५ चैत २०८१, मङ्गलबार

झापाका सहकारी र सन्दर्भ ब्याजदर

२०७६ भदौ ११, बुधबार
झापाका सहकारी र सन्दर्भ ब्याजदर

दिपेन्द्र राउत

दिपेन सर नमस्कार ! के छ झापा तिरको सहकारीको । सन्दर्भ ब्याजदर तोकिएपछि झापाका सहकारीको प्रतिक्रिया कस्तो छ ? यो प्रश्न थियो सहकारी क्षेत्रमा केही योगदान गर्न सकिन्छ की भनेर संघर्षरत विद्यार्थी पत्रकार काजी श्रेष्ठको । जवाफमा थिए म दिपेन । झापामा बसेर सहकारी क्षेत्रमा केही गर्न सकिन्छ की भनेर लागेको एक सहकारीकर्मी । झापामा बसेर विभिन्न क्षेत्रमा काम गरी रहँदा पत्रकार साथीहरुको साथ सहयोग र मलाई बारम्बार दिपेन जी केही लेख्नु न ? तपाईं राम्रो लेख्नुहुन्छ । लेख यर्थाथ परक हुन्छ । भनेर हौसाउने मेरा पत्रकार साथीहरुले गर्दा केही लेख्ने उर्जा मिल्ने गर्दछ ।
एक कार्यक्रमका बीच भेट भयो पत्रकार तुलसी निरौला । मैले भाई नै भने उहाँलाई । दाई तपाईको आर्टिकल ‘बैंकभन्दा अब्बल सहकारी’ पत्रिकामा प्रकाशन गरे है । धेरै राम्रो छ भन्नुभयो । दाजु यसो समय समयमा लेख्ने गर्नु न ? र मैले दुबै जनालाई सम्बोधन हुने गरी झापाको सहकारी र मैले ८ वर्षमा सहकारीमा अध्यक्ष भएर संचालन गरी रहँदाको अनुभव लेख्ने प्रयास गरेको छु ।

जीवनमा धेरैकुरा पढेरभन्दा परेर जानिन्छ भन्ने दरिलो अभ्यास सहकारी भई सकेको छ । नेपालको सहकारी अभियान ६३ वर्ष पुगी सकेको छ । सहकारी क्षेत्रको विकासलाई हेरेर राज्यले तीन खम्बे अर्थ नीतिमा सहकारी एक खम्बा मानेको छ । यो विषयमा माईक फुट्ने गरि भाषणमा धेरै सुनिन्छ । सहकारी अभियानकर्ताहरु सहकारी क्षेत्रलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने भनेर लागिरहनु भएको छ । स्थानीय क्षेत्रमा रोजगारीको सृजना, बचत गर्ने बानीको विकास, आर्थिक वृद्घिमा योगदान, सामुहिक लगानीमा सहकारीको भूमिका, आर्थिक साक्षरताको विकास, नेतृत्व र व्यक्तित्वको विकास, महिला सशक्तिकरणमा भूमिका, कृषि व्यवसायमा प्रेरण, न्यून लगानी भएकालाई थप पूँजीको विकास, शिप हुनेलाई पुँजी, पूँजी नहुनेलाई क्षमतासँग जोड्ने काम आज सहकारीले गरेको छ । घर जग्गा नहुनेहरुलाई घर जग्गा हुने सहकारीले बनाएको छ । गरिबी न्यूनिकरणमा सहकारीको भूमिका मुख्य रहेको छ । साना व्यवसायीलाई ठूला व्यवसायी आज सहकारीले बनाएको छ । ५० हजार रुपैयाँ विना धितो ऋण लिने व्यवसायीहरु आज धितोमा लाखौं धितोमा लिन तयार हुने भएका छन् । सदस्यको मिहेनत र संस्थाको थप लगानीले गर्दा सदस्यको विकास भएको छ । आखिर यो सहकारीको उपलब्धिमान्नु पर्छ । सदस्यहरुको वृद्वि विकास संस्थाको मुख्य उदेश्य पनि हो । एउटा भनाई छ ‘पैसाले पैसा कमाउँछ’ वास्तवमा नै हो यथार्थ हो । आज नेपालका व्यवसायीलाई हेर्ने हो भने ठूला व्यवसायी झन् ठुला हुँदै गईरहेका छन् । साना व्यवसायीलाई ठुला व्यवसायीहरुले दिन प्रतिदिन अफ्ट्यारो बनाई रहेको छ ।

भविष्यमा नेपालको व्यवसाय केही ठुला घरानामा मात्र सिमित नरहला भन्न सकिन्न । बैंक आफ्नै व्यवसाय आफ्नै भई रहँदा ठुला व्यवसायीहरुलाई ऋण लगानी कति सहज भएको छ भन्ने समाचार हामीले पढ्ने गरेका छौं । यो अवस्थामा भई रहँदा सहकारीले सदस्यको वृद्वि विकासमा ठुलो योगदान गरेको छ । मेरो बुझाईमा । सहकारी संस्था समुदायमा संचालितहुँदा समुदायलाई परेको समस्यामा निराकरण गर्दै नेपालीको संस्कार र संस्कृतिलाई जगेर्ना गर्न पनि सहकारी अब्बल भएको छ ।

रह्यो काजी जीको प्रश्न । सन्दर्भ ब्याजदर । मलाई लाग्छ खासै फरक पर्दैन । किनकी सम्बन्धीत नियामक निकायले सहकारीको दिर्घकालीन विकासमा यस्ता मापदण्ड बनाउनु नै पर्छ । यदी सदस्यकै पैसा बचत लिएर सदस्य कै हितमा लगानी गरिन्छ भने पक्का पनि अफ्ट्यारो पर्दैन । तर अन्य बंैक वित्तीय संस्थाबाट ऋण लिएर सदस्यमा नै लगानी गरिन्छ भने संस्थाले कम नाफा कमाउन सक्ने हुन सक्छ । अन्यथा झापामा सहज नै लाग्छ । धेरै समस्या छ जस्तो मलाई लाग्दैन । संस्थाले सदस्यको हितमा काम गर्ने हो । नाफाभन्दा पनि सदस्यलाई सुविधा दिनु पर्छ । नाफा दिएर त कसैलाई पनि क्षणिक खुसी दिन सकिएला तर मनको सन्तुष्टि दिन सेवा नै चाहिन्छ । जय सहकारी ।

(लेखकः झापाको शिखर साकोसका अध्यक्ष हुन् )

अभिलेख

लोकप्रिय