३० असार २०८३, मङ्गलबार

सहकारी : जनताको सुख दुःखको साथी

२०७७ असोज १३, मङ्गलबार
सहकारी : जनताको सुख दुःखको साथी

काजी श्रेष्ठ

काठमाडौं, १३ असोज

विपदको समयमा सहकारी संस्थाले सदस्यहरुमा खेल्नुपर्ने भूमिकामा उल्लेखनीय रहेको पाइएको छ । सदस्य र समुदायिप्रति सहकारी संस्था सधैं जिम्मेवार छन् । महामारीको रुपमा रहेको कोरोना भाइरसको विषम परिस्थितिमा सहकारी संस्थाले गरेको काम यसका उदाहरण हुन् । अहिलेको अवस्थामा सदस्यहरुलाई अत्यावश्यक सम्पूर्ण सेवा प्रवाह गर्न सहकारीले कम्प्रमाईज गरेका छैनन् ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्ना सदस्यलाई सेवा प्रवाह गर्न र समुदाय प्रति सहकारीले साथ छाडेका छैनन् । यस बीचमा सहकारीले धेरै काम गरेका छन् । सदस्यलाई निरन्तर सेवा, राहतका प्याकेज, ब्याज छुट, हर्जना छुट लगायतका सेवा सदस्यलाई प्रवाह गरेका छन् । सदस्य मात्र नभई सहकारीले समुदाय र राष्ट्रको सेवामा समेत सर्मपित बनेका छन् । विपन्न नागरिकहरुलाई खाद्यान्न अभाव नहोस भन्दै खाद्यान्न सहयोग, रगतको अभाव नहोस् भन्दै संस्थाको अगुवाइमा रक्तदान कार्यक्रम, जनचेतना कार्यक्रम, स्वास्थ्य उपकरण सहयोग, तीनै तहका सरकारलाई सहयोग लगायतका अनुकरणीय काम सहकारीले गरेका छन् ।

विषम परिस्थितिका कारण सदस्यलाई कार्यालयबाट सेवा दिन नसक्ने भएपछि सहकारीले कर्मचारी खटाएर सदस्यको घरमै निक्षेप भुक्तानी दिने व्यवस्था मिलाएका थिए । सहकारीमा जम्मा भएका पैसा संस्थाले घर घरमै भुक्तानी पाउँदा सदस्यहरुले संस्थाप्रति थप विश्वास गर्ने वातावरण बनेको थियो । यति मात्र नभई सहकारी संस्थाले सदस्यहरुलाई पैसा सापटी समेत दिए । नवलपुर स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई दैनिक गुजारा समस्या परेमा तीन महिनाका लागि १५ हजार सापटी दिने निर्णय गरेको छ । त्यस्तै सदस्यलाई औषधोउपचार आवश्यकताका लागि ५० हजार सम्मको बील भुक्तानी गरिदिने लगायतका सुविधा संस्थाले प्रदान गरेको छ ।

त्यसैगरी थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तीन महिनाका लागि १५ हजारसम्म निर्व्याजी ऋण प्रदान गर्ने निर्णय गरेको थियो । सदस्य उपचार खर्चमा सदस्य राहत कोषको रकमबाट पछि शोधभर्ना गर्ने गरी २५ हजार सम्म भुक्तानी गर्न सकिने, व्याज तथा किस्ताको रकमको समय थप गरेको थियो । त्यस्तै राष्ट्रिय आविश्कार केन्द्र, विपद् व्यवस्थापन कोषमा रकम सहयोग लगायतका काम चन्द्रागिरि साकोसले गरेको थियो ।

पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवधिमा सदस्यहरुलाई ६३ लाख ४३ हजार रुपैयाँ ब्याज छुट दिएको छ ।

कोभिड १९ को महामारीको असरलाई मध्येनजर गर्दै असार मसान्तसम्म ब्याज तिर्ने सदस्यलाई उक्त रकम छुट दिएको हो । संस्थाका १ हजार १० जना सदस्यहरुले ब्याज रकममा १० प्रतिशत छुट पाएका छन् । संस्थाले लकडाउन अवधिभर किस्ता ढिला भए वापत लाग्ने सम्पूर्ण हर्जाना समेत छुट गरेको थियो । लकडाउन अवधिलाई मध्यनजर गर्दै किस्ता भुक्तान गर्ने अवधि ६ महिना थप समेत गरेको थियो ।यी त उदाहरण मात्र हुन् । यस्ता धेरै सहकारीहरु छन् जसले विपद्मा सदस्य र समुदायको सेवा गरिरहेको छ ।

सहकारी संस्थाले सदस्यहरुलाई खोजी खोजी राहात बाड्न थाले त कोही वित्तिय रुपमा कारोबारलाई कसरी प्रवाभकारी बनाउने र सदस्यलाई गुणस्तरिय सेवा दिने भन्ने मै केन्द्रित भए । सहकारीका कर्मचारीलाई सरकारले सवारी पास उपलब्ध नगराउँदा पनि घरदैलो सेवालाई सहकारीले निरन्तरता दिए । धेरै सहकारीकर्मी र कर्मचारीले यसबीचमा दुःख पाएका छन् । ट्राफिक प्रहरीले बीच सडकमै घण्टौं राखिदिँदा पनि सहकारीकर्मी र कर्मचारी थाकेनन्, निरन्तर सेवा प्रवाह गरिरहे । ६ महिना लामो बन्दाबन्दी समयमा सहकारीहरुले आफ्नो क्षमता र गच्छे अनुसारको सहयोगमा कुनै कञ्जुस्याँई नगरेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले बताउनुहुन्छ । उपभोक्ता सहकारीहरुले सुलभ पसलहरु सञ्चालन गर्दै र सञ्चार सहकारीहरुले सचेतनामूलक सूचना आदान प्रदान गरेर, स्वास्थ्य सहकारीले विभिन्न ठाँउमा स्वास्थ्य सेवा दिएर, कृषि सहकारीले किसानको उत्पादन सोझै किनेर र वित्तिय सहकारीले घर दैलो र प्रविधीको प्रयोग गरेर योगदान पुर्याएको कँडेललेको भनाई छ । यता बचत तथा ऋण सहकारीहरुले वित्तीय परिचालन र आर्थिक सहायताका कार्यक्रम अघि बढाएका आफ्ना सदस्यहरुलाई सहयोग पुर्याएका थिए ।

सहकारी महासंघ, केन्द्रिय संघ, सहकारी बैंक, जिल्ला संघहरुले पनि आफ्ना सदस्यको हितमा काम गरेका छन् । माहामारीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्नाका लागि विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र जिल्ला स्तरीय संघहरुले विपत् ब्यवस्थापन कोष समेत स्थापना गरेका छन् । कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको समयमा बचत तथा ऋण सहकारी संस्थाका जिल्ला स्तरीय छाता संघहरुले पनि परिस्थिति सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । सदस्य संस्थाहरुको कार्यालय संचालन गर्न आवश्यक पासका लागि प्रशासन कार्यालयमा ‘लबिईङ्ग’ गर्नुका साथै तरलता व्यवस्थापनका लागि कोष खडा गरेका छन् ।

सहकारी संस्थाले दिनसक्ने सम्मको सेवा यस अवधिमा दिएको पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ बताउनुहुन्छ । सहकारी संस्थाको सेवासँगै सदस्यहरुले पनि संस्थालाई सहयोग गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । सदस्यले लगेको ऋणको ब्याज, किस्ता, बचत समेत राखेर सदस्यहरुले संस्थालाई सहयोग गरेको उहाँ बताउनुहुन्छ । ‘कोरोना महामारीमा देशभरका सहकारीले कुनै न कुनै रुपमा सहयोग गरेका छन्’, उहाँले भन्नुभयो, ‘स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई पनि प्रत्यक्ष सहयोग गरेका छन् ।’ सहकारीका केन्द्रिय संघहरुको भूमिका पनि राम्रो खेलेको उहाँको भनाई छ । अप्ठेरो परेको समयमा सहकारीले साथ दिने रहेछ भन्ने भान सदस्यहरुमा परेको उहाँको भनाई छ ।

 

सहकारीका सदस्यहरु पनि संस्थाप्रति थप विश्वास गर्ने वातावरण सृजना भएका छन् । यस बीचमा धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत केन्द्रित भए । प्रविधिमार्फत हुने कारोबारलाई संस्थाले जोड दिएका थिए । खातामा भएको पैसा ट्रान्सफर, बिजुलीको बिल, रिचार्ज, बैंक खातामा पैसा ट्रान्सफर, वालेट लोड जस्ता सेवा सहकारीले यसबीचमा थप गरेका थिए ।

अभिलेख

लोकप्रिय