युएनडीपीले सहकारी अभियानसँग मिलेर काम गर्ने
काठमाडौं, ९ जेठ
राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संयुक्त आयोजनामा सहकारी अभियान र युएनडीपीबिच कोरोना भाइरसले सहकारी क्षेत्रमा पारेको प्रभाव र भावि कार्य दिशाको विषयमा छलफल भएको छ ।
बिहीबारका अनलाइन छलफलमा युएनडीपी नेपालकी आवासिय प्रतिनिधि आइशानि मेदगंगोडा लाबेले कोभिड १९ को महामारीका कारण सिर्जित चुनौती सामना गर्न युएनडीपीले सहकारी अभियानसँग मिलेर काम गर्ने बताउनुभएको छ ।
उहाँले सहकारी क्षेत्रमार्फत कोभिड १९ बाट सिर्जना हुने चुनौतीको सामना गर्न सकिने औल्याउनुभयो । उहाँले नेपालमा भारतलगायत वैदेशिक रोगजारमा गएका ठूलो मात्रामा श्रमिक स्वदेश फर्कने भएकाले उनीहरुलाई रोजगारको सिर्जना गर्नका लागि नेपालको ठूलो नेटवर्क सहकारीको प्रयोग गर्न सकिने औल्याउदै भन्नुभयो, ‘तत्काललाई भने साना किसानहरुको उत्पादित बस्तुको बजारीकरणमा नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको साझेदारीमा संचालन भइरहेको सहकारी बजार विकास कार्यक्रमबाट समेत सहयोग गर्ने छौं ।’ उहाँले कोभिड १९का कारण प्रभावित भएको पर्यटन क्षेत्रमा समेत सहकारीको नेटवर्कले सहयोग गर्न सक्ने भएकाले त्यसमा समेत मिलेर काम गर्न सक्ने बताउनुभयो । त्यसैगरी कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि भइरहेको लकडाउनका समयमा घरेलु हिंसा बृद्धि भएकाले त्यसलाई रोक्नका लागि सहकारीसँग युएनडीपीले साझेदारी गर्न सक्ने औल्याउनुभयो ।
महासंघका अध्यक्ष मिनराज कँडेलले २०७६ चैत ११ गते देखि भएको लकडाउनका समयमा सहकारीले तरकारी, फलफुलको बजारीकरण गरेकै कारण यसको मुल्य नियन्त्रण भएको र विषम परिस्थितिमा सहकारीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग मिलेर काम गरिरहेको बताउनुभयो । उहाँले वित्तिय सहकारीका लागि तरलता व्यवस्थापन गर्ने विषयमा महासंघले छलफल गरिरहेको बताउनुभयो ।
महासंघका निवर्तमान अध्यक्ष केशव बडालले देशभरिका २ लाख ४७ हजार ७ सय बढि अगुवा सहकारीकर्मीहरुले लकडाउनका समयमा स्थानीय जनप्रतिनिधिसँग हातेमालो गरेर कार्य गरिरहेको बताउनुभयो । पछिल्लो समयमा बाँझो भएका जमिनमा खेती शुरु भएको बताउँदै भन्नुभयो,‘तर बिउ विजनको ठूलो संकट भएकाले त्यसलाई समाधान गर्नेतर्फ सबै निकायको फोकस हुनेपर्ने देखिन्छ । जसले भोलिको दिनका चुनौतीसँग सामना गर्न सकिने छ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले महासंघले लकडाउनको अवधिमा गरेको क्रियाकलापको विषयमा जानकारी गराउँदै अभियानकोतर्फबाट नमुनाका रुपमा छुट्टै कोरोना रोकथान सहकारी केन्द्रको स्थापना भएको र यसले नेपालको सहकारीलाई विश्वमाझ नयाँ छवि निर्माण गर्न सहयोग पुगेको बताउनुभयो ।
महासंघका उपाध्यक्ष रमेश पोख्ररेलले उत्पादित बस्तुको भण्डारण र बजार व्यवस्थापनमा जोड दिनुभयो । महासंघका संचालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले खाद्य संकट हुन नदिन सहकारीमार्फत गाउँगाउँमा मल विउ पु¥याउनुपर्ने, खेतीमा प्रविधिको प्रयोग, ७ प्रदेशमा ठूला आधुनिक नर्सरी स्थापना, खाद्य बैंक, बजारीकरण, उत्पादित बस्तुको विविधिकरण गर्ने उद्योग संचालनका लागि संघले कार्य गरिरहेको बताउनुभयो । महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले वित्तिय सहकारीमा प्रविधिको प्रयोगमा जोड, तरलता व्यवस्थापनका लागि बैंकले कोषको व्यवस्थापन गरेको र सरकारले कम ब्याजदरको पैसा सहकारीलाई उपलब्ध गराएको खण्डमा कोभिड १९बाट सिर्जित समस्या समाधानका लागि सहयोग हुने बताउनुभयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले डिजिटल फाइनासिङ्गमा सहकारीलाई जान सहज वातावरण बनाइदिनुपर्ने कुरा राख्नुभयो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले दुधमा देखिएको समस्या र समाधानका विषयमा चर्चा गर्नुभयो भने नेपाल मौरीपालान केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले मौरीपालनका लागि परेको असरको विषयमा चर्चा गर्नुर्भको थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारीले विदेशबाट फर्कने श्रमिकलाई उनीहरुको ज्ञान र सिपका आधारमा बर्गिकरण गरी त्यहि अनुसारको रोजगारी दिनका लागि श्रमिक सहकारीको स्थापना गर्न सकिने बताउनुभयो । त्यसैरि कृषिमा सहकारीमार्फत यान्त्रिकिकरण, सामुहिक खेती, उपभोक्ता सहकारीको क्षमता बृद्धिमा सहयोग गर्न सकेको खण्डमा अभियानले अहिलेको विषम परिस्थितिमा महत्वपूर्ण योगदान दिने सक्ने औल्याउनुभयो । युएनडीपीका नीति सल्लाहकार धर्म स्वर्णकारले सो अनलाइन छलफलको सहजीकरण गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार