७ वैशाख २०८२, आईतवार

सकारात्मक सोचले ओतप्रोत सफल सहकारी अभियन्ता गुरुङ्ग

२०८१ साउन ३२, शुक्रबार
सकारात्मक सोचले ओतप्रोत सफल सहकारी अभियन्ता गुरुङ्ग

उहाँको नाम सुन्ने बित्तिकै चिन्नेजान्नेहरुको मुखमा झट्ट आउने एउटा शब्द हो- सहकारी । सहकारी गुरुङ्गसँग जोडिने केवल पद (शब्द) होइन यो त उहाँको जीवनसँग जोडिएको विराट अर्थ बोकेको परिचय हो । मुलुकको सहकारी अभियानमा विशिष्ट पहिचान बनाए पनि बहुप्रभतिभाशाली व्यक्तित्वको परिचायक हो वहाँ ।

गुरुङको जन्म तनहुँ जिल्लाको ग्रामिण गाउँ फिरफिरेमा २०३० सालमा भएको हो । एउटा असल सहकारीकर्मीलाई जन्म दिने आमा दिलश्री र बाबा निल प्रसाद त्यसैगरी उहाँको अभियानलाई साथ दिने श्रीमती मन्जु, दुई छोरी आशिमाला र लिपि । माध्यमिक तह सम्मको शिक्षा गाउँकै सामुदायिक विद्यालयमा, प्रमाण पत्र तह सम्मको शिक्षा वेलचौतारा तनहुँ, स्नातक सम्मको शिक्षा काठमाडौ र स्नातकोत्तर तह (एमविए र एम ए) पोखरा बाट पुरा गर्नु भएको छ ।

२०५० साल बाट एभरेष्ट क्यासिनोको जागिर शुरु गरेको एक युवकमा ५ वर्ष पछि सहकारी खोल्नुपर्छ भन्ने हुटहुटी जाग्यो । त्यसपछि, उक्त रोजगारी छोडी २०५५ साल वैशाख ९ गते रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौको संस्थापक उपाध्यक्ष भएर सहकारी अभियानमा उहाँको प्रवेश हुन्छ । यसै क्रममा कार्यकारी उपाध्यक्षको रुपमा २०५५ सालमा दुलेगौडा कार्यालय र २०५६ देखि २०५८ सम्म पोखरा कार्यालय सञ्चालनको भूमिकामा रही कुशल व्यवस्थापन गर्नु भयो ।

तत्कालिन सहकारी ऐनमा भएको संशोधनले सहकारीका शाखा कार्यालय नरहने व्यवस्था अनुरुप पोखरा कार्यालयलाई स्वायत्त गरी संस्था दर्ता गर्ने जिम्मेवारी उहाँको काँधमा आयो र सोही अनुसार स्थानिय २८ जना व्यक्तिहरुलाई एकजुट गराइ २०५९ साल जेष्ठ ८ गते संस्थापक सचिव भई पोखरा रोयल सहकारी संस्था लिमिटेडको दर्ता गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्नु भयो । तत्पश्चात उक्त संस्थाको सचिव एवं प्रवन्ध निर्देशकको रुपमा १७ वर्ष सम्म क्रियाशील रही सहकारी ऐन २०७४ ले २ करोड भन्दा माथिको संस्थामा प्रवन्ध निर्देशक रहन नपाउने व्यवस्था अनुरुप सचिव बाट राजिनामा दिई २०७६ साल बाट वहाँ पोखरा रोयल सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

कुशल व्यवस्थापकीय क्षमता भएका गुरुङ्ग २०६२ साल बाट २०७० सम्म राष्ट्रिय सहकारी बैंक लिमिटेड समन्वय समिति कास्कीको सचिव, २०६३ साल देखि २०७३ सम्म कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३ कार्यकाल अध्यक्ष, २०६५ साल देखी २०७१ सम्म जिल्ला सहकारी संघ लिमिटेड कास्कीको राष्ट्रिय प्रतिनिधि, २०७३ साल देखी २०७६ सम्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सञ्चालक एवं पोखरा फिल्ड कार्यालय संयोजक, २०७५ साल देखि २०७८ सम्म पोखरा महानगरपालिका सहकारी समितिको विज्ञ सदस्य, सहकारी क्षेत्रको प्रतिनिधत्व गर्दै नीति तथा योजना आयोग गण्डकी प्रदेश को प्राविधिक समितिको सदस्यमा २०७५ साल देखी २०७८ सम्म, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिभ्यु कमिटिको सदस्यमा २०७५ देखि २०८१ सम्म क्रियाशील गुरुङ्ग हाल कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको मानार्थ सदस्य एवं कास्की बचत तथा ऋण सहकारी संघको सल्लाहकारको रुपमा हुनुहुन्छ ।

सहकारीमा सयमसँगै तालिम र शिक्षाका क्षेत्रमा पनि वहाँले आफूलाई निखार्दै र तिखार्दै लग्नु भएको छ । सहकारीकर्मी गुरुङ्गले प्रशिक्षक प्रशिक्षण तालिम सन २००५ मा सिक्ट्याव भारत, आई.सि.ए.साधारण सभा तथा ग्लोबल युवा गोष्ठी सन् २००७ सिंगापुर, आइसिए जापान अन्तर्गत सहकारी सम्बन्धी १०४ दिने तालिम सन २०१० मा भारत इरान र जापानमा, आई.सि.ए.साधारण सभा तथा अन्र्तराष्ट्रिय सहकारी वर्ष समापन कार्यक्रम सन् २०१२ बेलायत, डेभलपमेन्ट एजुकेटर डि.ई.अकू सन २०१७ थाईल्याण्ड, अकू फोरम सन् २०१८ फिलिपिन्स र राष्ट्रिय स्तरका दर्जनौ तालिम गोष्ठीहरुमा सहभागिता जनाई सक्नु भएको छ भने राष्ट्रिय स्तरको थुप्रै तालिमहरु सञ्चालन गरी एक कुशल प्रशिक्षकको रुपमा समेत आफूलाइ उभ्याउन सफल हुनु भएको छ । सहकारी लेखन वहाँको सोख मात्र नभइ ‘प्यासन’ बनेको छ । २०६८ सालमा नै सहकारी शव्दकोष र समान्य ज्ञान पुस्तक लेखन गरेका गुरुङ्गले दर्जनौ सहकारी र समसामायिक विषयमा लेख रचना प्रकाशन गर्नु भएको छ । २०६९ सालमा सहकारी कार्यालयबाट उत्कृष्ट प्रवन्ध निर्देशक अवार्ड सहित दर्जनौ संस्थाहरुले वहाँलाई सम्मानित गरिसकेका छन् । सहकारी अध्ययन अवलोकन भ्रमणका क्रममा भारत, सिंगापुर, जापान, इरान, बेलायत, अष्ट्रेलिया, इटाली, फ्रान्स, स्वीट्जरल्याण्ड, बंगलादेश, फिलिपिन्स, मलेसिया र हङ्ककङ्ग लगायतका देश तथा स्वदेशका ५० बढी जिल्ला पुग्नु भएको छ ।

सहकारी अभियानमा १ विस ५ वर्ष पूरा गरिसक्नु भएका गुरुङ्गले प्रारम्भिक सहकारी पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुशल व्यवस्थापन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा संस्थालाई परिचित गराउने कार्य मात्र हैन पूर्ण सुशासनका साथ संस्था सञ्चालन गर्नु भएको छ । सहकारीको मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गरी विधिसम्मत् संस्था सञ्चालन गरेमा कुनै पनि किसिमको समस्या नआउने अनुभव वहाँले धेरै ठाउँमा धेरै पटक अभिव्यक्त गर्नु भएको मात्र छैन आफूले व्यवस्थापकीय बागडोर सम्हालेर उक्त कुरा चरितार्थ पनि गर्नु भएको छ । सबैलाई एकाकार गर्ने सक्ने वहाँको विशेषता हो । हरेक कुरालाई सकारात्मक सोच्ने र सोही अनुसार कार्य गर्ने गराउने वहाँको बानी संस्कृतिकै रुपमा परिचित छ । धेरैलाई थाहा नहुन सक्छ भीम गुरुङ्गले २०५२ सालमा नै आफ्नो गीति एल्वम निकाल्नु भएको थियो । असाध्यै राम्रो स्वर, मन्त्रमुग्ध पार्ने गरी बासुरी धुन र नृत्य वहाँको लुकेका प्रतिभा हुन् । गीत संगीत, साहित्य, खेलकुद र समाज सेवा वहाँको रुचिकर विषय हुन् । यस्तो प्रतिभा राष्ट्रले समयमा चिन्न सकोस् । जय सहकारी ।

(गुरुङ्गसँग २५ वर्ष निकटतम् घनिष्ठ सम्बन्ध भएका व्यक्तीको वैयक्तिक धारणा)

 

अभिलेख

लोकप्रिय