३० असार २०८३, मङ्गलबार

पाँच तारा साकोसको नाफा २ करोड ६२ लाख, संरक्षित पूँजी फिर्ता कोषको रकम दामासाही बाढ्ने

२०७७ असोज २६, सोमबार
पाँच तारा साकोसको नाफा २ करोड ६२ लाख, संरक्षित पूँजी फिर्ता कोषको रकम दामासाही बाढ्ने

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नवीनतम प्रविधिको प्रयोगमार्फत १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले असहज परिस्थितिका कारण सदस्यहरुको भौतिक उपस्थिति बिना नै साधारण सभा गर्नु पर्दा खल्लो महशुस भएको बताउनुभयो । सामान्य हेराइबाट नदेखिन अदृष्य भाइरसले संसारलाई नै चपेटामा पारेको र यसको प्रभावबाट कुनै क्षेत्र, वर्ग र समुदाय अछुतो नरहेको भन्दै यस्तो अवस्थामा पनि संस्थाले सदस्यहरुलाई निरन्तर सेवा दिन सकेको बताउनुभयो ।

संस्थाले उद्यमशीलता विकासका लागि उद्यम विकास खाता शुरु गरेको र कृषि तथा महिला उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अघि बढाएको अध्यक्ष पाठकले बताउनुभयो ।

प्राकृतिक विपत्तिहरु आउँदा त्यसलाई व्यवस्थापन गर्न प्राकृतिक विपत्ति कोषको स्थापना गरेको र उक्त कोषमा हालसम्म ७ लाख ७ हजार ९१६ रुपैया जम्मा भएको जानकारी उहाँले दिनुभयो । संस्थाले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमै एससिटि नेटवर्कमार्फत एटिएम सेवा शुरु गर्ने योजना रहेको बताउनुभयो ।

 

संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक विवरण पेश गर्दे शेयर पूँजी ६ करोड ३२ लाख २८ हजार, बचत संकलन ४१ करोड ६६ लाख ८७ हजार र ऋण लगानी ४६ करोड १ लाख २४ हजार पुगेको जानकारी गराउनुभयो ।

संस्थाले आव २०७६/७७ मा २ करोड ६२ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो आ.व.को भन्दा ६९ लाख ६ हजारले बढि रहेको छ । संस्थाको कुल कारोबार ५९ करोड ८ लाख ७० हजार पुगेको छ ।

 

संरक्षित पूँजी फिर्ता कोषलाई योगदानको आधारमा ऋण लगानीमा ६० प्रतिशत र बचत योगदानमा ४० प्रतिशत हुने गरी बाँडफाँड गर्नुपर्ने कानुनी व्यवस्था भएपनि संस्थाले पूँजी फिर्ता कोष कार्यविधि तयार गरिनसकेकाले शेयर अनुपातका आधारमा सक्रिय सदस्यहरुका लागि दामासाही रुपमा बाँडफाँड गर्ने भएको छ ।

अभिलेख

लोकप्रिय