५ वैशाख २०८३, शनिवार

पोखरा महानगरले बनायो सहकारी प्रोफाइल

२०७६ मंसिर २३, सोमबार
पोखरा महानगरले बनायो सहकारी प्रोफाइल

पोखरा, २३ मंसिर ।

पोखरा महानगरपालिकाले सहकारी संघ/संस्थाको प्रोफाइल तयार गरी सार्वजनिक गरेको छ । सहकारीको आधारभूत जानकारी समेत समेटिएको प्रोफाइलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार विमोचन गरेका छन् ।

उक्त प्रोफाइल सार्वजनिक कार्यक्रममा जिसीले सहकारीलाई व्यवस्थित गर्न महानगरले पहिलो प्रयत्न स्वरुप प्रोफाइल तयार गरेको बताए । सहकारीमा देखिएका विकृति, विसंगतिलाई न्यूनीकरण गर्दै व्यवस्थित बनाउन एकै ठाउँबाट सहकारीको अनुमगन गर्ने पद्धति निर्माण गर्न महानगर लागि परेको उनले बताए । आर्थिक समृद्धि हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रमुख जिसीले सहकारीले उत्पादनशील र उद्यममा लगानी गर्नुपर्ने बताए । सहकारीको मात्र नभई अन्य क्षेत्रको पनि प्रोफाइल बनाउने योजना महानगरले बनाएको उनले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी दर्ता अधिकारी गंगालाल सुवेदीले सहकारीको नाम, ठेगाना, सञ्चालक समितिको अध्यक्षको नाम, शेयरपुँजी लगायतको आधारभूत जानकारी प्रोफाइलमा समेटिएको जानकारी दिए । उनका अनुसार विषयगत सहकारी र वडागत रुपमै सहकारीको विवरण यसमा राखिएको छ ।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले ३ सय ४३ वटा सहकारीको विवरण प्रोफाइलनमा समेटिएको बताए । उनका अनुसार गत असारसम्म दर्ता भएका सहकारीको विवरण प्रोफाइलनमा समेटिएको हो । अधिकारीले पोखरा कार्य क्षेत्र भएका सहकारीको संख्या ३ सय ५३ भएको जानकारी दिए । सहकारी दर्ताको अधिकार स्थानीय तहमा आएपछि महानगरमा ४१ वटा सहकारी दर्ता भएका छन् । अध्यक्ष अधिकारीले प्रोफाइलनमा समेटिएको विवरण संक्षिप्त भएकाले आगामी दिनमा यसलाई परिमार्जित गरिने बताए ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको प्रोफाइलले सहकारीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताए । प्रोफाइल तयार पारेकोमा महानगरलाई धन्यवाद दिँदै उनले महानगर र जिल्ला सहकारी संघबीच समन्वय आवश्यक भएको बताए ।

अभिलेख

लोकप्रिय