३० असार २०८३, मङ्गलबार

जोरविजोर लागू गरी यातायात चलाउन सुझाव, सहकारी खोल्न सहज हुने

२०७७ भदौ २३, मङ्गलबार
जोरविजोर लागू गरी यातायात चलाउन सुझाव, सहकारी खोल्न सहज हुने

काठमाडौं, २३ भदौ

उपत्यकामा जारी निषेधाज्ञालाई कडाई गर्नुपर्ने मागबाट उपत्यकाको नगरपालिका फोरम एकाएक यूटर्न भएको छ ।

फोरमको मंगलबार बसेको उपत्यकाको नगरपालिका फोरमको बैठकले भदौ २५ गतेदेखि जोरविजोर प्रणालीअनुसार यातायात संचालन गर्न माग गरेको हो ।

फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले निषेधाज्ञा खुकुलो बनाए पनि स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्ड पालनामा कडाई गर्नुपर्नेमा बैठकले जोड दिएको बताउनुभयो ।

फोरमले काठमाडौं भित्रिने नाकाहरुमा थप कडाई गर्न सेना परिचालन गर्नुपर्ने माग समेत गरेको छ । हालसम्म नाकामा प्रहरी मात्र परिचालन हुँदा निषेधाज्ञाको बेलामा पनि दैनिक २ हजार हाराहारीमा मानिस भित्रिरहेकोले नाकाको व्यवस्थापन सेनाले लिनुपर्ने मेयरहरुको निश्कर्ष रहेको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख (प्रमुख जिल्ला अधिकारीहरु) लाई निषेधाज्ञा खुकुलो पार्न सुझाव दिएको फोरम बिहीबारदेखि उपत्यकाका सबै वडा कार्यालयबाट निषेधाज्ञा अवधिभर रोकिएका सबै सेवा पूर्ववतः अवस्थामा सुचारु गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच, राससका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन एक दिन बाँकी रहँदा आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल थालेको छ । सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग आज छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जनाइएको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा आज बिहानैदेखि विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिनुभयो । उपत्यकाको नगरपालिकाका प्रमुख तथा प्रतिनिधिसहित तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पनि छलफल भएको छ । यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसेको र उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिसँग समेत सुझाव लिइएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

यसैबीच जोरबिजोर लागू भए सहकारी संस्थाहरु पनि खुला गर्न सहज हुनेछ ।

काठमाण्डौ उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । भोलि बुधबार राति १२ बजेदेखि निषेधाज्ञाको अवधि समाप्त हुँदैछ ।

अभिलेख

लोकप्रिय