१८ वैशाख २०८३, शुक्रबार

सहकारी क्षेत्रमा युवालाई अवसर न्यून

२०७७ जेठ २७, मङ्गलबार
सहकारी क्षेत्रमा युवालाई अवसर न्यून

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले सहकारीमा र युवा विषयक भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघकी (आइसीए) की ग्लोवल बोर्ड डाइरेक्टर ओमदेवी मल्ल, आइसीए युथ नेटवर्क अमेरिका, एसिया र नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाई वक्ताको रुपमा रहनु भएको थियो । कार्यक्रमको सहजिकरण सहकारी पत्रकार समाजकी कोषाध्यक्ष शर्मिला ठकुरीले गनुभएको थियो भने स्वागत मन्तव्य समाजका अध्यक्ष खिलानाथ दाहालले राख्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुको विचार

 

ओमदेवी मल्ल
ग्लोवल बोर्ड सदस्य, आइसीए 

धेरैजसो देशहरुको समस्या एकै खालको पाएँ । सबै देशमा भविष्यमा गरिने कामहरुको योजना बनाउने कुरामा पनि समस्या भएको पाएँ । आइसीएले सन् २००३ मा युवाहरुको नेटवर्क गठन गरेको हो ताकी उनीहरुले पनि आफ्ना कुराहरु आइसीएमा निर्धकका साथ राख्न सकुन् । साथै उनीहरु भविष्यका सहकारीका नेता बन्न सकुन् ।

अर्को कुरा युवाहरुले न्यायको लागि, वातावरणको सुरक्षा र दन्डहिनताको अन्त्य गर्नका लागि आवाज उठाउन सक्छन् । आइसीएको युवा नेटवर्कले गत अक्टुवरमा भएको आइसीएको बार्षिक साधारणसभामा ४ वटा रेजुलेसन पास गरेको थियो । युवाहरुको क्षेत्रिय कमिटिलाई बलियो बनाउने र उनीहरुको भोट दिन पाउने अधिकार सहितको क्षेत्रीय आइसिए बोर्डमा सहभागिता गराउने, युथ एक्सन प्लानलाई विभिन्न ठाउँमा परिचित गराउने, युवाहरुलाई आइसीएको कार्यक्रममा सहभागी गराउनका लागि सहयोग स्वरुप बजेट विनियोजन गर्ने र ग्लोवल युथ नेटर्वकलाई विस्तार गर्नको लागि विभिन्न प्रकारका सहज विधिहरु बनाउने हो ।

नेपालमा पहिलो काम भनेको सहकारीमा युवाहरुको सहभागिता बढाउने हो, अर्को उनीहरुलाई सहकारीको महत्व र सहकारीले कसरी मानिसको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरणमा सहयोग पुर्याउँछ भन्ने विषयमा जानकारी दिने हो । त्यस्तै युवाहरुलाई भविष्यमा सहकारीको नेताको रुपमा विकास गर्नु पनि राष्ट्रिय सहकारी महासंघको नीति छ ।

महासंघले पनि सन् २०१३ देखि युवा समिति बनाएर युवाहरुलाई सहकारीमा आवद्ध हुनका लागि घच्घच्याइ रहेको छ । त्यस्तै विभिन्न मन्त्रालयसँग मिलेर सहकारीको बारेमा विद्यालय र कलेज तहमा नै शिक्षा दिन थालेको छ । युवाहरुलाई सहकारीमा आवद्ध गराउनका लागि धेरै समस्याहरु पनि छन् । हामीहरु विभिन्न निकायसँग युवामैत्री नीति र योजनाहरु ल्याउनका लागि वकालत गरिरहेका छौ । हामीले सहकारीको पाठ्यक्रम पनि विकास गरिरहेका छौ । फेरी पनि म मेरोतर्फबाट युवाहरु विकासको लागि आइसिए र नेपालको महासंघमा पनि लविङ गर्दछु ।

बद्रीकुमार गुरागाई
प्रमूख कार्यकारी अधिकृत, राष्ट्रिय सहकारी बैंक

नेपालका युवाहरु सहकारी कसरी चल्छ भन्ने बारे जानकार छैनन् । नेपालका युवाहरुको पहुँच सहकारीमा छैन । उनीहरु कुनैपनि सहकारीको संचालक भएर आउन सक्दैनन् । सहकारीको माध्यमबाट युवाहरुले विजनेश गर्न सक्दैनन् किनकी नेपालमा धितोमा मात्र कर्जा प्रवाह गर्ने चलन छ । युवाहरुसँग धितो हुँदैन । मैले स्टार्टअप विजनेशको लागि युवाहरुसँग काम गर्न खोजे तर सकिन । नेपालमा १६ बर्षभन्दा मुनीका युवाहरु सहकारीमा सदस्यता लिन पाउँदैनन् । जबसम्म उनीहरु सदस्य हुदैनन् तबसम्म सहकारीमा आवद्ध हुन पाउँदैनन् सहकारी ऐनमा नै यस्तो व्यवस्था गरिएको छ ।

नेपालमा सहकारीमा युवाहरुको सहभागित बढाउनका लागि तीनवटा समस्याहरु रहेको छ । पहिलो कानुनी व्यवधान, दोस्रो अशिक्षित समाज, युवा नेतृत्वहरु राजनीतिमा संलग्न हुनु हो । विस्तारै नेपालले युवाहरुको यस विषयमा वकालत गरिरहेको छ । सहकारीको केन्द्रिय संघहरुले पनि उनीहरुको सन्चालक समितिमा युवा कमिटी गठन गरिरहेका छन् । राष्ट्रिय सहकारी बंैकले पनि युवाहरुलाई सहकारीमा संलग्न गराएर शिक्षा दिन लागिरहेको छौं । हामीले योजना बनाएर सञ्चालक समितिबाट पास गरिसकेका छांै । हाम्रो योजना के हो भने नेपाल भरका स्कुल स्तरमा नै अनौपचारिक सहकारी क्लब गठन गर्ने, त्यो क्लबले सहकारी सम्बन्धी निबन्ध लेखन, वादविवाद जस्ता अतिरिक्त क्रियाकलापहरु गर्नेछन् । जसले गर्दा उनीहरु किशोर अवस्थादेखि नै सहकारीसम्बन्धी बुझ्न सक्छन् ।

ति क्लबहरुको वित्तिय व्यवस्थापनको जिम्वेवारी स्थानीय सहकारीलाई दिने योजनाका साथ हामी अगाडी बढीरहेका छौं । यो काम यसै आर्थिक बर्षदेखि सुरु हुन्थ्यो तर कोरोनाको कारण सम्भव भएन । यस्तै हामीले युवालाई अनिवार्य रुपमा संचालक समितिमा ल्याउने र युवाहरुको नेशनल फेडेरेसन पनि बनाउने गरी काम गरिरहेका छौं । क्लबहरुबाट छानिएर आएका युवाहरुलाई हामीले राष्ट्रिय च्यापियन बनाउने छौं, जसले युवा र सहकारीलाई एकीकृत गरेर अगाडी लैजानको लागि नीतिगत तहमा वकालत गर्न सक्छ । एक बर्षमा दुई हजार जति युवा नेताहरु यो तवरबाट जन्माउने सोंचमा छौं ।

यदी स्थानीय रुपमा नै सहकारीको बारेमा युवाहरुमा जानकारी हुँदैन भने ग्लोबल रुपमा कसरी अगाडी बढ्न सक्छन् ? हामीले बनाएको योजनाले सहकारी अभियानबाट विस्तारै सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणमा ठूलो मद्दत पुग्नेछ ।

 

एन्जेलिका सोवरेन्स
प्रेसिडेन्ट, आइसीए युथ नेटवर्क अमेरिका क्षेत्र

मेक्सिकोमा पनि युवाहरुले संचालन गरेको सहकारीहरु छैनन् त्यसैले युवाहरुलाई सहकारीमा लाग्न प्रेरित गर्नुपर्छ । मेक्सिकोमा सहकारीका समाचारहरु मुलधारका मिडियाले स्थान दिदैनन् जसका कारण सर्वसाधरणले सहकारी के हो भन्ने बारे बुझ्न सकिरहेका छैनन् । त्यसैले अमेरिकी युवाहरुलाई सहकारीको बारेमा जनचेतना जगाउनुका साथै सहकारीको बारेमा जानकारी पनि दिनु आवश्यक छ । हामीले सोही गरिरहेका छौं । यदी साँच्चै नै सहकारी अभियानको बारेमा जानकारी पाए भने उनीहरु सहकारीप्रति आकर्षित हुन्छन् ।

तपाईहरुले युरोप र अमेरिकाहरुको सहकारीको मोडल हेर्नुभयो भने यो एक प्रकारको विजनेशको रुपमा अगाडी बढेको देखिएको छ । यदी कुनै युवाले सहकारी खोल्न खोज्यो भने त्यो समाजमा अनौठो मानिन्छ । यसलाई गरिवहरुको विजनेशको रुपमा लिइने गरेका छन् ।
मेक्सिकोमा सरकार सहकारीलाई महत्व दिन चाँहदैन । युवा पुस्ताहरु जब उनीहरु पढाइ सक्छन् तब सहकारी भन्दा बाहिर गएर पैसा कमाउन चाहन्छन् । हामीले युवाहरुको मनस्थिति बदल्नु जरुरी छ । पहिले सहकारीकर्मी जन्माउनुपर्छ अनिमात्र सहकारी संस्था जन्माउनुपर्छ । हामीले युवाहरुको मनस्थितिसँग काम गर्नु जरुरी छ । यहाँका जनताहरु पनि शिक्षित छैनन् त्यो हाम्रो समस्या हो । आइसिए अन्तर्गतको अमेरिका युथ कमिटीको प्रेसिडेन्ट भएको नाताले के भन्छु भने हामी पुल हौं, केही वर्षअघि अमेरिकी नेटवर्कमा युथ पोलिसीको विकास गरेका थियौं । त्यो पोलिसीमा सबैले हस्ताक्षर गरेका थिए र, त्यो पोलिसीले सहकारीका बोर्ड मेन्मरमा युवाहरुलाई ल्याउनका लागि हाम्रो लागि ठूलो काम गर्यो ।

असान अलि ठाकुर
अध्यक्ष, आइसीए युथ नेटवर्क एसिया क्षेत्र

धेरै एसियनहरुले अंग्रेजी भाषा बुझ्न सक्दैनन् । एसियन क्षेत्रमा सहकारीको बारेमा जनताविच उपयुक्त सन्चार गर्नका लागि भाषा नै पहिलो बाधा हो । त्यसैले हामीले पहिले स्थानीय भाषामा नै जनतालाई सहकारी अभियान के हो र कसरी अगाडी बढाउन सकिन्छ भनेर युवाहरुलाई बुझाउनु पर्छ ।

जबसम्म मानिसहरु सहकारीको बारेमा जानकारी राख्दैनन् तबसम्म उनीहरुलाई सहकारी शिक्षाको आवश्यकता हुँदैन । जनचेतना पहिलो प्राथमिकता हो त्यसपछि शिक्षा र संचार आउँछ । हामीले आइसीएसँग जहिले पनि युवाहरुको आवाजलाई स्थान दिनुपर्ने र युवाहरुलाई आफैले निर्णय गर्नसक्ने क्षमताको विस्तार गर्नुपर्ने कुराहरुमा आवाज उठाउँदै आएका छांै । त्यस्तै हामीले पनि एसिया प्यासिफिकको बोर्ड कमिटिमा भोट दिन पाउनुपर्छ भनेका छौं । सहकारी डेमोक्रेसिमा विश्वास गर्ने संस्था हो । त्यसैले सबैले आफ्नो भोट दिन पाउनुपर्छ । तर हामीलाई छोडिएको छ ।

अभिलेख

लोकप्रिय