२१ कात्तिक २०८३, शनिवार

कृषि र पशुपालनबाट आत्मनिर्भर

२०७२ माघ ८, शुक्रबार
कृषि र पशुपालनबाट आत्मनिर्भर

म्याग्दी । म्यादीको बेनी नगरपालिका–१३ बास्कुनाका स्थानीयवासी कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् ।
रोजगारीका लागि विदेश पुगेर फर्किएका युवा गाउँमै पशुपालन र व्यावसायिक रुपमा तरकारी तथा फलफूलखेतीमा लागेपछि गाउँकै मुहार फेरिएको छ । विदेशबाट फर्किएर गाउँमै व्यावसायिक रुपमा दुग्ध उत्पादन तथा सुन्तलाखेतीमा लागेका युवाले स्वदेशमा मिहेनत गर्न सकेमा रोजगारी गर्न विदेशिनु पर्दैन भन्ने उदाहरण समेत दिएका छन् ।
बास्कुनामा अहिले २० घरधुरीले व्यावसायिक रुपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन् भने करिब १० घरधुरी भैँसीपालनबाट दुग्ध उत्पादनमा लागेको अगुवा कृषक तिलक गुरुङले बताए । वैदेशिक रोजगारबाट फर्किएर विसं २०५९ मा कृषक गुरुङले सुरु गरेको भैसीपालन र व्यावसायिक तरकारी तथा फलफुलखेतीबाट सुरु गरेको अभियान अहिले गाउँभरी फैलिएको छ । बास्कुनाका कृषकले अहिले अन्नबालीको विकल्पमा खेतबारीमा सुन्तलाखेती विस्तार गरेका छन् ।
दश हजार सुन्तलाको बोट रोप्न तयार भइसकेको बास्कुनामा तीन हजार फल दिने सुन्तलाको बोट छन् । हरेक वर्ष अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गर्ने कृषकको सङ्ख्या बढेको बास्कुनाका कृषक भिमबहादुर थापाले बताए । अहिले हरेक वर्ष बास्कुनामा १५ लाखदेखि २० लाखसम्मको सुन्तला निर्यात हुने गरेको छ । सदरमुकाम बेनी नजिकै रहेकाले विभिन्न देशबाट फर्किएर कृर्षि र पशुपालनमा लागेका युवा उत्साहित बनेका छन् । गाउँमा मोटरबाटो पुगेपछि उत्पादित कृर्षि उपजको बजारीकरणमा सहज भएको छ ।

अभिलेख

लोकप्रिय