१० साउन २०८३, आईतवार

थप दुई विषय पठनपाठनको तयारीमा नेफ्स्कून

२०७७ साउन २५, आईतवार
थप दुई विषय पठनपाठनको तयारीमा नेफ्स्कून

काठमाडौं, २५ साउन

सहकारी व्यवस्थापक विषयको कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको नेफ्स्कूनले थप दुई विषयको कक्षा सञ्चालनको गृहकार्य पनि अघि बढाएको छ । नेफ्स्कूनको शिक्षा तथा स्रोत केन्द्र उपसमितिको २३ साउनमा बसेको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त बचत तथा ऋण परिचालन र रिसेप्सन तथा नगद परिचालक विषयको औपचारिक पठनपाठन कार्यक्रमको शुल्क तय गरी अन्तिम निर्णयका लागि सञ्चालक समितिको आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले ३ वटै छोटो अवधिका तालिम कार्यक्रम सञ्चालन निर्देशिका–२०७७ पनि तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश गर्ने निर्णय गरेको छ । नेफ्स्कूनले सीटीईभीटीसँगको सम्बन्धनमा सुरु गर्न लागेको सहकारी व्यवस्थापक कार्यक्रमको औपचारिक शुभारम्भ संघको ३३ औं स्थापना दिवसको अवसरमा साउन ३२ गते गर्दैछ ।

नेपालमै सहकारीका निकायबाट सञ्चालन गर्न लागिएको यो पहिलो औपचारिक पठनपाठन हुनेछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको नेफ्स्कूनका महासचिव एवम् उपसमिति संयोजक दामोदर अधिकारीले बताउनुभयो । सहकारी व्यवस्थापक कक्षाको प्रवेश परिक्षाको नतिजा सार्वजनिक भइसकेको बताउँदै महासचिव अधिकारीले छिट्टै कक्षा प्रारम्भ हुने जानकारी गराउनुभयो । उहाँले सीटीईभीटीको सम्बन्धमा थप २ विषयको पठनपाठन पनि छिट्टै सञ्चालनको तयारीमा हामी जुटेको जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय