५ असार २०८३, शुक्रबार

विकूको ३०औं साधारण सभा सम्पन्न, ५ वटा सहकारीबीच एकीकरण

२०७६ पुष १३, आईतवार
विकूको ३०औं साधारण सभा सम्पन्न, ५ वटा सहकारीबीच एकीकरण

गैंडाकोट, १३ पुस । चितवन र नवलपुरमा रहेका ५ वटा सहकारी संस्थाहरू एकीकरण भएका छन् । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औं साधारणसभाका अवसरमा एकीकरणको घोषणा गरिएको हो । विकू साकोस गैंडाकोट, गरिमा साकोस हुप्सेकोट, नबजागरण साकोस गैंडाकोट, जनकल्याण बहुमुखी संस्था दुम्किबास र दियालो साकोस नारायणगढ एकीकरण भएका हुन् ।

शनिबारमात्रै विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ स्थानमा क्षेत्रगत रुपमा साधारण सभा सम्पन्न गरेको छ । विजय सामुदायिक शिक्षा सदन गैंडाकोट र देवचुली मावि रजहरमा साधारण सभा गरेको हो ।

गैंडाकोटमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सहकारीहरु उत्पादनमुखी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले विकू बेस्ट एन्ड विगेष्ट अवधारणामा अघि बढेको जनाउँदै गर्भदेखि स्वर्गसम्मका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगर उप प्रमुख विष्णुकुमारी कंडेलले सहकारीहरु मध्ये विकू नमूना सहकारीका रुपमा स्थापित भएको बताउनुभयो ।

संस्थाको प्रगति प्रतिवेदन सहसचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कालिदास गौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक टिकाराम कंडेलले प्रस्तुत गर्नुभएको थियो । सञ्चालक एवम् पूर्व अध्यक्ष ईन्द्रराजज्योती पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै रजहरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले यहाँको विकास र आर्थिक रुपमा सबल बनाउन विकूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा विकूका सचिव गोविन्द रिमालले प्रगति प्रतिवेदन, सञ्चालक एवम् पूर्व अध्यक्ष हरिलाल सापकोटाले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य गोविन्दराज लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।

शिक्षा समितिका संयोजक तथा सञ्चालक ओमप्रसाद सापकोटाले स्वागत गर्नुभएको सो कार्यक्रम विकूका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विधामा सदस्यलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो । यसैविच विकूले नयाँ कार्यसमिति चयन गर्दैछ । विकूका संस्थापक अध्यक्ष एवम् निर्वाचन समिति संयोजक खेमराज सापकोटाले विकूको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि वढेको जानकारी दिनुभएको छ ।

संस्थाको कुल सम्पत्ति हाल करिब पौने ५ अरब पुगेको छ । गत आर्थिक वर्षमा ४७ करोड ८५ लाख कुल आम्दानी र २९ करोड ७३ लाख खर्च भई सञ्चालन मुनाफा १८ करोड १२ लाख रुपैयाँ भएको जनाईएको छ ।

अभिलेख

लोकप्रिय