सहकारीकर्मी !
सहकारिता स्वावलम्बीहरूको आन्दोलन हो । स्वावलम्बीहरू परिश्रमी हुन्छन् । कवि मोहन कोइरालाले पसिनाको कविता सुनाउनुहुन्थ्यो । पसिनाको मूल्य सर्वाेपरि हुन्छ । वास्तवमा पसिना अमूल्य हुन्छ ।
परिश्रम बिनाको जीवन त निःसार हुन्छ; दिग्भ्रमित औ व्यर्थ हुन्छ । परिश्रमीले अर्काको परिश्रमको पनि त्यत्तिकै सम्मान गर्दछ । उसका लागि अर्काको परिश्रममा बाँच्नु मरेतुल्य हुन्छ । त्यसकारण उसले अर्काको परिश्रमको मूल्य तोक्दैन; पैसामा पसिना खरिद गर्दैन । उसका दृष्टिमा त श्रमको खरिदारीमा शोषण हुन्छ ।
श्रम र सेवाको सुक्ष्म भेद गाईपालकको उदाहरणमा खुल्दछ । गाई पाल्ने सहकारीकर्मीले गाई बिरामी नपरून् भनी खोप लगाउन प्राविधिक डाक्दछन् । त्यस्तै, भकारो सुधारका लागि आफ्नो ढङ्ग नपुगे सिकर्मीको सहयोग लिन्छन् । सक्न छाडियो भनेर गोठालो भने राख्दैनन् । कारण प्राविधिक र सिकर्मीको सेवा हो, जसको मूल्य हुन्छ; गोठालोको श्रम हो, जो अमूल्य मानिन्छ । आफैँले गोठाली गरिएन भने परिश्रमीमा गनिन्न । परिश्रमबिना बाँचे जस्तै होइन्न ।
‘भनेजति पैसा दिएर गोठालो राख्दा शोषण कसरी हुन्छ ?’ भन्नेहरु गरिखाने होईनन्, पराश्रयी हुन् । स्वावलम्बीहरू पैसाको धाकमा अर्काको बुई चढ्दैनन् । आफ्नै खुटृामा टेकेर गन्तव्यमा पुग्ने वर्ग हुन्— सहकारी आन्दोलनकारीहरू ।
त्यसै गरी स्वावलम्बीहरूलाई बसी–बसी नाफा खान मन लाग्दैन । ‘आफ्नो पैसा लगानी गरेर नाफा कमाउनु नराम्रो हो र !’ भन्नेहरू सम्पत्तिको भाडामा बाँच्दछन् । स्वावलम्बीहरूलाई त्यस्तो सित्तैको जीवन चाहिँदैन । आफैँले आफ्नो श्रममा लगाएको पुँजीमा मात्र अर्काको श्रमको नाफा जोडिने हुँदैन । अर्काको श्रममा परिचालित पुँजीमा जम्मा हुने नाफा खासमा आफ्नो होइन । अर्काको भाग खानु शोषण हो ।
एवं रीतले अर्काको उत्पादनमा ‘खेलो’ गरेर खाने वर्गमा पनि स्वावलम्बी पर्दैनन् । आफ्नो उपभोगका लागि अर्काको उत्पादन उचित मूल्यमा बजारमा किनिन्छ । आफ्नोउत्पादन उचित मूल्यमा बजारमा बेचिन्छ पनि । उत्पादक र उपभोक्ताको बीचमा बसेर बेपार भने कहिल्यै गरिँदैन । कारण त्यहाँ शोषण हुन्छ ।
‘बजारमा चलेको मूल्यमा किनेर चलेकै मूल्यमा बेच्दा कसरी मर्का पर्दछ भन्नेहरूले पैसाको हिसाबमात्र जान्दछन् । फलाउनुको मूल्य अर्कै हुन्छ; बनाउनुको महत्व पनि अर्कै हुन्छ । उपभोक्तासँग उपरि मूल्य लिनु शोषण हो अनि उत्पादकलाई पूरा मूल्य नदिनु पनि शोषणै त हो ।
परिश्रममा रमाउने, शोषण देख्न नसक्ने र मानवीय सम्बन्धहरूको खोजी गर्दै हिड्ने सहकारीकर्मीहरू को हुन् ?

मद्दत गर्ने उपकार नगर्ने, पुँजी प्रयोग गर्ने लगानी नगर्ने, उत्पादन गरेर बेच्ने अनि किनेर उपभोग पनि गर्ने तर किनीबेची नगर्ने — सहकारी अभियन्ताहरू विलक्षणका लाग्दछन् । उनीहरू अर्काको रोजगारी नगर्ने रोजगार हुन् र अर्कालाई कामदार नराख्ने उद्यमी पनि हुन् । कसैलाई कामदार नराखेर उद्योगधन्दा कसरी चल्ला ?
गाईपालककै उदाहरणमा फर्कने हो भने सहकारीकर्मीका परिवारका सदस्यहरू मिलेर गोठाली आफैँ गर्दछन्; अर्कालाई गोठालो राख्दैनन् । कतैका कोही ‘गोठालो बस्छु’ भनेर आएकै खण्डमा धरि ‘हुन्छ’ भन्दैनन् । उल्टै उनलाई पनि आफूले गरेझैँ गाईपालन गर्ने सुझाउ दिन्छन्, जो–चाहिने सहयोग गर्दछन् र पराधीन होइन मालिक बनेर जीविकोपार्जन गर्ने बाटो देखाउँदछन् ।
त्यसो भए सहकारीकर्मीहरूले गाई पालेर खाइखेतीमा सीमित हुनुपर्ने अवस्था हुँदैन ? हुँदैन । बथान बढेसँगै यान्त्रीकरण गर्दै गइन्छ । दूध दुहुने, आहारा तयार पार्ने, भकारो सफा गर्ने— एकपछि अर्काे प्रयोजनमा उपकरणको सहयोग लिइन्छ । कुँडो पकाउने सुविधा, गोठको अवस्था, पानी, बिजुलीको व्यवस्थालगायतको स्वाभाविक स्तरोन्नति हुन्छ । त्यस्तै, प्राविधिक रेखदेख, दाना प्राप्ति, दूध सङ्कलन, प्रशोधन, बजारीकरणजस्ता साझा उपयोगका सेवा, सुविधाहरू संस्थाको तहमा मिलाइन्छ । त्यसरी प्रत्येक सदस्यले सयौँ नभए दशौँ गुना आम्दानी बढाएर संवृद्धि प्राप्त गर्दछन् ।
सहकारितामा सम्पन्न भइयो भनेर स्वावलम्बनको अभ्यास गर्न छाडिँदैन; छाडियो भने विलासमा झरिन्छ । सहकारी सदस्यहरूमा सम्पन्न भएर बाँच्ने आकाङ्क्षा अवश्य हुन्छ तर धनाड्य बन्ने महत्वाकाङ्क्षा हुँदैन । आफूलाई भएपछि पुग्ने स्वार्थी उनीहरू होइनन्; अरूलाई पनि हुनुपर्दछ भन्ने सहयोगी हुन् । सबै जना सँगसँगै सम्पन्न बनेर, प्रकृति–मैत्री उत्पादन एवं उपभोगको तरिका रोजेर अनि मानवीय मूल्यहरूको जगेर्ना गरेर बाँच्ने ध्येय उनीहरूको हो । Plockboy, Bellers, Owen, Dr. King, रोचडेली अगुवाको पदचिह्न खोज्दै आज पनि उनीहरू समुदाय बनाउने अभियानमै छन् ।
प्रकारान्तरले सहकारी संस्था खोल्दैमा अथवा खोलिएको संस्थाको सदस्य बन्दैमा सहकारीकर्मी होइन्न । माथी तालिका दायाँपटिृ जनाइएका व्यक्तिहरूले स्वावलम्बन र पारस्परिकताको अभ्यास गर्न सक्तैनन् । बिचौलियाले उत्पादकसँग सस्तोमा किनेर अनि उपभोक्तालाई महङ्गोमा बेचेर नाफा खान खोज्दछ । आफ्नो स्वभावले गर्दा ऊ शोषणरहित आर्थिक सम्बन्धहरू स्थापना गर्ने सहकारी आन्दोलनमा सहभागी हुने कुरै आउँदैन । त्यस्तै, कल्याणकर्ता ठालु पल्टिन्छ भने लगानीकर्ता वा रोजगारदाता परिश्रमी हुँदैन ।
रोजगार पनि सहकारीकर्मी होइन । किनभने ऊ अधीनस्थ हुन्छ; स्वतन्त्र हुँदैन । रोजगारहरूको त श्रम सङ्गठन बन्दछ; सहकारी सङ्गठन बन्दैन । त्यसो भए सहकारिताको अभ्यासकर्ता को हुन्त ?
सहकारीकर्मी तीनथरी हुन्छन् : प्राथमिक उत्पादक (Primary producers), वास्तविक कामदार (Actual workers) र आम उपभोक्ता (Bonafide consumers) ।
स्रोतः सहकारिता
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार