१० साउन २०८३, आईतवार

पहिलो विशिष्टिकृत सहकारी संघ स्थापना, दूध कारखाना चलाउने योजना

२०७७ असार ३, बुधबार
पहिलो विशिष्टिकृत सहकारी संघ स्थापना, दूध कारखाना चलाउने योजना

काठमाडौं । नेपालमै पहिलोपटक दूग्ध व्यवसाय गर्ने उद्देश्यका साथ सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ स्थापना भएको छ । दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने, दूधजन्य परिकार बनाउने उद्देश्यले विशिष्टिकृत सहकारी संघ स्थापना गरिएको हो । संघ प्रदेश स्थित सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएको छ ।

संघमार्फत पाउडर दूध कारखाना स्थापना हुने संघको तदर्थ समितिका सञ्चालक रामचन्द्र उप्रेतीले बताउनुभयो । उहाँका अनुसार ३० करोड लागतमा कारखाना स्थापना हुन लागेको हो । त्यसमा सहकारीको १० करोड र प्रदेश सरकारको २० करोड रहनेछ । दूध कारखानाकालागि प्रदेश सरकारले आगामी आवमा १३ करोड उपलब्ध गराउने बजेटमा उल्लेख छ । दर्ताका क्रममा सहकारी संस्थाहरुले एक करोड लगानी गरीसकेका छन् । तीन महिनाभित्र सञ्चालक समिति चयन गरेर कारखाना स्थापना गर्ने उप्रेतीले बताउनुभयो ।

प्रदेशका झापा, मोरङ, इलाम, धनकुटा, तेह्रथुमका सहकारीले दूग्ध क्षेत्रमा उल्लेख्य काम गरेका छन् । दूध क्षेत्रमा काम गर्ने सबै सहकारी समेटेर पाउडर दूधसँगै विभिन्न परिकार उत्पादन गर्ने संघको योजना छ । संघ स्थापना गर्न संस्थाले एक लाखदेखि २० लाखसम्म शेयर लगानी गरेका छन् । प्रदेशमा दूधको कारोबार गर्ने सबै सहकारी समेटिने बताउनुभयो । अन्य प्रकृतिका सहकारीले पनि विशिष्टिकृत संघमा लगानी गर्न सक्ने छन् । तत्कालका लागि सुनसरीको तरहरामा कारखाना स्थापना गर्ने तयारी छ । एक वर्षभित्र कारखाना सञ्चालन हुने छ ।

चकलेट बनाउन चकलेट फ्याक्ट्रीसमेत स्थपना गर्ने, डेरी ह्वाइटनर, बेबी दूध, ल्याक्टोजीन बनाउन सकिने उप्रेतीको भनार्इ छ ।

त्यस्तै प्रदेश १ मै तरकारी तथा फलफूलको बजारीकरणका लागि अर्को विशिष्टिकृत संघ दर्ता तयारी सुरु भएको छ । उक्त संघका लागि प्रदेशले १८ करोड बजेट विनियोजन गरेको छ । त्यसमा ३० वटा सहकारीले १ करोड ३२ लाख संकलन गरिसकेका छन् । यसबाट तरकारी उत्पादन हुने तर बजार नहुने समस्या अन्त्य हुने पोखरेलेको भनाइ छ । अहिले सहकारी बजार नहुँदा किसानले उचित मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने एवम् विचौलियाबाट दुवै ठगिनुपर्ने अवस्था छ । सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ मा विशिष्टकृत सहकारी संघ स्थापना गर्न सक्ने व्यवस्था छ ।

अभिलेख

लोकप्रिय