कोभिड १९, सहकारी अभियान र चुनौती

रामसूदन तिमल्सिना
कोरोना भाइरस (कोभिड १९) को महामारीबाट अहिलेसम्म विश्वका १९६ देश प्रभावित भएका छन् । नेपालमा पनि यसको संक्रमण देखिएपछि ११ चैतबाट देश पुरै लकडाउन भएको छ । देशमात्र लकडाउन भएको छैन, नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशलाई यसले निकै पछाडि धकेल्ने देखिन्छ । विश्व अर्थतन्त्रमा नै यसले ठूलो क्षति पु¥याउने अनुमान छ । यसको महामारी कति समय लम्बिन्छ भनेर भन्न सकिने अवस्था छैन । यो विषय परिस्थितीलाई समाना गर्नुको अर्काे विकल्प पनि त हामीसँग देखिदैन । १८ चैतसम्म नेपालमा लकडाउन घोषणा गरिएको छ । अवस्था असहज बन्दै गएको खण्डमा लकडाउन अझ कडा रुपमा केही समय लम्बिन पनि सक्छ । यो कोभिड १९ को संक्रमणबाट जोगिने महत्वपूर्ण औजार पनि हो । त्यसैले लकडाउनमा घरभित्र नै बसेर यो कोभिड १९ विरुद्धको अभियानमा सहयोग गर्नु हामी सबैको कर्तव्य हुन आउँछ ।
यस्तै विषम परिस्थितिहरुमा सहकारी अभियानले महत्वपूर्ण भूमिका खेल्दै आएको हामीले पाउँछौं । अहिलेको यो परिस्थितिमा पनि सहकारी अभियानको महत्वपूर्ण भूमिका रहन्छ र रहनुपर्छ । सहकारीमा दैनिक कमाइ गरेर बचत गर्नेदेखि स्वरोजगारी गर्नेसम्मको सहभागिता भएको हुन्छ । घर भित्र नै लकडाउन भएर बस्नुपर्ने अवस्थामा मजदुर, साना तथा मझौता उद्यमीहरुको आम्दानीको स्रोत बन्द भएको छ । कतिपयले ऋण गरेर व्यापार, व्यवसाय तथा उद्योगहरु शुरु गरेका छन् । उनीहरुले किस्ता त परै जाओस् ब्याज समेत तिर्न सक्ने अवस्था रहँदैन । नियमित बचत गर्न समेत सक्ने अवस्थाको अन्त्य हुन सक्छ । यस्तै अप्ठ्यारो परिस्थितलाई सामना गर्न सक्ने भएकाले नै सहकारी अभियानलाई नेपालको संविधानमा पनि अर्थतन्त्रको तीन खम्बामध्ये एक बलियो खम्बाका रुपमा राखिएको हो । त्यसैले अब सहकारी अभियानमाथि ठूलो जिम्मेवारी आइपर्दै छ भनेर यसका लागि के कसरी अगाडि बढ्ने भनेर योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने अवस्था छ ।
सहकारी सामाजिक अर्थतन्त्रको नेतृत्वकर्ता भएकाले पनि अप्ठ्यारो परिस्थितिमा आफ्ना सदस्यलाई सहयोग गर्नु यसको दायित्व पनि हो । आजकै अवस्थामा पनि आफ्नो सदस्यको अवस्थाको जानकारी लिइरहने, उनीहरुलाई घरभित्र नै प्रविधिको प्रयोगमार्फत कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने तर्फ इंगित हुन सकिन्छ । कतिपय सहकारीले समुदायकै लागि विशेष प्याकेजको समेत व्वयस्था गरेको पाइन्छ । तर, यो भन्दा पनि डरलाग्दो अवस्था अब सिर्जना हुन सक्छ । विश्वभरि आर्थिक संकट सिर्जना हुन सक्छ । सहकारीहरुमा पनि समस्या उत्पन्न हुन सक्छन् । चर्काे ब्याज लिएर टिकेका सहकारीका नाममा खुलेका केही संस्थाहरु संकटमा पर्न सक्छन् । त्यस्ता संस्थालाई देखाएर अभियानमाथि नै नकारात्मक प्रभाव पार्न खोजिने प्रयास समेत हुन सक्छ । यी अवस्थालाई कसरी व्यवस्थापन गर्ने ? यस्ता चुनौतीको सामना गर्दै विषम परिस्थितिबाट सहज रुपमा उम्कनका लागि रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने हुन्छ ।
त्यसैगरी संघियतासँगै सहकारीको दर्ता, नियमन र प्रवद्र्धनको जिम्मेवारी स्थानीय, प्रदेश र केन्द्र सरकारमा बाँडिएको छ । जसका कारण सहकारी अभियानलाई सरकारसँग लविङ गर्नसमेत चुनौती बनेका छ । एउट सरकारलाई मनाएर मात्र हुने अवस्था छैन । कतिपय स्थानीय सरकारले सहकारी अभियानलाई अझै बुझ्न सकेको देखिदैन । यस्तो परिस्थितिमा सहकारी अभियानले एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन । सहज अवस्थामा भएका प्रतिस्पर्धाहरुलाई समेतर भुलेर सहकार्य र एकतामा जोड दिनुको विकल्प छैन ।
निरन्तर सदस्यहरुलाई संकटका समयमा सेवा प्रवाह गर्नका लागि सहकारीलाई सरकार र नियमनकारी निकायको पनि साथ र सहयोग आवश्यक रहने भएकाले सबै तहका सरकारसँग समन्वय गर्नुको विकल्प पनि छैन । यतिबेला विश्व सहकारी अभियानलाई निहाल्ने हो भने अभियानलाई सरकार नियमनकारी निकायबाट साथ र सहयोग उपलब्ध भइरहेको पाइन्छ । अमेरिकामा सहकारीको नियमनकारी निकाय राष्ट्रिय क्रेडिट युनियन प्रशासनले संकटमा के गर्न सकिन्छ भनेर रणनीति तय गरेको पाइन्छ । युकेमा कतिपय ऋणीहरु नै कोभिड १९ को संक्रमणका कारण कमाइ गर्न सक्ने अवस्थामा नभएको बताइएको छ । लकडाउन भएपछि अन्य ऋणीहरु पनि समस्यामा हुने भएका सरकारले सहकारी अभियानका नेतृत्वदायी संघहरुसँग सहायता चाहिने अवस्था र परिस्थितिको विषयमा छलफल चलाइसकेको पाइन्छ ।
नेपालमा पनि वित्तीय र अन्य विभिन्न विषयगत सहकारीहरुमा चुनौती देखिएका छन् । विषय अनुसारका ती चुनौती फरक फरक हुन्छ । कतिपयलाई नीतिगत सम्बोधन गर्दा हुन्छ कतिपयलाई छुट सुविधा र कतिपयलाई अनुदान नै दिनुपर्ने अवस्था पनि हुन्छ ।
ऋणी सदस्यहरुको ऋण असुलीमा समस्या देखिन सक्छ । बचतकर्ताहरुको आम्दानी नभएपछि बचत फिर्ता बढ्ने अवस्था हुन्छ । यो अवस्थाका लागि सहकारी अभियानले नै केही न केही उपायको अवलम्बन गर्नुको विकल्प छैन । कोभिड १९ का कारण देशमा गरिबी बढाउने, बेरोजगारी सिर्जना गर्न, खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुन सक्छ । आर्थिक संकटको अवस्था सिर्जना हुन सक्छ । यो अवस्थामा सहकारीहरुलाई कसरी संचालन गर्ने, गरिबी न्युनिकरण र बेरोजगारी समस्या समाधानका लागि सहकारीलाई कसरी परिचालन गर्ने भन्ने विषयमा सरकारले पनि सोच्नुपर्ने हुन्छ । यो सहकारीका लागि अवसर पनि हो । सहकारी अभियान भित्र कस्तो शक्ति छ भनेर देखाउने ।
यतिबेला मुलुक लकडाउन भइरहेको समयमा चाँही सहकारीले आफ्ना सदस्यको मनोबल उच्च बनाउने काममा केन्द्रीत हुनुपर्छ । जब कुनै समस्या आउँछ त्यसको समाधान पनि हुन्छ ।
त्यसैले भोली आउने चुनौतीलाई पनि हामीले अवसरका रुपमा लिनुपर्छ । अहिलेलाई चाँही घरभित्र नै सकारात्मक सोचका साथ धैर्य पूर्वक बस्ने र सहकारी अभियानलाई तिव्र रुपमा अगाडि बढाउने विषयमा चिन्तन मनन गर्ने बेला हो । जसले हाम्रो अभियानलाई नयाँ उचाईमा पु¥याउनका लागि यो विषय परिस्थितिको सामना गर्न सकोस् । आफ्नो सदस्यलाई जटिल परिस्थितिबाट सहज अवतरण गराउनका लागि सहकारी अभियान सफल हुन्छ भन्ने कुरामा दुइ मत कसैको रहँदैन ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार