बाख्रा बेचेर सहकारीका सदस्यले भित्राए तीन करोड
सिर्जना पन्त, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका ४ वटा सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर पौने ३ करोड रुपैयाँ गाउँ भित्राएका छन् ।
काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर पौने २ करोड र जैमिनी नगरपालिका वडा नं.२ र ३ मा सञ्चालित २ वटा सहकारीमा आवद्ध महिलाहरुले १ करोड ५ लाख रुपैयाँ गाउँ भित्राएका हुन् ।
काठेखोला गाउँपालिका–४ मा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्था तथा जैमिनी नगरपालिका वडा नं. २ मा सञ्चालित भाग्योदय सामाजिक उद्यमी महिला सहकारी र वडा नं. ३ मा सञ्चालित रुद्रताल सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिलाहरु विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा लागेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा सप्तरंगी सहकारी मार्फत ७ सय १३ गोटा खसी विक्री गरी ८६ लाख ६८ हजार २ सय ५७ रुपैयाँ आम्दानी गरिएको संस्थाका सह–प्रवन्धक नरमाया पुनले जानकारी दिनुभयो । बसन्त सहकारी मार्फत ७ सय १४ गोटा खसी बोका विक्री गरी ९२ लाख ९६ हजार ६५ रुपैयाँ आम्दानी गरिएको संस्थाका प्रवन्धक हेमा बिकले जानकारी दिनुभयो ।
सप्तरंगी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ९ सय ६४ केजी बराबरको खसी बोका विक्री गरेर १ लाख २ हजार ८ सय ३२ रुपैयाँ नाफा गरेको छ । यस्तै, बसन्त सहकारीले २१ हजार १ सय २७ केजी खसी बोका विक्री गरेर ९७ हजार ९ सय १५ रुपैयाँ नाफा गरेको छ ।
काठेखोलाका दुबै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रति केजी ४ सय ५० रुपैया“मा संकलन गर्ने र र ४ सय ५५ रुपैयामा विक्री गर्ने गरेका छन् । प्रति केजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएको सहकारीहरुले जनाएका छन् ।
सहकारीका शेयर सदस्य मध्ये कतिपयले २५ वटा सम्म बोका विक्री गर्ने गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रवन्धक मनकुमारी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, तंग्रामका खसी बोका बागलुङ बजार र आसपासका क्षेत्रमा विक्री हँुदै आएका छन् ।
यसैबीच, नजिकिदै गरेको दशै तिहारमा दुवै संस्थाले १ हजार गोटा खसी बोका विक्री गर्ने योजना बनाएका छन् । सप्तरंगी सहकारीले ३ सय ९५ र बसन्त सहकारीले ६ सय वटा खसी बोका विक्री गर्ने योजना छ ।
परियोजनाले दशै तिहार अर्थात सेप्टेम्बरदेखि नोभेम्बरसम्मका लागि ९ सय ९५ गोटा विक्रीका लागि लक्ष्य लिएर समन्वय गरिएको बिवाइसी बागलुङका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो ।
हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र भीमापोखरा युवा क्लव (बिवाइसी) बागलुङको व्यवस्थापनमा साविक तंग्राम गाविसमा विगत ८ वर्षदेखि पशु वस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सवलकीरण परियोजना सञ्चालनमा छ ।
उक्त परियोजनाबाट सप्तरंगी सहकारी मार्फत २ सय ९६ जना र बसन्त सहकारी मार्फत ६ सय ११ जना शेयर सदस्यलाई आयआर्जनका काममा केन्द्रीत गरिएको छ ।
दमेकको रुद्रताल सहकारीका शेयर सदस्यहरुले ८ सय ४६ बोका विक्री गरी ५५ लाख २१ हजार २ सय रुपैयाँ गाउँ भित्राएको संस्थाका प्रबन्धक तारा पुनले बताउनुभयो । त्यसैगरी भाग्योदय सहकारीका शेयर सदस्यहरुले ४९ लाख ६८ हजार ६ सय रुपैयाँ गरी चारवटा सहकारीले वार्षिक २ करोड ८५ लाख १६ हजार १ सय २२ रुपैया रकम गाउँ भित्र्याएका छन् ।
दमेकको रुद्रताल सहकारीले गत आर्थिक वर्षमा बाख्रा बेचेर ८४ हजार नाफा गरेको छ र सहकारीका ४ सय २३ जना सेयर सदस्यहरुले बाख्रा पाल्दै आउनुभएको छ । सेयर सदस्यबाट प्रति केजी ४ सय ५० रुपैयाँका दरले सहकारी खरिद गरी ४ सय ५५ रुपैयाँका दरले बजारमा विक्रि वितरण गर्दै आएको प्रबन्धक पुनले जानकारी दिनुभयो । सहकारीले यो वर्ष भरी १२ सय र दशैमा मात्र ६ सय बाख्रा बेच्ने लक्ष्य राखेको छ ।
भाग्योदय सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध २ सय सेयर सदस्यले बाख्रा पाल्दै आएको संस्थाका प्रबन्धक प्रगति शर्माले बताउनुभयो । मासिक ४० वटा सम्म बाख्रा विक्रि हुने गरेको उहाँको भनाई छ । बागलुङ सँगै पर्वतको कुश्मामा समेत बाख्रा विक्रि गर्ने गरेको उहाँले बताउनुभयो ।
सेयर सदस्यबाट प्रति केजी ४ सय ५० रुपैयाँका दरले सहकारी खरिद गरी ४ सय ५५ रुपैयाँका दरले बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीका सदस्यहरुको पछिल्लो समय भैसी पालनमा आकर्षण बढ्न थालेको भन्दै यो वर्ष दशैंमा १ सय १५ र वर्ष भरी ७ सय बाख्रा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेको संख्या समेत बढ्दै गएको छ । आजभोली सहकारीमा आवद्ध रहेकाहरुको घरमा थोरै भएपनि २ वटा बाख्रा अनिवार्य रुपमा पाल्न थालिएको छ ।
साभारः नेपाल समाचारपत्र
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार