३ वैशाख २०८३, बिहिबार

सहकारीको सफलता: नियमित दैनिक र मासिक बचत

२०७९ चैत २९, बुधबार
सहकारीको सफलता: नियमित दैनिक र मासिक बचत

सदस्यहरुको नियमित दैनिक, मासिक बचत सहकारीको प्रमुख श्रोत हो । विभिन्न सहकारीले आफ्नो विधि, विधान अनुसार विभिन्न किसिमका नाम दिएर मासिक, दैनिक बचतको रुपमा रकम संकलन गरिरहेको छ । हाल सहकारीका राम्रा भन्दा पनि नराम्रा किसिमका खबरहरु पत्रपत्रिका, सामाजिक सञ्जाल, रेडियो, टिभीबाट देख्न र सुन्न सक्छौं । वास्तवमा सहकारी व्यवसायमा अन्य विभिन्न बैंकिङ क्षेत्रमा भन्दा कम जोखिम हुनुपर्ने हो । यी यस्ता कुरालाई छोड्दै सहकारी सफल हुनुमा सेयर सदस्यहरुको दैनिक, मासिक रुपमा नियमित तरिकाले बचत हुँदा सहकारीले सफलताको हात चुम्न सक्छ । हाम्रो समाजमा अझै पनि ती विभिन्न प्रकारका सदस्यहरुले अधिकांश सहकारीमा नियमित रुपमा बचत गरिरहेको देखिँदैन । हाल देशमा देखिएको आर्थिक तरलता नभईरहेको अवस्थामा बचतको अति नै महत्व रहेको छ । बचत बिना लगानी गर्न असमर्थ हुने परिवेशमा ती सम्पूर्ण सदस्यहरुले मासिक, दैनिक रुपमा बचत गरिदिँदा सदस्यले सहकारीमा गएर उनीहरुको विभिन्न प्रश्नको जवाफ पाउन सफल हुन्छ । बेला बेलामा बचतको क्रममा सहकारीको कार्यालयमा उपस्थित हुँदा र उनीहरुको गुनासो, कौतुहल्ता, सञ्चालक समितिलाई घचघचाउँदा संस्थाको नीति, नियम, विधानबाट विपरित बाटोमा जान पाउदैन जसको कारण सहकारी सफलताको बाटोतर्फ उन्मुख हुन जान्छ ।

समाजमा केही सहकारीले गरेको प्रगती, केही व्यक्तिको जीवनमा आएको परिवर्तन, धेरै मात्रामा बोनस खुवाउने, नाफा कमाउने स्रोतको रुपमा देखिएकोले त्यसको देखासिकी र लहैलहमा जाने प्रवृति बढि रहेको छ । सहकारीको सिद्धान्त, महत्वको बारेमा ज्ञान नभएको दक्ष, अयोग्य व्यक्तिहरु संचालक समिति, व्यवस्थापकमा रहँदा त्यसले नराम्रो तरिकाले भड्खालोमा लाने गरेको देखिन्छ । सिमित व्यक्तिको स्वार्थको कारणले गर्दा कयौं सदस्य र साधारण सदस्यहरुको लगानी डुब्ने गरेको छ । वास्तवमा सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई हामी सामान्यतया सहकारी भन्ने बुझछौं । तर, समाजमा यस्तो कार्य भएको देखिदैन जसको कारणले गर्दा आम मानिसमा सहकारीबारेमा विस्तृष्णा जाग्ने डर भइरहेको छ । सुगम ठाउँमा सहकारीको स्थापना गरि आफ्नो मनोमानी गरेर कतियौं सहकारीले जनताको लगानी डुबाइरहेको सुन्न सक्छौ । त्यसैले हामी सम्पूर्ण दुगर्म, गाउँ स्तरका सदस्यहरुले सँगसँगै मिलेर सहकारीको मर्म, भावना र सिद्धान्तलाई आत्मसाथ गदै आफ्नो समाज, राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक लाई माथि उठाउन सामुहिक रुपमा प्रयास गरिनुपर्छ त्यसको लागि हामी सम्पूर्ण सदस्यहरुले नियमित रुपमा दैनिक, मासिक बचत गरिनुपर्छ ।

नेपालको सन्दर्भमा करिब ५६.७४ प्रतिशत नेपालीहरुले बचत गर्नका लागि सहकारीको खाता प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षारता सम्बन्धी अध्ययनले बचत गर्नको लागि सहकारी लोकप्रिय रहेको कुरा औल्याएको छ । उक्त अध्ययन प्रतिवेदन अनुसार नेपालमा करिब ७१ प्रतिशत नेपालीहरुले बैंकिङ सेवा लिइरहेको र खाता रहेको रहेको छ भने १७ प्रतिशतले घुवित्तमा, ४५ प्रतिशतले समुहमा, ६ प्रतिशतले पेन्सन खातामा, ४.६५ प्रतिशतले नागरिक लगानी कोषमा, २३.९७ प्रतिशतको शेयरमा, ९.३८ प्रतिशतको ऋणपत्रमा बचत गरेको छ । जसरी बचत गर्नेमा सहकारीको लोकप्रियता भएता पनि ऋण लिनका लागि सहकारी कम प्राथामिकतामा पर्ने गरेको छ । ऋणको लागि सहकारी भन्दा पनि समूह बढि प्राथामिकतामा पर्ने गरेको छ ।

मुलुकको दिगो विकास तथा अग्रगामी सामाजिक रुपान्तरणका लागि सबल र सक्षम सहकारी प्रणाली अनुसार सहकारीको दिर्घकालीन सोचले देशको आर्थिक विकासमा र स्थानिय नागरिकहरुको जिवनस्तरमा उकास्न र बेरोजगार व्यक्तिहरुलाई रोजगारीको सृर्जना गर्नका साथै देशमा रहेका बाँझो खेतबारीको सहि सदुप्रयोग गरी राज्यको जिडिपीमा सहि योगदान गर्न सक्छ । हाल समाजमा देखिएको ऋण लिने उद्देश्यको लागि मात्र सहकारीको सदस्य बन्ने प्रवृत्ति र प्रक्रिया पुरा नगरी ऋण कारोबार गर्ने लगायतका समस्या सहकारीमा देखिएको देखिन्छ । केही समय बचत गर्ने अनि ऋण लिने र त्यसपछि सहि ठाउँमा त्यस ऋणको सदुप्रयोग नभएपछि भनेको बेला ऋण तिर्न नसक्नु र मासिक, दैनिक रुपमा नियमित बचत गरिरहेको सदस्यले पनि छोड्दै जादाँ डुब्ने स्थितीमा आइपुग्छ । सहकारीमा समस्या उत्पन्न हुन नदिन संचालक समितिले शुसासन प्रवद्धनसम्बन्धी चेतनामुलक कार्यक्रम गरिनुपर्ने देखिन्छ । उत्पादन बृद्धि, रोजगारी सृजर्ना र नेपालीको आर्थिक, सामाजिक जिवनस्तर उकास्न सहकारी आवश्यक छ ।

हरेक सहकारीमा नियमित रुपमा सदस्यहरुले दैनिक, मासिक बचत तथा ऋणको किस्ता तिर्न आफै कार्यालयमा जाने वातारण श्रृजना गर्नु पर्दछ जसले गर्दा सहकारीको कार्यक्रम र योजनाको बारेमा जानकारी भई संस्था प्रतिको विश्वास, आस्था, माया, साख र तरलतालाई सहजता हुने हुदाँ सदस्यले चाहेको बखत तुरुन्त ऋण प्राप्त गर्न सम्भव छ । प्रत्येक सदस्यहरुले आफ्नो सहकारीको बारेमा बुझन्को लागि पनि नियमित बचत र ऋणको किस्ता तिर्र्नुपर्ने देखिन्छ । हाल सहकारीमा देखिएको विभिन्न समस्याको जड भनेको पनि सदस्यहरुले आफ्नो सहकारीको बारेमा बुझन् नचाहनु र नियमित रुपमा बचत गर्न नजानु पनि एउटा कारण देखिन्छ । म त्यस सहकारीको संचालक वा अन्य समितिको सदस्य होइन मेरो त्यहाँ काम छैन र म त्यहाँ उपस्थित भईरहनु पदैन भन्ने खालको सोच संस्थाका कुनै पनि सदस्यहरुमा रहनु राम्रो होइन । जुनसुकै सहकारी सफल हुनुमा त्यस संस्थामा आवद्ध रहेका सदस्यहरुको लगन, मेहनत, सक्रियता महत्वपूर्ण रहन्छ । मेरो दैनिक, मासिक बचत कति भयो ? कहिले मेरो बचत फिर्ता हुन्छ ? मेरो मासिक बचत सेयरमा कहिले गाभिन्छ ? मेरो सेयर थोरै छ तर मासिक बचत धेरै छ त्यसलाई कहिले सेयरमा रुपान्तरण गर्न सकिन्छ ? मेरो सहकारीको स्थिती कस्तो छ ? मेरो सहकारीको हाल वर्तमानको नीति नियमको बारेमा विज्ञ छ कि छैन ? सञ्चालक समितिको बैठक कतिको बस्ने गरेको छ ? सरकारले प्रदान गरेको सहुलियत ब्याजदरको कृषि कर्जा प्राप्त गरेको छ कि छैन ? जस्ता विभिन्न प्रकारका प्रश्न सोध्ने मौका जब नियमित रुपमा दैनिक, मासिक बचत तथा ऋणको किस्ता तिर्न सहकारी जान्छौं ती प्रश्न सोध्ने गर्नुपर्छ जसले गर्दा सहकारी संस्थाहरु अफ द ट्याकमा हिडिरहेको छ भने पनि त्यसलाई ट्याकमा ल्याउनको लागि मद्दत गर्दछ ।

दैनिक, मासिक बचत किन गर्ने ? भन्ने प्रश्नमा, भविष्य अनिश्चित छ यो सम्पूर्ण जगतका मानिसलाई थाहा नै छ । बेला बेलामा देशको आर्थिक मन्दी , मानिसको जिवनमा कुन समयमा स्वास्थ्य अवस्थामा आउने समस्या, राजनैतिक अस्थिरता, विश्व बजारमा भएको मुल्य वृद्धि, बेला बेलामा हुने लकडाउन, बेला बेलामा हुने नाकाबन्दी जस्ता विभिन्न कारणले गर्दा पनि हामीले नियमित बचत गर्नुपर्छ । प्रत्येक व्यक्ति सबैको लागि, सबै व्यक्ति प्रत्येकको लागि भन्ने मुल मन्त्रलाई आत्मसाथ गदै जानुपर्छ । दुःखको बेला सहकारी भन्ने मुल भावलाई आत्मसाथ गर्नुपर्छ । हामीले अहिल्यै खाऔं, सकाऔं भन्न थालियो भने हाम्रो समाज, परिवार, जीवनको भविष्य अन्धकारमय हुन सक्छ । पाथी खाँदा माना बचाउनुपर्छ । थोपा थोपा बचतले भविष्यमा धेरै बचत र प्रतिफल लिनुपर्छ भन्ने मर्म लाई अगाँल्दै बचत गरिनुपर्छ । कुनै पनि सदस्यहरुले मासिक रु. १०००० कमाउँछ भने रु १००० बचत गर्ने बानी बसाल्नुपर्छ । ती सम्पूर्ण बचत आफ्नो, परिवारको लागि र भविष्यमा सन्तानको लागि पनि अहिल्यैदेखि बचत गरौं । यदि अहिले हामीले बचत गरेनै भने भोलीको भविष्यमा सुनिश्चित र पर्दा टार्नको लागि तपाई गाह्रो हुन सक्छ । सहकारीमा म सक्रिय रुपमा कार्यरत र प्रत्येक कार्यक्रममा सहकारीको मर्म भावना अनुसार कार्य गरिरहेको छु भन्नको लागि पनि नियमित बचत जरुरी देखिन्छ ।

सहकारी संस्थाको कर्जा नतिर्दा के हुन्छ ?
व्याज बढ्दै जान्छ । तिर्नुपर्ने रकम थपिदै जादाँ लागत बढ्छ ।
भखा नाघ्छ र खराब ऋणीमा परिन्छ ।
समितिमा, कर्मचारीहरुले सो व्यक्तिको चर्चा हुने, निगरानी बढदै जान्छ ।
हाल सहकारी सहकारी विच सहकार्य भईरहेको छ जसले एक सहकारीबाट कर्जा लिदाँ त्यहाँ नतिर्दा आर्को कुनै संघ संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैन र खराब व्यक्तिमा गनिन्छ ।
कालो सुचिमा र पत्रपत्रिकामा तिनपुस्ते विवरण सहित नामावली सार्वजनिक हुन्छ ।
तपाईले भाखा नघाए अरु सदस्यले कारोबार गरेर कमाएको मुनाफाबाट कर्जा जोखिमको लागि पैसा छुट्याउनु पर्छ । जसले गर्दा संस्थाको मुनाफा घटेर सदस्यको बोनस घट्छ ।
घरपरिवारमा झैझगडा हुन्छ । तपाइका बालबालिका, छोरा छोरीलाई नकारात्मक असर गर्छ।
अहिले सम्म लिएको कर्जा रकमको मिनाहा भएको छैन । कर्जा मिनाहा हुन्छ भन्ने भम्रमा नपरौं ।
सहकारी संस्थाबाट कर्जा लिएर हजारांै सदस्यले व्यापार व्यवसाय गरेर प्रगती गरेका छन् । तपाई पनि उद्यमी बन्ने तिर लाग्नुस् र आफूलाई परेको समस्या सहकारीलाई सुनाउनु होस् जसले गर्दा सहकारीले तपाईलाई केही हदसम्म भए पनि सहयोग गर्नेछ ।
समयमै कर्जा तिरौं । समय बितेपछि पछुताउनु बाहेक अर्को विकल्प हुँदैन ।

अन्त्यमा, एक असल सदस्यको भूमिका सहकारीमा निर्वाह गर्नुपर्ने देखिन्छ । दैनिक, मासिक नियमित बचत तिर्न स्वंयम आफै उपस्थित हुने, कर्जा नियमित बुझाउनु, संस्थामा हालसम्म भएका गतिविधि सम्बन्धि जानकारी, आफनो सम्पूर्ण कारोबार सकेसम्म आफ्नै सहकारी मार्फत गर्ने, संस्थाले दिइएको सेवा उपयोग गर्ने, संस्थाले गर्ने विभिन्न कार्यक्रममा सक्रिय रुपले सहभागी हुर्नुपर्छ भने सम्पूर्ण सदस्यहरुको संलग्नतामा संस्थाको लक्ष्य र उद्देश्य अनुरुप कार्य संचालन गदै जानु सहकारीको प्रमुख कार्य पनि हो । नियमित बचत गर्ने बानी आजैदेखि शुरु गरि भोलीको भविष्यको लागि सुनिश्चित गर्नु हो । सदस्यहरुको नियमित बचतले सहकारीको सफलता तिर उन्मुख हुने देखिन्छ ।

(लेखक सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटका सह-सचिव हुन्)

अभिलेख

लोकप्रिय