ति र नीतिगत सुधारमा जोड दिइने उल्लेख गरिएको छ ।
युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सरकार, नियामक निकाय र सहकारी अभियानबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ। नियमन प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धता समेत संकल्पमा समावेश गरिएको छ ।
युवालाई प्रविधि र उद्यमशीलतामा दक्ष बनाउन सरकारी, निजी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा देशव्यापी तालिम, मेन्टरशिप, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र विस्तार गर्ने लक्ष्य लिइएको छ । यसका लागि केन्द्रीय तहमा अन्तर्राष्ट्रियस्तरको र प्रदेश तहमा राष्ट्रियस्तरको प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
सहकारीमार्फत देशभर युवा स्वरोजगार सिर्जना गर्न र स्टार्टअप व्यवसायमा युवाको आकर्षण बढाउन सहकारी संघ संस्थाहरूले वित्तीय लगानी, प्राविधिक शिक्षा तथा व्यावसायिक ‘सपोर्ट सिस्टम’ प्रदान गर्ने ठोस संयन्त्र र नीति निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै, उदाहरणीय कार्य गर्ने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्दै उत्पादनको बजारीकरणका लागि सहकारी नेटवर्कमार्फत एकीकृत ‘ब्रान्डिङ’ र साझा बजार केन्द्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।
सम्मेलनको समापन कार्यक्रममा महासंघका अध्यक्ष पोखरेलले सम्मेलनमा उठेका युवासम्बन्धी मुद्दा र सुझावहरूलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा महासंघका पूर्व अध्यक्षहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा तथा निवर्तमान अध्यक्ष मिनराज कँडेलले सम्मेलन प्रभावकारी र समयसापेक्ष भएको धारणा राखेका थिए ।
सम्मेलनको अन्तिम दिन विभिन्न महत्वपूर्ण प्यानल छलफलहरू सम्पन्न भएका थिए । ‘डिजिटल रूपान्तरणमा प्रविधि र युवा’ विषयक प्यानल छलफलको मोडरेसन व्यापार वृद्धि विकल्पकी सिइओ श्रद्धा शाक्यले गरेका थिए ।
उक्त छलफलमा खल्तीका फाउन्डर अमित अग्रवाल, एइसीका सिइओ दिपेन्द्र जोशी, कनेक्ट किसानकी सिइओ इ. संजिता लामिछाने र चन्दागिरी साकोसका सिइओ कृष्णकुमार श्रेष्ठ प्यानलिस्टका रूपमा सहभागी थिए ।
त्यसैगरी ‘युवामैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण’ विषयक प्यानल छलफलको मोडरेसन महासंघका सञ्चालक परितोष पौड्यालले गर्नुभएको थियो। उक्त प्यानलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, सहकारी विभागका रजिष्ट्रार सुशील ढकाल तथा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले आफ्ना धारणा राखेका थिए ।
सम्मेलनले सहकारी क्षेत्रको भविष्य युवाको नेतृत्व र प्रविधिको प्रभावकारी प्रयोगमै निर्भर रहेको सन्देश प्रवाह गर्दै राष्ट्रिय सहकारी अभियानलाई नयाँ दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार