प्रकाशकीय : हामी ८औं वर्षमा, यहाँहरुको साथ स्मरणीय !
यतिबेला विश्व जगत कोरोना भाइरसको महामारीका कारण घोर शंकटमा छ । नेपाल पनि त्यसबाट टाढा रहन सकेन । मुलुकमा महामारी नफैलियोस् भनेर सरकारले चैत ११ गतेदेखि सिंगो मुलुक लकडाउन गरेको छ ।
लकडाउनले आर्थिक गतिविधि ठप्प प्रायः भएका छन् । मानिसहरुको दैनिकी कष्टकर बनेको छ । यो विषम परिस्थितिमा सहकारी अभियानले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अहिलेको यो परिस्थितिमा सहकारी अभियानको महत्वपूर्ण भूमिका रहनुपर्छ । सहकारीका सदस्यलाई आवश्यक पैसा, खाद्यान्न, औषधी उपचारको लागि सहकारीले हरेक समय सहयोग गर्नसक्नु यसको उपादेयता हुनेछ ।
नेचुरल मिडियाद्वारा सञ्चालित सहकारीखबर डटकम स्थापनाको आज ८औं वर्षमा प्रवेश गरेको छ । पत्रकारिताको मूल मर्म, सत्य, तथ्य र निष्पक्षतामा आधारित भएर सहकारीका हरेक गतिविधि सहकारीखबरले स्थान दिँदै आएको सर्वविदितै छ । मूलधारका मिडियाले सहकारीका विषयवस्तुलाई प्राथमिकता दिन कन्जुस्याईँ गरिरहेको महसुस भइरहेका बेला हामी सहकारी क्षेत्रलाई मूलमन्त्र मानेर पछ्याउँदै अनवरत यात्रामा छौं ।
सहकारीखबर डटकमले अनलाइन मिडियामार्फत सहकारी क्षेत्रमा देखिएका विकृति–विसंगति, त्यस क्षेत्रमा प्राप्त सफलता, सफलताका कथा, उत्प्रेरणाका कथा, राज्यलाई गरेको योगदान, नीतिगत क्षेत्रमा देखिएका कमजोरी र सुधारका पक्ष लगायत गहकिला विषय उठान गर्दै आएका छौँ । सहकारी क्षत्रको सर्वाधिक लोकप्रिय मिडिया र सहकारीकर्मीको ढुकढुकी बन्न सफल भएकोमा हामी गर्व गछौँ । यो सबै सफलता यहाँहरुजस्तै प्रबुद्ध पाठक वर्गकै कारण सम्भव भएको हो । यो सफलतासँगै चुनौति पनि छन् । आजसम्मको सफलतालाई थप मजबुत र विश्वासिलो बनाइरहनु हाम्रो कर्तव्य र धर्म हुनेछ ।
नेपालको सहकारी अभियानमा सञ्चारमाध्यमको तर्फबाट एक अभियन्ताका रुपमा सहकारीखबर डटकम उभिएको छ । नेपालको सहकारी आन्दोलनलाई द्रुत गतिमा अगाडि बढाउन सञ्चार क्षेत्रको भूमिका अब निर्णायक भइसकेको छ । यस कुरालाई मनन गरेर हामीले सहकारी क्षेत्रका सफलताका कथा र यसभित्रका अनियमितता, समस्यालाई मात्र उजागर गरेका छैनौं, सहकारीमा आउनसक्ने सम्भावित संकटका विषयमा समेत सजग गराउने प्रयास गरेका छौं ।
यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापि प्रयाप्त थिएन र हुने छैन । सहकारीखबर डट कमको उद्देश्यलाई सफलतापूर्वक यहाँसम्म ल्याइपु¥याउन यहाँहरू सबैको योगदान स्मरणीय र प्राथनीय छ । हामीले यस अवधिमा धेरै संघर्ष, चुनौती, व्यवधानसँगै हौसला र अनुपम अनुभव संगालेका छौं । हामी अझै परिपक्व भएको दाबी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा स्थापित हुन सकेका छौं । र, यो अवसरमा हामीले पाएको स्थानलाई अझै उचाइँमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।
आमपाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आमरूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण र व्यवसायिक भएर अघि बढ्न थप ऊर्जा दिएको छ ।
नेपालको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले थुप्रै चुनौतीको सामना गरिरहेको छ । ती चुनौतीविरुद्ध लड्दै सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अगाडि बढाउन सक्ने सम्भावनालाई जनतामाझ छर्लङ्ग पार्ने माध्यम भनेकै सञ्चार हो । सञ्चार क्षेत्रको विकास र विस्तार बिना सहकारीको सम्भावना छैन । सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनुका साथै सहकारी क्षेत्रका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि यही अवसरमा पुनः दोहोर्याउन चाहन्छौं ।
अन्त्यमा, सहकारीखबर डटकम ८औं वर्ष प्रवेशको यो अवसरमा विशेषगरी हाम्रो आरम्भका सहयात्री लगायत सबै शुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ । विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं । आशा छ, यहाँहरुको सहयोग विगतमाझैँ निरन्तर हुनेछ ।
२०१३ साल चैत २० गते बाट सुरु भएको नेपालको सहकारी आन्दोलन ६३ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण सहकारीकर्मीमा हार्दिक शुभकामना समेत दिन चाहन्छौं ।
जय सहकारी !
सम्पादक, काजी श्रेष्ठ