सही दिशामा संयमित रुपमा अघि बढ्दै नेफ्स्कून
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनमा नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले पदबहाली गरेको आज ठीक २ महिना पुगेको छ । मेरो नेतृत्वमा १९ सदस्यीय सञ्चालक समिति तथा इन्द्रराज ज्योति पौडेलको संयोजकत्वमा ३ सदस्यी लेखा सुपरिवेक्षण समितिले २०८० पुस ९ गते सोमबार पदबहाली गरेको थियो । यो लेख २ महिनाका सुरुवाती संकेतहरुसँगै नेफ्स्कून बोर्डले गरेको बोध र लिएको दिशा अवगत गराउने प्रयास हो ।
निर्वाचन अघि र पछिको अवस्था केही फरक हुन्छन् । स्वभावैले निर्वाचन अघिका अभिव्यक्तिहरु केही ‘प्रचारमुखी’ जस्तो देखिएपनि ‘कोर’ प्रतिबद्धताहरुमा भने यो सञ्चालक समितिका सबै जना अडिग छौं भन्नेमा म पूर्ण विश्वस छु । हाम्रो ‘रोडम्याप’ त्यही हो । अभियानले खोजेको मार्गको चित्रमा निर्वाचित भैसकेपछि सबै साथीहरुको अपनत्व एकाकार भएको छ । यो हामी सबैको लागि एकदमै खुसीको विषय हो । हाम्रो खुसीमा मुलुकको सहकारी अभियानकै खुसी प्रतिविम्बित भएको छ । हाम्रा तिनै संकल्प र प्रतिबद्धताहरुको रोडम्यापलाई आधार बनाएर अघि बढेको यहाँ जानकारी गराउन चाहन्छु ।
यो दुई महिनामा सञ्चालक समितिका ३ वटा बैठक सम्पन्न भएका छन् । पदबहाली गरेकै दिन पुस ९ गते सोमबार हामीले पहिलो (३ सय २१औं) बैठक सञ्चालन गर्यौं । समितिको दोस्रो (३ सय २२औं) बैठक पुस २५ गते बुधबार सम्पन्न भएको छ भने तेस्रो बैठक माघ २६ गते शुक्रबार सम्पन्न भएको छ ।
यी बैठकहरुले विशेषतः ३२औं साधारण सभामा व्यक्त सदस्य अभिमतहरुलाई केलाउने काम गरेको छ । त्यसबाट साकोस अभियानको भविष्य निर्माणका लागि आवश्यक विषयहरुलाई ग्रहण गर्ने काम भएको छ । बैठकले संघको प्रबक्ताको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीलाई प्रदान गरेको छ । अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्षको रुपमा म उक्त जिम्मेवारीमा थिए । यस्तै, उपसमितिहरुको संयोजक तोक्ने काम पनि सम्पन्न भएको छ ।
यी बैठकले समितिको टीम वर्क र स्पिरिट प्रष्ट पारेको छ । सुरुवात आफैबाट गर्नुपर्छ भनेर हामीले नमूना सञ्चालक वा अन्तर्राष्ट्रिय क्रेडिट युनियनबाट आन्तरिकीकरण गरेको ‘सिम्बोलिक रोल’ लाई ध्यानमा राखी अघि बढ्ने विषयमा सहमति गरेका छौं । जहाँ जान्छौं, जे बोल्छौं, जे गर्छौ त्यसमा संघको सामूहिक हित र सदस्य सर्वोपरिता झल्किनुपर्ने कुरालाई अन्तरबोध गरेका छौं । औपचारिक निर्णयभन्दा पनि यो इथिकल निर्णय लिएका छौं । यो स्पष्ट सन्देश हामी संलग्न त्यसपछिका कुनै पनि कार्यक्रमहरुबाट थप प्रष्ट हुँदै गएका छन् । उत्तेजना, बहकाव, क्षणिक प्रशंसाका लागि आफ्ना भनाइहरुलाई विवादमा पार्ने काम गर्नेछैनौं भनेर ‘मोरल डिसिजन’ गरेका छौं ।
निर्वाचनपछि धेरै जिल्लासंघका साथीहरुसँग छलफल भएको छ । जिल्ला संघ साझेदारीका अस्पष्टता र आसन्दर्भिकताहरुलाई ‘क्लियर’ गर्दै नयाँ ढंगले अघि बढ्ने तयारी भैरहेको छ । ‘संघ यहाँहरुको हो । संघ कस्तो बनाउने यहाँहरुको सोचलाई कार्ययोजनामा रुपान्तरण गर्ने दिशामा नेफ्स्कून अघि बढेको छ’ भनेर सञ्जालका पात्रहरुसँग सम्वाद सुरु गरेका छौं ।
यसबीच हामीले स्थिरीकरण कोषको दोस्रो वार्षिक परामर्श बैठक सम्पन्न गर्यौं । यसलाई अभियानको जगेडा कोष बनाउने दिशामा हामी प्रतिबद्ध छौं । अब कोषमार्फत जोखिम सुपरिवेक्षणको काम अघि बढाउने तयारी हामीले गरेका छौं । फिलिपिन्समा स्थिरीकरण कोषको अभ्यासले हामीलाई शिक्षा र साहस दिएको छ । हामी आवद्ध साकोसहरुको जोखिम मनिटरिङ गर्ने लेवलमा उत्रदै छौं । नेफ्स्कूनको सञ्चालक समितिको दोस्रो अर्थात् ३ सय २२औं बैठकले नै सबै सञ्चालकहरु यस कोषमा आवद्ध हुनुपर्ने, योगदान गर्नुपर्ने निर्णय गरेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा समेत स्थिरीकरण कोषमा सबै बचत तथा ऋण सहकारीको अनिवार्य आवद्धताको विषय सिफारिश भएकोले उक्त सुझाव कार्यान्वयको चरणमा रहेको सचिवबाट जानकारी भएकाले पनि हामी उत्साहित भएका छौं । यसरी आवद्ध भएका संघसंस्थाहरुलाई तरलता व्यवस्थापनको काम भएको र त्यस दिशामा थप सहकार्य हुनेछन् । यस दिशामा भएका प्रगतिहरु आगामी आलेखमा प्रष्ट पार्दै जानेछु । यस्तै, सबै सञ्चालकहरु संघको कुनै न कुनै स्तरीकरण कार्यक्रममा आबद्ध हुनुपर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । यसमा पनि भएका पछिल्ला प्रगतिहरु सार्वजनिक गर्दै जानेछु ।
अर्को भनेको, हामीले वित्तीय सहकारी ऐनको पैरवीको विषयलाई पनि अघि बढाएका छौं । त्यस दिशामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, सहकारी सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे लगायत सबै अत्यन्त पोजेटिभ हुनुभएको छ । उहाँहरुले विषयको गाम्भीर्यतालाई बुझ्नुभएको छ । हामी उत्साहित छौं । मन्त्रीले हाम्रो विषयलाई गम्भीर रुपमा लिएर सहजीकरणमा सहयोग गर्ने विषय सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन अभिव्यक्तिमार्फत सार्वजनिक गरिसक्नुभएको छ । हामीले दुई पटक सहकारी सचिव गोकर्णमणि दुवाडीसँग उहाँकै कार्यकक्षमा भेट गर्यौं । त्यसपछि टेलिफोन सम्वाद र अनौपचारिक कुराकानीमा पनि उहाँले बसेर छलफल गर्ने त्यसका लागि मस्यौदासहित बसौं भन्नुभएको छ । उहाँले सँगै मिलेर काम गर्ने, अभियानका समस्यालाई अवसरका रुपमा लिएर प्राथमिकीकरण गर्दै समाधानका लागि अघि बढ्न सुझावसहित साकोस ऐनका विषयमा पनि छलफल गर्न र काम गर्न तयार छौं भन्नुभएको छ । उहाँबाट सल्लाह, सुझाव, हौसला र प्रेरणा मिलेको छ । साकोस ऐनका विषयमा अब हामी अर्थतन्त्र र सहकारी बुझेका विज्ञ, अग्रज अभियन्ताहरु, व्यवस्थापनमा बसेर लामो काम गरेकाहरुहरुसँग सघन छलफल गरी पुरानो मस्यौदालाई समयानूकुल बनाइ मन्त्रालयका अधिकारीहरुसँग बस्छौं । संघीय सांसदहरु पनि (अनौपचारिक छलफलमा, औपचारिक रुपमा भने बस्न बाँकी) सकारात्मक हुनुहुन्छ । नेफ्स्कून बोर्ड त्यस विषयमा अत्यन्त गम्भीर छ । हामी नतिजा आउने गरी काममा लागेका छौं ।
त्यस्तै, ऋण असुली न्यायाधिकरण गठनको तयारीमा रहेको सचिवले बताइसक्नुभएकोले अब त्यसको पर्खाइमा छौं सम्भवत: चैत अन्त्यसम्ममा केही आउँछ । त्यस्तै, कर्जा सूचना केन्द्रको विषयमा कुरा अघि बढेको छ । बचत तथा कर्जा सुरक्षण कोषको लागि पनि मन्त्रालयले प्रक्रिया अघि बढाएर रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा लेखी पठाएको छ । अर्थ मन्त्रीसँग पनि यो विषयमा भएको छलफल सकारात्मक परिणाममा परिवर्तन हुने विश्वास लिएका छौं ।
अर्को, हामीले छुटाउन नहुने विषय भनेको सहकारी अभियान अहिले सबैले आफ्नो अनुकूलतामा ब्याख्या गरेका कारण चाहिनेभन्दा बढी तरङ्गित भएको छ । अभियानलाई केवल बुझ्नेमात्र होइन, यसको गम्भीरता र अन्तर्यलाई समग्रतामा आत्मसात गरिनुपर्छ । बचत ऋणको केन्द्रीय संघ भएकाले सबै बचत तथा ऋण सहकारीका इस्यूहरु नेफ्स्कूनले आत्मसात गर्नुपर्छ, हामी अरुका विषयको बुझाइबाट पृथक छौं वा हुनुपर्छ भन्ने होइन । यद्यपि, यसको अर्थ के पनि होइन भने सुशासन स्खलित भएकाहरुलाई र गुड गभर्नेन्समा बसेकाहरुलाई एउटै डालोभित्र हालेर हेरिनुपर्छ । नेफ्स्कून विनम्र आग्रह गर्न चाहन्छ, ‘पिल्ज, लेट्स नट पुट अल एग्ज इन अ सिङ्गल बास्केट । विषयवस्तुको गाम्भीर्यलाई समग्रतामा आत्मात गर्नुपर्छ, तर ट्रिटमेन्ट पथृक ढंगले गर्नुपर्छ । केही रेलहरु जानीबुझी सही लीकमा नहिड्दा ‘डिरेल’ भएभन्दैमा सबै रेल काम लाग्दैनन, सबै सकिए अब सबै बन्द गर्नुपर्छ भन्ने अभिव्यक्तिहरु असुहाउँदा अतिरञ्जनाहरु सिवाय केही होइनन् । नेफ्स्कून सञ्चालक समितिले सबै बचत तथा ऋण सहकारीहरुका इस्यूहरुलाई आत्मसात् गर्छ, सबैका विषयहरुलाई नीतिगत, कानूनी तथा व्यवस्थापकीय सहजीकरणका लागि अहोरात्र काम गर्छ तर जानीबुझी सुशासनबाट च्यूत भएकाहरुलाई फरक ढंगले ट्रिटमेन्ट गर्छ । सरकार, सरोकारवाला, नागरिक समाज, सञ्चारमाध्यम लगायत प्रवु्द्घ वर्गले यो विषयलाई सही ढंगले आत्मसात् गर्नेछ भन्ने अपेक्षा र विश्वास नेफ्स्कूनले लिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय र सहकार्यका क्षेत्रमा पनि हामीले केही तात्विक असर देखिने अघि बढाएका छौं । नेफ्स्कून र युएसएड्बीच दिगो रणनीतिक सहकार्यका कामहरु अघि बढेका छन् । युएसएडसँग मिलेर कृषि, पर्यटन र प्रविधिका क्षेत्रमा प्रारम्भिक संस्थाहरुको क्षमता अभिवृद्धिमा हामीले काम गरेका छौं । त्यस्तै, जर्मन संस्था डिएसआइकेसँग पनि सहकार्य सम्झौता भएको छ । घरेलु सम्बन्धमा, राष्ट्रिय युवा परिषद्सँग दिगो रणनीतिक सहकार्यको काम अघि बढेको छ । यसमार्फत युवा उद्यमशिलता तथा स्वरोजगारी सृजनाका लागि तालिम, सीप, सुलभ कर्जा तथा परामर्श प्रदान गर्दै राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने दिशामा पनि हामीले काम अघि बढाएका छौं । यसको ठोस परिणाम आउन केही समय भने लाग्नेछ । राष्ट्रिय सहकारी बैंकसँग पनि सहकार्यका सम्भावनाहरुको ढोका खुलेको छ । स्थिरीकरण कोषमा बैंकको आवद्धताको विषयमा बैंकका अध्यक्षले नै बोल्नुभएको । यसले हामीलाई हौसला दिएको छ ।
साकोस अभियानको माग सम्बोधन हुने गरी साझा प्रविधि विकासको दिशामा उत्पन्न अवरोधहरु छिचोल्ने काम भएको छ । त्यसका लागि सञ्चालक समितिले व्यवस्थापनलाई रिजल्ट आउने शर्तमा ‘गो अहेड’ भनेको अवस्था छ । साकोस भवन निर्माणका लागि नयाँ कार्यदल बनेर कामले गति लिएको छ । पहिलो तल्लाको ढलान सम्पन्न भैसकेको छ ।
शुद्धीकरणको विषयमा पनि केही देखिने काम भएका छन् । शुद्धीकरण भनेको साकोस अभियानको गरिमालाई बचाइराख्ने मात्र होइन बढाएर लाने पनि हो । आफैबाट शुद्धीकरणको प्रयास थालनी गरेका छौं । सञ्चालकहरुको भत्ता खर्चमा भारी कटौती गरेका छौं । यातायात खर्चदेखि आन्तरिक रुपमा पछि बुझ्दै जानेहरु व्ययहरु कमी गरेका छौं । अनावश्यक कार्यक्रम, गोष्ठी, सेमिनार, कार्यशाला भनेर समय नखर्चने नीति अवलम्बन गरेका छौं । सञ्चालक समितिको बैठक ठूला होटलहरुमा खर्च गरेर गर्ने कामलाई अन्त्य गरेका छौं । अनावश्यक तडकभडक, सोख प्रदर्शनमा समय व्यतित् गरेका छैनौं । बिनाकाम भ्रमण, जिल्ला दौडाहामा हामी छैनौं । सादा जीवन उच्च विचार अँगालेका छौं । अनावश्यक माला, खादा, सम्मान कम गरेका छौं । देशभरका अभियानकर्मी साथीहरुको हार्दिकता र शुभकामनाका अपेक्षाहरुलाई सुझाव संकलन र समसामयिक विषयमा छलफलसँग जोडेका छौं । संघले आयोजना गर्ने कार्यक्रमहरुलाई पनि औपचारिकताभन्दा उद्देश्य र विषयवस्तु केन्द्रित बनाउने प्रयत्न गरेका छौं ।
समय, परिस्थिति, सदस्य चाहना, सरोकारवालाहरुको अपेक्षा, सञ्चारकर्मीहरुको खबरदारीले हामीलाई हरेक विषयमा कदम चाल्नु अघि वा निर्णय गर्नुअघि धेरैपटक सोच्ने, बुझ्ने, अध्ययन गर्ने अवसर दिएको छ । हामी बढीनै सचेत भएका छौं । हाम्रा पछाडिको गहन जिम्मेवारी बोध सबै सञ्चालकहरुलाई भएको छ ।
यसैगरी, हामीले सञ्चारमाध्यमसँगको सम्बन्धलाई विशेष महत्व दिएका छौं, जुन अघिल्लो कार्यकालमा संस्थागत हुन सकेन । सहकारी क्षेत्रमा कलम चलाइरहनुभएकाहरुको छाता संगठन नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नवनिर्वाचित कार्यसमितिसँगै निवर्तमान, पूर्व र संस्थापक अध्यक्षहरुसँग बस्यौं । त्यो अन्तरसंवाद साँच्चिकै अन्तरसंवाद भयो ।
नेफ्स्कूनले अब ‘मिडिया स्ट्रयाटेजी’ बनाउनुपर्ने विषयमा संघको व्यवस्थापन पुगेको छ । सञ्चारसम्बन्धका आयामहरुलाई रणनीतिक महत्वका साथ अघि बढाउने र कम्तिमा ३ महिनामा सञ्चार उपसमितिसँग बसेर छलफल गर्ने वातावरण तयार भएको छ । यसले संघको बिग्रिएको सञ्चारमाध्यमसँगको सम्बन्ध पुनस्र्थापित हुने विश्वास लिएका छौं ।
यस्तै, संघको वित्तीय अवस्थालाई बलियो बनाउने काममा व्यवस्थापनलाई थप अधिकारसम्पन्न र थप जवाफदेही बनाएका छौं । संघको लगानीहरुलाई सुरक्षित बनाउने, सदस्यहरुमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्ने, भाखा नाघेको ऋणहरुलाई ताकेता तथा कानूनी विधिमार्फत उठाउने कामहरु विभागीय प्रमुखहरुदेखि सबै कर्मचारीहरुलाई लक्ष्य तोकर काम अघि बढाएका छौं । अरु दैनन्दिन प्रशासनिक गतिविधिहरुलाई चुस्त, दुरुस्त र सक्रिय बनाउने काम त छदैछन् । संघका स्तरीकरण कार्यक्रमहरुको प्रभावकारिता मापनसँगै समयानुकूल संशोधन परिमार्जनसहित सर्वसुलभ र पहुँचयोग्य बनाउने गरी व्यवस्थापनलाई काम गर्ने अधिकार सुम्पेका छौं ।
अब हामी चाँडै ४ वर्षे रणनीतिक योजना निर्माणको तयारीमा जुट्दैछौं । नेफ्स्कूनको लागि यो निर्माण मात्रैले पनि ठूलो महत्व राख्दछ । तर, यो पटक हामी निर्माणसँगै उपलब्धि हासिल हुने गरी र सदस्यहरुलाई केन्द्रमा राखेर उहाँहरुको भावना ‘रेप्लिकेट’ हुने गरी रणनीति निर्माणमा जुट्छौं । सहकारी अभियान र अभियानकर्मीहरुको संरक्षण हाम्रो साझा चिन्तन र मार्ग हो । त्यसका लागि स्पष्ट योजना र रणनीतिहरु तय गरिने विश्वास दिलाउन चाहन्छु ।
नेफ्स्कूनको नयाँ सञ्चालक समितिको कार्यकालको सुरुवात राम्रो भएको बुझाइ अध्यक्षको रुपमा मेरो मात्र होइन सबैको रहेको ठोकुवा गर्न सक्छु । यसलाई उत्कृष्ट बनाउन सकिदैनथ्यो म भन्दिनँ, तर भर्खरै निर्वाचनको रस्साकस्सी सकेर आएका विविध विचारधाराहरुबीच यो खालको सहृदयी सम्बन्ध विकास हुँदै गरेको निर्णयहरुमा प्रतिविम्बित हुनुलाई सकारात्मक मान्नुपर्छ । ‘टिम स्पिरिट’ मा केही कदम चालिएका छन्, चालिएका कदमहरु सही दिशा उन्मुख छन् तर गन्तव्य टाढा छ भन्ने हामीलाई थाहा छ । बोर्ड ओरियन्टेशन पनि सम्पन्न भैसकेको छ यसले पनि हामीलाई साझा धारणा विकासमा सहयोग पुर्याएको छ ।
‘मर्निङ सोज् द डे’ भनेझैं हामी पनि बिहानीको मौसमलाई सफा, स्निग्ध र प्रदुषणरहित बनाउने प्रयास थालनी गरेका छौं । परिवर्तनका पालुवाहरु पलाउन शुरु गरेका छन् । पुष्पित र पल्लवित हुन समय लाग्नेछ । हामी परिक्षामा सामेल भएका छौं । हामीलाई थाहा छ, सदस्य, सरोकारवाला र सञ्चारमाध्यमका साथीहरुले हाम्रो रिपोर्ट कार्ड तयार गरिरहनुभएको छ । पहिलो ‘युनिट टेष्ट’ मा हामी फेल भएका छैनौ, ग्रेड छुट्याउने जिम्मा सरोकारवालाहरु सबैको । हाम्रो परिश्रम र प्रयास ‘ए ग्रेड’ ल्याएर बिस्तारै ‘ए प्लस’ तर्फको तयारीमा कम्मर कसेर ‘ग्रुप स्टडी’मा लाग्ने नै हो । २ महिनाले राम्रो संकेतहरु दिएका छन् । हामी उत्साहित र प्रतिबद्ध पनि छौं । समय धेरै घर्केको छैन । साथ, सल्लाह, सुझाव, सहकार्य र खबरदारीको अपेक्षासहित थप सक्रियताका साथ अघि बढ्ने वाचा गर्दछौं । धन्यवाद ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार