टोल–टोलमा श्रम सहकारी
(रुकुम पश्चिम) — रुकुम पश्चिमका हरेक टोलमा श्रम सहकारी छन् । कुनै नगर/गाउँस्तरीय श्रम सहकारी छन् । स्थानीय सरकारले गर्ने सडक निर्माण, मर्मत, खानेपानी, भवनलगायत साना खालका विकास निर्माण आयोजना तिनै सहकारीमार्फत गराइन्छ ।

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले उपभोक्ता समितिको विकल्पका रूपमा श्रम सहकारीमार्फत विकास निर्माणको काम गराइरहेको बताए । ‘उपभोक्ता समितिको भन्दा राम्रो, गुणस्तरीय, दिगो विकासको अपेक्षासहित श्रम सहकारीको अवधारणा ल्याइएको हो,’ उनले भने । अध्यक्ष पुनका अनुसार संघीय सरकारले बनाएको सार्वजनिक खरिद ऐनअनुरूप स्थानीय तहले नियमावली बनाएर श्रम सहकारीमार्फत काम गराउने गरेको हो ।
आर्थिक वर्ष २०७४/०७५ देखि नै श्रम सहकारीमार्फत काम गराउन थालिएको थियो । सुरुमा चौरजहारी नगरपालिकाले श्रम सहकारीमार्फत काम गराउन सुरु गरेको हो । गत आर्थिक वर्षमा सबैभन्दा बढी चौरजहारी नगरपालिकाले पुँजीगततर्फको सबै बजेट श्रम सहकारीमार्फत खर्च गर्यो । चौरजहारीमा १२ वडास्तरीय र एउटा नगरस्तरीय सहकारी छन् । गत आर्थिक वर्षमा सात करोड ९ लाख ७९ हजार रुपैयाँ बजेट श्रम सहकारीमार्फत खर्च गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख विशाल शर्माले पनि उपभोक्ता समितिको विकल्पका रूपमा सहकारीलाई परिचालन गरिएको बताए ।
बाँफिकोटले १० वडामा ५१ सहकारी गठन गरेको छ । गत आर्थिक वर्षमा पुँजीगततर्फको ८० प्रतिशत बढी बजेट गाउँपालिकाले श्रम सहकारीमार्फत खर्चिएको हो । सहकारीमार्फत गत वर्ष ११ करोड २१ लाख रुपैयाँ विकास निर्माणमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए । २० सहकारी दर्ता गराएको आठबीसकोट नगरपालिकाले झन्डै तीन करोड रुपैयाँ सहकारीमार्फत नै खर्चेको छ ।
सानीभेरी गाउँपालिकाले ११ वडामा सहकारीमार्फत विकास गरिरहेको छ । वडामा रहेको श्रम सहकारीले विकास निर्माणको सम्झौता गरिदिन्छ र सम्बन्धित योजना परेको टोलबासीलाई निर्माण समिति बनाएर काम गराइन्छ । मुसीकोट नरपालिकाले गत आर्थिक वर्षमा झन्डै दुई करोड रुपैयाँ सहकारीमार्फत खर्च गर्यो । तीन सहकारीमार्फत गरिएको उक्त कामप्रति नगरपालिकाको चित्त बुझेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए ।
स्थानीय तहले योजना परेको वडा तथा टोलका स्थानीयलाई काम गर्ने अवसर दिने गरेका छन् । वडा तथा टोलमा रहेका श्रम सहकारीमा सबैलाई आबद्ध गरिएको छ । यसअघि काम नपाएका सहकारीका सदस्यहरूले काम पाउँदै जाने गरी सहकारीहरूले नियम बनाएका छन् । ‘योजना परेको सम्बन्धित टोल र बस्तीका सर्वसाधारणलाई काम गर्ने पहिलो अवसर हुन्छ,’ बाँफिकोट गाउँपालिकाको विवेक श्रम सहकारीका अध्यक्ष कर्णबहादुर खत्रीले भने ।
गत आर्थिक वर्षमा मात्रै स्थानीय तहले झन्डै एक हजारलाई रोजगारी प्रदान गरेको दाबी गरेका छन् । थोरै दिन काम गरेको भए पनि आठबीसकोट नगरपालिकाका तीन सय, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका दुई/दुई सयले रोजगारी पाएको सम्बन्धित स्थानीय तहले दाबी गरेका छन् । बाँफिकोट गाउँपालिकाका २ सयभन्दा बढी, मुसिकोट नगरपालिका ५० जनाले रोजगारी पाए । त्रिवेणी गाउँपालिकामा श्रम सहकारीमार्फत रोजगारी पाउनेको संख्या खुलाइएको छैन ।
उपभोक्ता समितिमा धेरै अनियमितता भएको गुनासो भएपछि सहकारीमार्फत विकास गर्ने प्रक्रिया अघि बढाइएको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बताए । ‘श्रम सहकारी बनाउने निर्णय भएको दुई वर्षपछि पालिका–पालिका पुगेर श्रम सहकारी र तिनले गरेका काम अनुगमन गर्न भ्याएँ,’ रुकुम पश्चिमबाट प्रतिनिधित्व गरेका सांसद शर्माले भने, ‘उपभोक्ता समितिको तुलनामा श्रम सहकारीको काम चित्तबुझ्दो पाइयो ।’ गाउँगाउँमा सहकारी खोल्ने, स्थानीय बासिन्दालाई सेयर सदस्य बनाउने र सबैले आयआर्जन गर्न पाउने व्यवस्था विकास गर्ने निर्णय भएको उनले जनाए । ‘बेरोजगारलाई रोजगारीमा जोड्न पनि श्रम सहकारीको अवधारणा ल्याइएको हो,’ उनले भने ।
कान्तिपुर प्रकाशित : कार्तिक १६, २०७६
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार