७ वैशाख २०८२, आईतवार

साकोस अभियानको छवि जोगाउँदै नयाँ उचाईका लागि सिईओ वर्कशप

२०७९ फागुन १८, बिहिबार
साकोस अभियानको छवि जोगाउँदै नयाँ उचाईका लागि सिईओ वर्कशप

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना तथा नेफ्स्कून साकोस म्यानजर्स क्लबको व्यवस्थापनमा यही फागुन २४ र २५ गते काठमाडौंमा प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) आयोजना गर्दैछ । हरेक तीन वर्षमा आयोजना गरिँदै आएको गोष्ठीको थिम “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” तय गरिएको छ। गोष्ठीमा स्वदेशी तथा विदेशी विषय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ । देशभरका साकोसबाट गरी गोष्ठीमा करिब ५ सय जनाको सहभागिता रहने विश्वास नेफ्स्कूनले लिएको छ । प्रस्तुत छ, गोष्ठीको उद्देश्य, अपेक्षित उपलब्धि, तयारी लगायतको विषयमा केन्द्रित भएर नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपक पनेरुसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) किन?
नेफ्स्कूनले नेतृत्व, लेखा सुपरीवेक्षण समिति, युवा, महिला, व्यवस्थापन प्रमुखमा केन्द्रित भएर विभिन्न गोष्ठीहरु आयोजना गर्दै आएको छ । विगतमा कोभिडका कारण कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठी गर्न सकेनौं । यो गोष्ठीमा हामी साकोस व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौं । अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिघटनाको विषयमा छलफल हुनेछ । विश्व सहकारी अभियानले अपनाएका नवीनतम अभ्यासहरु आन्तरिकीकरण गरिने छ । सहकारीमा देखिएका समस्यालाई कसरी समाधान गरेर विश्वाश जगाउन सकिन्छ भन्ने विषयमा विचार विमर्श हुनेछ ।

विशेषगरि सहकारीमा सुशासनको विषयमा प्रश्न उठ्ने गरेको छ । सहकारीमा सुशासन कायम राख्न व्यवस्थापन प्रमुखको अत्यन्त महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो विषयलाई पनि उठाउने छौं । हामीले काम गर्ने तौर तरिकालाई परिवर्तन गर्नुका साथै प्रविधिकरण गर्न खोजिरहेका छौं । सदस्यलाई छिटो, छरितो र भरपर्दो सेवा प्रवाह गर्न प्रविधिको प्रयोग गर्ने कुरालाई पनि छलफलको विषय बनाएका छौं ।

पछिल्लो समय सहकारीप्रति अलि बढी नकारात्मक टिप्पणी हुन थालेको छ । साकोस अभियानको छवि जोगाउँदै नयाँ उचाईका लागि सिईओ वर्कशप आयोजना गरेका हौं । सहकारी ब्यवस्थापनको विषयमा हरेक क्षणमा नयाँ कुरा आईरहेको हुन्छ । त्यसैले हामीले हिजो काम गर्दा अपनाएका तौर तरिका, योजना, प्रविधि, ज्ञान, सिप, धारणा आदिलाई फराकिलो र समयसापेक्षित बनाएर लानुपर्छ भनेर गोष्ठी आयोजना गरेका हौं ।

हाल सहकारी क्षेत्र असहज परिस्थितीबाट गुज्रीएको छ । यो अवस्थाले गर्दा व्यवस्थापन प्रमुखहरुलाई मानसिकरुपमा पनि दवाब परेको छ । यस विषयमा पनि गोष्ठीमा छलफल हुन्छ की ?
साकोस अभियानमा ठूलो जनशक्ति छ । हामीले यो जनशक्तिमा उत्प्रेरणा जगाउनुपर्ने देखिएको छ । यस्तो अप्ठ्यारो अवस्थामा पनि तनावरहित भएर शान्त वातावरणमा कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ । उहाँहरुलाई काम गर्न उत्प्रेरित गर्नेछौं । सहकारीमा व्यवस्थापन प्रमुखहरु महत्वपूर्ण अंगकोरुपमा रहेका छन् । उहाँहरुले गोष्ठीमा सिकेका ज्ञान, सिप र प्रविधिविबारे संस्थाका अन्य कर्मचारीहरुलाई पनि सिकाउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

गोष्ठीमा श्रोत व्यक्ति, सहजकर्ता र टिप्पणीकर्ताहरु को-को हुनुहुन्छ ?
हामीले गोष्ठीमा यस क्षेत्रमा लामो अनुभव संगालेका, सफलता प्राप्त गरेका विषय विज्ञहरुलाई श्रोत व्यक्ति, कार्यपत्र प्रस्तुतकर्ता र कमेन्टेटरकोरुपमा बोलाएका छौं । कार्यक्रममा सहकारीका अन्तर्राट्रिय निकायका विज्ञहरुपनि आउँदै हुनुहुन्छ । विशेषगरि एसियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत र निवर्तमान प्रमुख कार्यकारी अधिकृतले गोष्ठीमा प्रस्तुतिकरण दिँदे हुनुहुन्छ । विश्व ऋण परिषदले पनि गोष्ठीमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी मुलुकभित्रका विषय विज्ञहरुले पनि प्रस्तुति दिनुहुनेछ ।

सहकारीमा व्यवस्थापकहरुले व्यवसायिक भएर ज्ञान, सिप, ज्ञमता प्रयोग गर्न पाउँदैनन्, संचालक समितिको दवावमा काम गर्नुपर्छ भन्ने गुनासो सुनिन्छ नि?
हामीले नेफ्स्कूनमार्फत भन्दै आईरहेको कुरा पनि यहि हो । संचालक समिति र व्यवस्थापनको भूमिका र जिम्मेवारी फरक-फरक छ । दुवै पक्षले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । हाम्रो कानुनले पनि यो विषय स्पष्ट पारिदिएको छ । अहिले कतिपयले कानुनमा भएको कुरा नबुझेर र कतिपयले कानुन मिच्ने नियत राखेकाले यस्तो अवस्था रहिरहेको छ । यस्तो गर्न हुँदैन भनेर जान्दा जान्दै पनि कानुन मिच्ने प्रवृत्तिले सहकारीमा समस्या देखिएको हो ।

सहकारीमा संचालक समिति, लेखा समिति, व्यवस्थापन र शेयर सदस्यले आ-आफ्नो जिम्मेवारी, उत्तरदायित्व र भूमिका बुझेर काम गर्ने हो भने यति धेरै समस्या उत्पन्न हुने थिएन । ब्यवस्थापकहरुले संचालक समितिको ‘डोमिनेशन’ महसुस गर्न हुँदैन । सहकारीमा व्यवस्थापनको भूमिका र महत्व थप महसुस गराउनुपर्छ भनेर पनि यो गोष्ठी आयोजना गरेका हौं । सहकारीमा संचालक समिति र व्यवस्थापनले सदस्य सुरक्षाको सिद्धान्त, सुशासनको सिद्धान्त, संचालनको सिद्धान्त र सुरक्षा तथा स्वस्थताको सिद्धान्तको ‘बेसलाईन’मा बसेर काम गर्ने हो भने कहिँ केही समस्या उत्पन्न हुँदैन ।

हाल साकोस अभियानलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा नेफ्स्कूनले कस्तो भूमिका खेलिरहेको छ?
हामीले त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुको पाठ्यक्रममा सहकारीलाई समेट्न छलफल चलाईरहेका छौं । प्राविधक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिईभिटी)संग सहकार्य गरेर ब्यवस्थापकहरुको चौथो ब्याचको कोर्स पुरा गरिसकेका छौं । हामीले यसरी एक सय जना भन्दा बढी क्षमतावान, दक्ष ब्यवस्थापकहरु उत्पादन गरेर पठाएका छौं । हामीले सहकारीमा व्यवस्थापकहरुको महत्वपूर्ण भूमिका हुने कुरा बुझेर नै नेपालमा सबैभन्दा पहिले यस्तो कोर्ष सुरु गरेका हौं । सहकारीमा दक्ष जनशक्तिको अभाव छ, जाने बुझेका कर्मचारी बस्दैनन् भन्ने धारणालाई चिर्न नेफ्स्कूनले योग्य, क्षमतावन, सक्षम व्यवस्थापन प्रमुख तयार पारेर पठाईरहेको छ ।

अभिलेख

लोकप्रिय