७ वैशाख २०८२, आईतवार

‘मेरो कार्यकालमा १ सय साकोसको साढे २ खर्बको पूर्ण सुरक्षा नेफ्स्कूनले गर्छ’

२०८० मंसिर २६, मङ्गलबार
‘मेरो कार्यकालमा १ सय साकोसको साढे २ खर्बको पूर्ण सुरक्षा नेफ्स्कूनले गर्छ’

डा. शिवजी सापकोटा
प्रमुख कार्यकारी अधिकृत
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)

नेफ्स्कूनको साधारण सभा आउन केही दिन मात्रै बाँकी छ । व्यवस्थापकीय तयारी कस्तो छ ?
आसन्न ३२ औं साधारण सभाले आगामी ४ वर्षको लागि नेतृत्व चयन समेत गर्दैछ । आन्तरिक व्यवस्थापनले नियमित काम गरिराखेको छ । २०६३ सालमा नेफ्स्कून प्रवेश गरेपछि २०६४ देखि निर्वाचनमा सामेल छु । प्रत्यक्ष व्यवस्थापनमा रहेर काम गरेको यो छैठौं निर्वाचन हुनेछ । साधारण सभामा लैजाने प्रतिवेदन र विविध गतिविधिहरुको व्यवस्थापन हाम्रा प्रमुख काम हुन् । सदस्यता नविकरणदेखि आन्तरिक व्यवस्थापन द्रूत गतिमा भैरहेको छ ।

नेफ्स्कूनको निर्वाचनको सम्बन्धमा बाहिर विभिन्न टिकाटिप्पणी आइरहेका छन् नि ? निष्पक्ष र सदस्य सहभागिता बढाउने सन्दर्भमा तयारी कस्तो छ ?
साधारण सभामा सहकारी संस्थाबाट प्रतिनिधिहरु आउँछन् । नियम अनुसार बुझाउनु पर्ने शुल्क, रहनुपर्ने सुशासन कायम भएका संस्थाहरु साधारण सभामा सहभागी हुन पाउँछन् । निष्पक्ष ढंगलेनै नेतृत्व चयन हुने विगतको अभ्यास छ, यसपटक पनि सोही अनुसार हुन्छ । विधिमा रहेर, असल अभ्यासलाई टेकेर र नेफ्स्कूनको आफ्नै नीति, कानून र कार्यविधिलाई टेकेर साधारण सभा सम्पन्न हुन्छ । बजारमा जे जस्ता कुरा आए पनि नीति, विधि र कार्यविधिभन्दा बाहिर जाँदैन । विधि बमोजिमनै साधारण सभा सम्पन्न हुन्छ र नेतृत्व चयन हुन्छ ।

सदस्यता नविकरण र प्रतिनिधिको मनोनयन फारम मंसिर मसान्त भित्रै पठाउनु पर्ने भन्ने सूचना जारी भएको छ । सयम थप हुन्छ की हुँदैन ?
प्रविधिको प्रयोगबाट प्रतिनिधि फारम, प्रतिनिधिले पाउने प्रतिवेदन र प्रतिनिधि कार्ड पनि कम्प्युटरबाटै प्रिन्ट गर्ने आन्तरिक व्यवस्थापन गरेका छौं । हामीलाई काम गर्न सहज होस् भनेर मंसिरमसान्त सम्म समयसिमा तोकेका हौं । तुरुन्तै नविकरण गर्ने भन्न थाल्यौं भने हाम्रा व्यवस्थापन सबै बिग्रन्छ । मंसिरभित्रै प्रतिनिधि व्यवस्थापन गर्ने, मतदाताको परिचयपत्रदेखि अन्य कुरालाई सहज बनाउनको लागि समय तोकिएको हो । नेफ्स्कून भित्रका नीति अनुसारनै एक साताको समय राखेर समय तोकिएको हो । समय थप गर्ने अधिकार सञ्चालक समितिलाई हुन्छ । तर, व्यवस्थापनले भने सोही मितिलाई डेडलाइन बनाएर काम अघि बढाएको छ ।

निकै संवेदनशील समयमा सिईओको जिम्मेवारीमा आउनुभएको छ । निर्वाचन अघि र पछिको परिदृष्य फरक हुन सक्छ । यस्तो अवस्थामा कामलाई कसरी गति दिनुहुन्छ ?
साकोस अभियान र आन्तरिक व्यवस्थापनलाई कसरी व्यवस्थित र चलायमान बनाउने भन्नेमा मेरो ध्यान केन्द्रीत रहन्छ । साधारण सभा, नेतृत्व परिवर्तन नियमित प्रक्रिया हो । आन्तरिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न क्रियाकलाप, रणनीति, लक्षित वर्ग, लक्षित संस्था तोकिएको छ । यी कामलाई केन्द्रमा राखेर मैले काम गर्छु । आवद्ध संस्थालाई सुसूचित गर्ने, सुशासनमा लैजाने, कानुनी साक्षरता प्रदान गर्ने, व्यवसायिकीकरणका क्रियाकलापमा लैजाने र गुणस्तर विकास गर्ने नै नेफ्स्कूनको रणनीति हो । पछिल्लो समय प्रमाणिकरणलाई वैधता दिने काम पनि भैसकेको छ । बाह्य परिक्षकहरुबाट परिक्षण गराउने काम सुरु भएको छ । नियमित प्रक्रिया चल्दै जान्छ । आन्तरिक व्यवस्थापनले लिएको जिम्मा र रणनीतिक योजना अनुसार नेफ्स्कून अघि बढ्छ ।

नयाँ नेतृत्व आएसँगै रणनीतिक मार्गचित्र तय गर्नुपर्ने बेला भएको छ । अबको रणनीतिक मार्गचित्रमा के कस्ता विषय अटाउछन् ?
अघिल्लो रणनीतिमा साकोस एकरुपता प्रणालीलाई अघि लैजाने र बचत तथा ऋण सहकारीको लागि छुटै ऐन ल्याउन बहसपैरवी गर्ने विषय प्रधान थियो । त्यो रणनीति योजना बनाउँदा म आफै सहभागी थिएँ । यो चार वर्ष विविध खालको प्रतिकुल परिस्थिति देखा पर्यो । विश्वव्यापी स्वास्थ्य संकट, आर्थिक मन्दी, युद्धको प्रभाव आदिले अपेक्षित उपलब्धि हासिल गर्न सकेनौं । शहर केन्द्रीत सहकारीहरु सुशासनमा समेत विचलित भए । ती सहकारीको लगानी व्यक्तिगत तिर परिणत भए । उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा प्रतिफल भएन । त्यसकारण एकाध सहकारी बन्द हुने अवस्था, बचत फिर्ता दिन नसक्ने अवस्थामा पुगे । नेफ्स्कूनको स्कूलिङलाई आत्मसाथ गर्न नसक्दा समस्यामा परे । नेफ्स्कूनले कहिल्यै पनि व्यक्तिगत ऋण परिचालन, उनुत्पादक क्षेत्रमा लगानी, कम्पनीहरुमा लगानी गर भनेर भन्दैन । यस्तो विचलनको समयमा नेफ्स्कूनले सदस्य कहाँ राम्ररी म्यासेज लान विविध कारणले सकेन । अब विस्तारै सहज हुँदैछ ।

अब नेफ्स्कूनले सुशासन, नीति र दिगो वृद्धिका कुरा लैजादै छ । मेरो परिकल्पनालाई ध्यानमा राखेर कुरा गर्ने हो भने सन् २०२५ भित्र २५ वटा संस्थाको जिम्मा लिने गरी नेफ्स्कूनले काम गर्दछ । ती संस्थाहरु अर्ब नाघेका हुन्छन् । मेरो कार्यकालमा (२०८४ साउन) एक सय वटा संस्थाको जिम्मा नेफ्स्कूनले लिन्छ । एभरेजमा साढे २ खर्बको रकमको पूर्ण सुरक्षा नेफ्स्कूनले गर्छ । यो कुरा व्यवस्थापनलाई ‘कन्भिन्स’ पनि गराएको छु । अब बन्ने रणनीतिमा यो कुरा समावेश हुन्छ ।

तपाईं सिईओ भएपछि अभियानले अब के के कुरा अनुभूति गर्न पाउँछ ?
अहिले तत्कालै भनेको सहकारी ऐनमा नमिलेका कुराहरु मिलाउन एक जुट भएर लाग्छौं । अभियानभित्र एक मत छैन । एकमत नहुनुको कारणले कानूनी बाधाव्यवधान अहिलेसम्म पनि छ । त्यो फुकाउन महासंघले नेतृत्व लिनुपर्छ । सबै केन्द्रीय संघले ‘इनपुट’ दिनुपर्यो । सबैले निस्वार्थ भावनाले अभियानको लागि यो गर्नुपर्छ भनेर लैजानुपर्यो । त्यसको समन्वय गर्ने क्षमता म राख्छु । यो चार वर्षको बीचमा ऐन संशोधनको कुरा अघि बढाइन्छ । सबैभन्दा ठूलो उपलब्धि भनेको संख्या निर्धारण गरेर जिम्मा लिन्छौं । यो ठुलो चुनौती पनि हो । २०२५ भित्र २५ र कार्यकालमा १०० वटा संस्थाको जिम्मा नेफ्स्कूनले लिन्छ । देशभर नेफ्स्कूनले १ हजार सहकारीको जिम्मा लिन्छ । सम्भवतः १ हजारभन्दा बढी बचत ऋणको कारोबार गर्ने हुँदैन । १ हजार संस्थाको जिम्मा लिन १५, २० वर्ष लाग्ला । तर मेरो कार्यकालभरीमा १०० वटा संस्थाको जिम्मा नेफ्स्कूनले लिन्छ । यो नै उपलब्धि हुन्छ ।

हालको रणनीतिक मार्गचित्र कर्मकाण्डी मात्रै भएको देखिन्छ नि ? अधिकांश लक्ष्य पुरा भएन नी ?
समग्रमा असर के पर्यो भने एकातिर व्यक्ति केन्द्रीत सहकारी क्षेत्रले विश्वास गुमाउँदै गएको अवस्था छ । उनीहरुले समुदाय र सरकारलाई विश्वास लिन सकेन । सरकारले पनि सहकारी क्षेत्रलाई अविश्वास गर्ने जस्तो स्थिति आयो । यी कारणहरुले रणनीतिक योजनामा भएका कुराहरुमा बाधा बुगेको हो । नयाँ बनाउँदा समीक्षा पनि गरिन्छ । कुन कुन कुरा समय सान्दर्भिक थिए थिएन की ? हामी अलि महत्वकांक्षी भयौं की ? वासलात बढाउने होडबाजीमा लाग्यौं की ? अबको रणनीतिमा सदस्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा केन्द्रीत रहन्छ ।

अन्तरआत्माले भन्नुस् त तपाई नेफ्स्कूनमा फर्कनुको खास कारण के हो ?
२०५१ देखि प्रारम्भिक संस्था र २०६३ सालदेखि नेफ्स्कूनमा बिताएँ । म अहिले ४८ वर्षको भएँ । यो बीचमा मैले जे सिके, जे जाने सहकारी नै जाने र सहकारी नै पढे । पछिल्लो समय वित्तीय सहकारीको जनशक्ति व्यवस्थापनमा विद्यावारिधी पनि गरेँ । वित्तीय सहकारीमा जनशक्ति व्यवस्थापन गर्न सकियो, जनशक्ति राम्रो बनाउन सकियो भने अभियानमा सुशासन, प्राविधिकरण र बचतको सुरक्षा कसरी गर्ने भन्ने कुरा फैलाउन सकिन्छ । म नेतृत्वको कुरा धेरै गर्दिन । नेतृत्व सदस्यले चान्ने विषय हो । व्यस्थापन निष्पक्ष, निसकलंक, पेशागत, दूरदर्शी र उपलब्धी कसरी हासिल गर्न सकिन्छ भन्ने लक्ष्यमा केन्द्रीत हुनुपर्छ । मेरो अध्ययनको रोल चाँही यही केन्द्रीय संघबाट गर्न सक्छु भन्ने विषय रह्यो । अभियानको माग पनि थियो भन्ने लाग्छ । रणनीतिलाई प्रारम्भिक, जिल्ला र प्रदेश संघहरुमा ट्रान्सलेट गर्न सक्नेमा म सर्पोट गर्न सक्छु । म संग तुलनात्मक रुपमा बुझाई राम्रो छ भन्ने लागेर फेरि फर्किएको हुँ ।

पहिले रणनीतिक योजना बनाउने बेलामा हाम्रो सञ्जालभित्र राख्नुपर्छ । आवद्धता मात्रै सञ्जाल हैन । हाम्रो सञ्जाल भित्र बस्नु भनेको हामीले भनेको मान्नु पनि हो । विश्वका असल अभ्यासलाई मात्रै हामी ल्याउँछौं । सदस्यलाई सुशासनबाट बाहिरिने, सुशासन विचलन हुने कुरा हामी सिकाउँदैनौं । एउटै नेटवर्क भित्र राखेर संस्था सञ्चालन गर्न सक्यौं भने सबै एउटै नीतिमा चलेको हुन्छ । केन्द्रले हामी भित्र रहेका संस्थाको अवस्था केही सेकेण्ड भित्र पत्ता लगाउन सक्छ ।

तपाई वित्तीय सहकारीको मानव शंसाधनमै विद्यावारिधी गरेको व्यक्ति हुनुहुन्छ । नेफ्स्कूनको मानव शंसाधन समायानुकुल छ ?
यसलाई पुनर्संरचना गर्नुपर्छ । यस पटकको साधारण सभामा कार्यविधि संशोधनको लागि लैजान्छु । किनभने सदस्यको माग अब फर भैसक्यो । सदस्यलाई कानुनी, प्राविधिक, म्यानेजमेण्टको नेतृत्व विकासको लागि फरक फरक चाहिन्छ । अब यी कुराहरु समावेश हुन्छन् ।

नेफ्स्कूनले हरेक वर्ष स्वनियमन मार्गनिर्देशन जारी गर्दै आएको छ । तर, कार्यान्वयन भएको अनुभूत हुँदैन नि?
अभियानले त्यसलाई ओनरशिप लिनुपर्यो । नेफ्स्कूनको स्कूलिङमा रहेकाले ठ्याक्कै त्यसलाई आत्मसाथ गर्छन् । सुशासनको फ्रेमभित्र बस्ने र समुदायमा आधारित छन् भने नेफ्स्कूनले जारी गरेका पत्र, परिपत्र, मार्गनिर्देशन र रङ समेत अबललम्वन गरेको देखिन्छ । यसलाई बढाउनुपर्छ ।

गुणस्तर सुनिश्चितताको कार्यक्रममै प्रश्न उठ्न थालेको छ नि? यसलाई सुधार गर्ने जिम्मेवारी तपाईकै काँधमा छ । कसरी सुधार गर्नुहुन्छ?
गुणस्तर सुनिश्चितता भन्ने वित्तिकै एक्सेस र प्रोवेशन छ । एक्सेसको धेरै कुरा म गर्दिन किन भने हामीले ट्युसन मात्रै पढाउने हो । त्यो टुल्स हामिले विकास गरेको हैनौं । २०१० मा टुल्स फाइन हुने कार्यक्रममा म चाँही पुगेको थिए ।

प्रोबेशन धेरै कुराहरुलाई हेर्ने गर्दछ । त्यसमा परिक्षण गर्दा व्यवस्थापनले जुन कुरा दिएको हुन्छ । अंकलाई सूचकको रुपमा मानिन्छ । त्यो कुरामा केही हुन सक्छ । अहिलेलाई शून्य लेवलमा पुर्याउँछु । क्वालिटिको छ भनेपछि क्वालिटिकै हुनुपर्यो । भ्रम भएको यथार्थ हो । कुनै पनि संस्थाको विकास नभएको भन्दा केही न केही चाँही भएको छ । नीति, विधि, सुशासन, भाखा नाघेको ऋण बढी हुनुहुँदैन भन्छ । संस्थाको आफ्नो पैसा भनेको संस्थागत पुँजी हो । त्यो पैसा बढ्यो भने संस्था बलियो हुन्छ र अरुसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छ । यी र यस्ता धेरै राम्रो कुरा प्रोवेशनले सिकाउँछ ।

नेफ्स्कूनको पुरानो रोग भन्छ सबैले, हरेक सञ्चालकले कर्मचारी चलाउने, कर्मचारीले सञ्चालक बोकेर हिड्ने । यो रोगको उपचार के हो?
सञ्चालक समितिमा अध्यक्ष प्रधान र व्यवस्थापनमा सिईओ प्रधान हुन्छ । धेरै सहकारीमा त्यस्तो पाइन्छ । हामीले प्रारम्भिक सहकारीको कुरा गर्दा यो शिक्षाले नै गर्ने हो । सञ्चालहरुको क्षमता अभिवृद्धिको तालिममा यो कुराहरु गछौं । व्यवस्थापकले पनि सुशासनमा बसेर काम गर्नुपर्छ । व्यवस्थापकले सञ्चालकलाई गलत रिपोटिङ गर्नु भएन । अन्य कर्मचारी सिईओ कै हुन् । यो तथ्य नेफ्स्कूनले नै स्थापित गरेको हो । त्यसलाई निरन्तरता दिनै पर्छ र दिईन्छ पनि ।

नेफ्स्कून व्यवस्थापन प्रमुखको रुपमा विभागीय प्रमुखलाई मिलाएर लैजाने कुरामा चुनौतिपूर्ण देखिएको अनुभूति बाहिरबाटै देखिन्छ । यसको असर तल्लो तहको कर्मचारीमा समेत पुगेको छ । यसलाई कसरी लिनुभएको छ?
मैले त्यस्तो अनुभूति गरेको छैन । मैले चार वटा विभाग व्यवस्थापन गर्नुपर्ने छ । अभियानको आवश्यकता अनुसार विस्तारै थपिएला । यो संयन्त्र हो । यसलाई कसरी चलाईन्छ भन्ने हो । म आएपछि अंकमा आधारित भएर लक्ष्य तोकेर दिएको छु । उहाँहरुले कति कार्य सम्पादन गर्नु भयो भन्ने कुरा अंकमा देखिन्छ । विभागिय प्रमुखको पर्सनल कुरालाई इन्टरफेयर गर्नु कुरा भएन । तर, अभियान र नेफ्स्कूनको विषयमा कुनै पनि कसर बाँकी राखिदैन । उहाँहरुलाई परिचालन गर्ने र केही कमीकमजोरी भयो भने आन्तरिक विधि छदैछ । मेरो विचारमा अनुभवी विभागित प्रमुख हुनुहुन्छ । बाहिरबाट भनिएजस्तो स्थिती छैन । उहाँहरु टिममै काम गर्न रुचाउनुहुन्छ । टिमवर्कलाईनै प्रमोट गरेर लैजान्छौं ।

स्वभावजन्य हिसाबले तपाई कस्तो व्यक्ति हो ?
‘जज्मेन्ट’ बाहिरबाटै गर्ने हो । नबिग्रियोस् र बनाउनु पर्छ भन्ने मेरो ‘नेचर’ छ । ‘पोजेटिभ एटिच्युड’ राख्छु । सबै कुरामा ‘पोजेटिभलिन’ै हेर्छु । कम्युनीकेशन चाँही ग्याप हुन्छ । म कम्युनिकेशनमा त्यतिधेरै रहन चाहन्नँ । कामलाई र रिजल्टलाई प्रमुख प्राथमिकता दिने मान्छे हुँ । रिजल्ट नआउन्जेल निन्द्रा समेत आउँदैन । समन्वयमा राम्रो छु जस्तो लाग्छ । समन्वयकारी भूमिका गर्न सक्छु ।

नेफ्स्कूनको महत्वकांक्षी योजना मिरा कहाँ पुग्यो? अब कसरी बढ्छ?
२० महिनाको लागि सम्झौता गरेको छ । यतिबेलासम्म कोर बैकिङ सिस्टम पुरा भएको छ । यो सिस्टम हो सफ्टवेयर हैन । मावन संशाधन व्यवस्थापन, स्टक व्यवस्थापन लगायतका कुराहरु निर्माणकै क्रममा छ । नेफ्स्कून आफैले मिरा चलाउन सुरु गरेको छ ।

केही समय नेफ्स्कून बाहिर बस्नुभयो । बाहिर बसेर हेर्दा नेफ्स्कूनलाई कस्तो देख्नुभयो?
धेरै साथीहरुले सुनाए । गरिसक्नु पर्ने नेफ्स्कूनले किन गरेन जस्तो हुन्थ्यो । धेरै कुरामा सजक र सचेत भएर अघि बढेन कि भन्ने अनुभूति भयो । अभियानबाटै टिकाटिप्पणी चाँही सुन्नु परेन । सहकारी सिकाउने संगठन नेफ्स्कून हो । सहकारी अभियानको गुरुकुल नै हो । अधिकांश अभियान्तहरुले नेफ्स्कूनले के भन्छ भन्नेकुरा हेर्दो रहेछ । यो राम्रो कुरा गर्दा र नराम्रो कुरा बाहिर आउँदा मार्क गर्दो रहेछ । बाहिर बसेपनि ग्याप चाँही फुलफिल गरेजस्तो लाग्छ । म्यानेजरको क्षमता विकास, नेतृत्वको क्षमता विकास, रणनीतिक योजना, नीति निमार्ण यस्तै कुरा गर्दे हिँडे ।

सहकारी अभियान बीचमा एकरुपता छैन । यसले सहकारी क्षेत्रलाई नै पछि धकेले जस्तो लाग्दैन ?
अभियानलाई धेरै हानी पुगेको छ । सबै सहकारीले बचत ऋणको कारोबार गरेका छन् । बचत ऋणको सहकारीले बचत ऋणको कारोबार गर्ने, अरुले जे भनेको छ त्यही गर्ने हो । बचत ऋणको लागि छुट्टै ऐन चाहिन्छ । राष्ट्र बैंकको कडा निगरानी आवश्यक छ । पैसा त पैसा नै हो बैंकले चलाए पनि सहकारीले चलाएपनि । सहकारीको पैसा बिग्रदा अर्थतन्त्र बिग्रन्छ । विश्वासको संकट हुन्छ । बुझाउ बाँकी छ जस्तो लाग्दैन । बचत ऋणको कारोबार गर्न कहीँबाट अनुमति लिनु पर्दैन । जति पैसा उठाएपनि हुने ? तर गालीचाँही सरकारलाई गर्ने ? बचत ऋणको कारोबार गर्छु भनेर एक रुपैयाँ पनि सुरक्षणमा राखिएको छैन । यो त एकदमै कन्टोभर्सीयल कुरा भयो । अत्यन्त पावरफुल, अत्यन्त सघन अनुगमन गर्ने नियामक हुनुपर्छ । दोस्रो तहको नियामकको कुरा पनि उठिरहेको छ ।

तर, दर्ता गर्ने निकायले अनुगमन गर्न सक्दैन । तीन तहमा नियमन गएपछि अनुगमनको प्रभावकारीतामा प्रश्न उठ्छ । केन्द्रीय संघले अनुगमन गर्दा जिम्मा लिने गरी गर्नुपर्छ । त्यो संयन्त्र मैले विकास गर्छु ।

तपाई स्थिरीकरण कोषको सदस्य सचिव पनि हुनुहुन्छ । कोष कसरी अघि बढिरहेको छ ?
भर्खरै मात्रै बैठक पनि बसेको थियो । स्थिरीकरण कोष एउटा कोषको रुपमा मात्रै परिकल्पना भयो । कोष एउटा होल सिस्टम हुनुपर्ने थियो । कोरिया, ब्राजिल, फिलिपिन्स लगायतका देशमा सिस्टमको रुपमा छ । स्थिरीकरण कोष भनेको सहकारीलाई स्थिर गराउने नै हो । स्थिरीकरणसँग सँगै अनुगमन जोडिनुपर्छ । शब्द मात्रै आयो ।

हामीले पाएको कार्यविधिले सञ्चालन खर्च, सोधभर्ना लिन पाउने, समस्या पर्दा तरलता सापटी लिने र फेरि फिर्ता गर्नुपर्ने छ । कसलाई अप्ठेरो परेको छ भन्ने कुरा हामीलाई थाहा नहुने भयो । किनभने अनुगमन गर्न पाएको छैन । अनुगमन गर्ने लेबलमा ऐनले दिएको छैन । कोषमा जति आवद्ध छ उनीहरुको अनुगमन गर्न पाउने र आवश्यक परेमा सापटी दिने शब्द भएको भए अनुगमनको संयन्त्र बन्ने थियो । अहिले कब्र्स र प्रोवेशन कार्यक्रममा मात्रै हामी अनुगमन गछौं । त्यो अनुगमनले काम नहुने भयो । ऐच्छिक आवद्धता भएका कारण यी कार्यक्रममा संस्था नहुन सक्छ । करिब ३ सय संस्था मात्रै कोषमा आवद्ध छ । जबकी नेफ्स्कूनमा ४ हजारबढी आवद्ध छन् । अबको ऐन संशोधनमा जाँदा स्थिरीकरण कोषले अनुगमन गर्ने व्यवस्था गरेपछि संस्थाको अवस्था थाहा हुन्छ ।

तपाईंले भने अनुसार मनिटरिङ सिस्टम सहितको कोष हुने हो भने त स्तरिकरण कार्यक्रम त आवश्यक नहुने भयो नी?
ठीक भन्नु भयो । कोरियामा स्तरीकरण कार्यक्रम नै छैन । कोषले नै मनिटरिङ गर्ने भएपछि स्तरिकरण कार्यक्रम चाहिन्न । कोषमा आवद्ध राम्रा मध्येका राम्रा कुन हो भनेर सरकारले अर्वाड गर्छ । त्यो प्रभावकारी पनि हुन्छ ।

अन्त्यमा ?
अभियानलाई कसैले प्रश्न गर्न नसक्ने र दाग नलाग्ने हिसाबले सहकारीतालाई नै समुदायमा लैजान सकोस् भन्ने अपेक्षा मेरो छ । सहकारी सहकारी जसरी नचलेर कम्पनी जसरी चले । त्यस्ता सहकारीले सदस्यलाई जति लुटेपनि हुने, जति चुसेपनि हुने । मेरो भाषामा भन्दा नाफा कति कमायो भन्दा पनि सदस्यलाई कती मार्यो भन्ने देखियो नि त । सहकारी नाफाको लागि पनि हैन र बाढ्नको लागि पनि हैन । सदस्यलाई सेवा दिनको लागि सहकारी हो । त्यो सेवाको चाहिँ पैसा पर्छ । यी कुराहरु अलि चुनौतीपुर्ण छ । यसलाई प्रमोट गरेर लैजानुपर्ने छ । यी विषयमा नेफ्स्कूनले हात छोड्दैन । यो स्पिरिट पनि घटाउँदैन ।

अभिलेख

लोकप्रिय