१६ जेठ २०८३, शनिवार

सहकारी हाक्ने नेतृत्व खोजौं !

२०७३ वैशाख ७, मङ्गलबार
सहकारी हाक्ने नेतृत्व खोजौं !

ram– रामसूदन तिमल्सिना

चुनावी दौडमा हारेका वा राजनीतिमा सफल हुन नसकेकाहरुका लागि राजनीति गर्ने अखडा पनि बनेको छ, सहकारी ।  तर उनीहरु सहकारीको अहिलेको गम्भिर चुनौतीलाई सामना गर्न सक्ने सामर्थ किन राख्दैनन् ? 

नेपालको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्र सख्यात्मक हिसाबले निकै फस्टाएको देखिएको छ । तर सहकारी क्षेत्रलाई भित्र निहालेर हेर्ने हो भने सहकारीको मर्म, सिद्धान्तलाई आत्मसाथ गर्ने नेपालमा कुशल, इमान्दार र समर्पित नेताको अभाव स्पष्ट देखिन्छ ।

सहकारी एउटा आन्दोलन हो । नेतृत्व विना कुनै पनि अभियान, आन्दोलन तथा जनआन्दोलनले सार्थकता पाउँदैन । र सहकारी त्यस्तो आन्दोलन हो जसले नेपालको आर्थिक, सामाजिक, साँस्कृति सफलतालाई एउटै क्षेत्रबाट सफल बनाउन सक्छ । तर यतिबेला यस्तो सम्भावना बोकेको आन्दोलनमा कुशल, क्षमतावान, इमान्दार नेताको अभाव देखिन्छ ।
छिमेकी मुलुक भारतबाट नेपालले थुप्रै बस्तुमात्र आयत गरेको छैन, सँस्कृति, चालचलन, फेसनपनि आयत गरेको छ तर सहकारी क्षेत्रमा उदाहरणीय रुपमा रहेका संस्थाहरुबाट नेपालले सिक्न सकेको छैन । भारतमा विश्वकै उत्कृष्ट सहकारीहरु छन् । अमुल, इफ्को, सुगर कोअपरेटीभ, कृभको जस्ता उत्कृष्ट नमुना बनाएका सहकारी संस्था छन् । बर्षमा हजारांै नेपालका सहकारीकर्मीहरु भारतका यी संस्थाहरुको अध्ययन भ्रमण गर्दछन् । हाम्रो सहकारीका नेताहरु ति संस्थाहरुको उदाहरण दिइ दिई आफ्नो भाषणालाई लम्बाइरहेका हुन्छन् । तर काम गर्दा दलगत स्वार्थमा चुलुम्म डुबेर सहकारीको मर्म, धर्म र सिद्धान्तलाई एकातिर फ्क्याकिदिन्छन् ।

यतिबेला काठमाडौं बजार क्षेत्रका सहकारीलाई हेर्ने हो भने सहकारीको नामा स्वार्थी, शोषण कलामा परांगत, अवसरवादी, सकिर्ण दृष्टिकोण भएकाहरुको हाबी छ । सहकारीका छाता संगठनहरुको नेतृत्वलाई हेर्ने हो भने धन, सत्ता र शक्तिका लागि मरिमेट्न, स्वार्थ पुर्तिमा रुची राख्ने वा कुनै न कुनै राजनैतिक दलका नेता रहेका छन् ।

दलहरु के कालागि राजनीति गर्दछन्, सर्वाधिक धेरै निम्नस्तरका जनताले फाइदा पाउन सक्ने, देशको अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने सहकारी क्षेत्रलाई दलहरु यतिबेला आफ्ना कार्यकर्ता भर्तिगर्ने केन्द्रका रुपमा मात्र लिनुले नेपालको सहकारी आन्दोलन कतातिर लागिरहेकोछ भने भनिरहनु पर्दैन ।

दलमा प्रभाव पार्न सक्ने व्यक्तिहरु सहकारीका संघ/संगठनको नेतृत्वमा छन् । चुनावी दौडमा हारेका वा राजनीतिमा सफल हुन नसकेकाहरुका लागि राजनीति गर्ने अखडा पनि बनेको छ, सहकारी । तर उनीहरु सहकारीको अहिलेको गम्भिर चुनौतीलाई सामना गर्न सक्ने सामर्थ किन राख्दैनन् ? आफ्नो गुट उपगुट नातेदारको उद्धारमा केन्द्रित भएपछि नेपालको सहकारी आन्दोलनले के गति लिन्छ त्यसको ज्वलन्त उदाहरण यतिबेला सहकारी क्षेत्रमा देखिएको छ । केहि प्रारम्भिक सहकारी संस्थाहरुले उदाहरणिय काम गरेका छन् तर त्यसलाई प्रचार गरेर नेपालको सहकारी क्षेत्रको उपलब्धीलाई समेत गुडविल बेच्न सक्ने साम्यार्थ राख्न सक्ने नेतृत्व छाता संघहरुमा नरहने नेपालको सहकारी आन्दोलनका लागि विडम्बना नै हो ।

सरकार आफ्नै छ तर पनि सरकारलाई गाली गरेर भाषणा गरेको भरमा नेपाली सहकारी आन्दोलनको नेताको रुपमा परिचित गराइदै हिड्नु नेपालको सहकारी आन्दोलनका लागि विडम्बना नै हो । दलहरुले सहकारी विभाग गठन गरेर सहकारीलाई महत्व दिन खोजेको देखाएको छ तर ती विभाग प्रमुखहरुको काम सहकारीको संघ, संस्थाहरुको निर्वाचनमा आफु समर्थकहरुलाई नेतृत्व पुर्याउनका लागि भूमिका खेल्नुबाहेक केही देखिदैन ।

यो भन्दो पछि डरलाग्दो कुरा त के छ भने नेपालको सहकारी क्षेत्रमा कुशल, कर्मठ, योग्य, परोपकारी नेता निकै कम छन् ।

सहकारीमा नेतृत्व विकास हुन नसक्नु अर्काे विडम्बनानै मान्नुपर्छ । सत्ता र पदको जिम्मेवारी पाउँदैनमा उसलाई नेता मान्न सकिदैन ।

पछिल्लो समयमा सहकारी संघ संस्थाहरुको चुनावमा जित हात पार्नका लागि अपनाइएको अनैतिक हतकन्डा देख्दा माल्कन डार्लिगले भनेको कुरा याद आउँद । उनले भनेका छन, जुन देशका सहकारी र राजनीतिक सम्बन्ध बढी हुन्छ त्यो देशमा सहकारीको सिद्धान्त अनुसरण हुँदैन । 

शिक्षा र प्रशिक्षणको अभाव
सहकारीको मुटुका रुपमा शिक्षा र प्रशिक्षणलाई लिइन्छ । ग्रामिण भेगका प्रारम्भिक संस्थाहरुले सदस्य शिक्षालाई केही महत्व दिएको भए पनि त्यो प्रयाप्त छैन । सहरी क्षेत्रका अधिकांश सहकारीले प्रशिक्षण भन्ने शब्द सुन्न मन पराउँदैनन् । अझ सहरी क्षेत्रका संस्थाहरुमा त नयाँ सदस्यमाथि प्रतिबन्ध लगाइएको छ । यसका विषयमा सहकारीको मसिया ठान्नेहरु मुकदर्शक भएर बसेका छन् । नातेदारको उदारका लागि आफ्नो पहुँच र सत्तालाई प्रयोग गरेरै उनीहरु सन्तुष्ट छन् । सहकारीको आडमा व्यक्तिगत व्यवसायलाई बढवा दिनेहरुको बोलबाला भएपछि सहकारीको सिद्धान्तका कागतहरु भित्तामा मात्र सिमित हुन्छन् ।

सहकारीका अधिकांश निर्वाचनको प्रचारप्रसाद ताझामसँग गरिन्छ । पार्टीहरु टिकट दिन्छन, कार्यकर्तालाई नेतृत्वमा पुर्याउँछन् तर नेतृत्व विकासका कुनै पनि गतिविधि हुदैन । अहिले त विदेश सयर गर्ने एउटा माध्यम बनेको छ, सहकारी । खुलेआम आज पनि नातावाद र अलोकतान्त्रिक व्यवस्था सहकारी क्षेत्रमा बोलबाला भएको छ । साक्षी बस्नेहरुको कमी छैन । नेतृत्वले गुनासो मात्र गर्दैन आफै लम्किएर नयाँ युगको सुरुआत गर्दछ । नयाँ यात्राको थालनी गर्दछ तर यहाँ नेतृत्व परम्परा थामेर आफ्नो दुनो सोजाईरहेको छ । त्यसैले शिक्षा, प्रशिक्षण भन्दा पनि रानीतिक नेताको नजिक भएर नेतृत्वमा आउन सजिलो हुन्छ भने शिक्षा, प्रशिक्षणमा समय र पैसा खर्चिने बेकुफी कस्ले गर्दछ र ?

दलगत असफल राजैनतिक नेताको अखडा

राजनीति विना कुनै पनि क्षेत्र चल्न सक्दैन तर नेपालमा जब राजनीति दलको हावी हुन्छ । त्यो क्षेत्र फस्टाउन किन सक्दैन । किन राजनेताको प्रभाव परेको क्षेत्र फस्टाउनुपर्ने हो तर त्यो किन हुन सकेको छैन ? नेतृत्वले सोच्नैपर्छ ।
असन्तुष्ठ राजनीतिक नेताहरुको अखडाका रुपमा सहकारी क्षेत्र फस्टाउँदै गएको गुनासो सुनिन थालेको छ । सफल र नेतृत्व गर्न सक्नेहरुलाई सहकारीको नेतृत्वमा ल्याउनु आजको आवश्यकता हो ।

पछिल्लो समयमा सहकारी संघ संस्थाहरुको चुनावमा जित हात पार्नका लागि अपनाइएको अनैतिक हतकन्डा देख्दा माल्कन डार्लिगले भनेको कुरा याद आउँद । उनले भनेका छन, जुन देशका सहकारी र राजनीतिक सम्बन्ध बढी हुन्छ त्यो देशमा सहकारीको सिद्धान्त अनुसरण हुँदैन । सहकारी आन्दोलन कमजोर हुन्छ । उनको भनाई नेपालको सन्दर्भमा लागु हुन्छ । उनले भने झै नेपालको सहकारी आन्दोलन कमजोर हुनुको मुख्य कारण राजनीति नै हो । पदमा टिकिरहने खेल, शक्ति र सत्ताको भोगविलासी सहकारीमार्फत नेतृत्व विकासका लागि ठूलो चुनौती बनेको छ ।

सहकारी आन्दोलन तब सफल हुन्छ जब नेतृतव विकासमा प्रयाप्त पुँजी, मानव शक्ति प्रयोग हुन्छ ।

लोकतान्त्रिक विधि र पद्धतिमा नेताको अरुची

सहकारी व्यवसायकी संगठन हो । मानिसहरुको हितका लागि लोकतान्त्रिक विधि र सिद्धान्तमा रहेर गरिने व्यवसाय हो, सहकारी । यो कुनै दलको भाृत संस्था होइन । विशुद्ध सदस्यको हितका लागि सदस्यको नियन्त्रणमा गरिने व्यवसाय हो । जो व्यक्ति कर्मबाट नै समाजको हितमा योगदान दिइरहेको छ । त्यो नै सहकारीको नेतृत्वका लागि उपयुक्त हुन्छ । तर लोकतान्त्रिक विधि र पद्धति अनुसार सहकारी क्षेत्रमा चल्नका लागि यसमा लागेका नेताहरुको रुची छैन ।

मनिसको अत्याधिक कल्याणका लागि लोकतान्त्रिक सिद्धान्तामा आधारिक एक व्यवसायीक संगठनलाई नै सहकारी भनिन्छ ।

तथापी नेतृत्व पंत्तीबाट सहकारी आन्दोलनका लागि कामै भएको छैन भनेर उनीहरुको अवमुल्यांकन गर्न पनि मिल्दैन । काम भएको छ तर जुन स्पिडमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

सरकार फेरिएसँगै सहकारलिाई हेर्ने नजर परिवर्तन हुनु यसको अर्काै चुनौती हो । सहकारी आन्दोलन तब सफल हुन्छ जब नेतृतव विकासमा प्रयाप्त पुँजी, मानव शक्ति प्रयोग हुन्छ ।

प्रशिक्षक सहकारीको आधारभुति आवश्यकता हो तर अअधिकांश सहकारी संघ सस्थामा यी आधारभुत आवश्यकताकै अभाव छ । त्यसैले सहकारीहरु सिद्धान्त अनुसार प्रभावकारी ढंगले नचलेको आजको सन्दर्भ हो । सहकारीमा देखिएको अर्काे चुनौती भनेको समन्वयनको अभाव हो । अन्तर्राष्ट्रिय, राष्ट्रिय र जिल्लास्तरका सहकारीबीच हुनुपर्ने संचारको कमीले पनि हामी पछाडी परेका छौं । यसतर्फ पनिनेतृत्व जिम्मेवार हुनुपर्छ ।

त्यसैले नेपाल सहकारी अभियानलाई विश्वस्तरको उचाईमा पुर्याउन, यो मोडलमार्फत नेपाली जनताको आर्थिक स्तर उकास्नका लागि कुशल नेतृत्व चुन्नुको विकल्प छैन । नेतृत्व चयनका लागि स्वतन्त्ररुपमा अभिमत दिन पाउने अधिकारलाई सुरक्षित राखौ र कुशल नेतृत्व चयन गरौं ।

(लेखक काे-अपरेटर मासिकका सम्पादक हुन्)

अभिलेख

लोकप्रिय