अख्तियारद्वारा गौरीशंकर सहकारीको सबै कारोबार रोक्का
काठमाडाैं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रमेशशेखर वज्राचार्यले स्रोत नखुलेको ४० लाख रुपैयाँ राखेको फेला पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सबै कारोबार रोक्का राखेको छ ।
मैतीदेवी, काठमाडौंमा मुख्य कार्यालय रहेको र रञ्जना गल्ली, न्युरोडमा शाखा कार्यालय रहेको उक्त सहकारी संस्थामा एआईजी वज्राचार्यले स्रोत नखुलेको उक्त रकम राखेको रहस्य सार्वजनिक भएपछि अख्तियारले उक्त संस्थाका सबै सदस्यहरुको कारोबार रोक्का गरेको हो । एआईजी वज्राचार्यको जाली भारतीय मुद्रा कारोबारमा संलग्नताबारेको समाचार भारतीय छापामाध्यममा निरन्तर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा एआईजी वज्राचार्यको नाममा स्रोत नखुलेको ४० लाख रुपैयाँ गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्थामा भेटिएको थियो । भारतीय पत्रपत्रिकाहरुले एआईजी वज्राचार्यविरुद्ध भारतीय जालीनोट कारोबारमा संलग्न भनी निरन्तर समाचार छापेपछि त्यसको छानबिन गर्न र बर्दीको रक्षा गर्न सरकारलाई झक्झक्याउँदै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एआईजी वज्राचार्यको सम्पत्तिमाथि छानबिन सुरु गरेको थियो । त्यही छानबिनका क्रममा उनले गौरीशंकर बुहउद्देश्यीय सहकारी संस्थामा राखेको ४० लाख रुपैयाँ भेटिएपछि अरु सबै सदस्य बचतकर्ताहरुको खाता कारोबार रोक्का गरी अख्तियारले छानबिन अघि बढाएको अख्तियारसम्बद्ध स्रोतको दाबी छ । वज्राचार्यको स्रोत नखुलेको उक्त रकम सम्बन्धमा आयोगले छानबिन अघि बढाएपछि गौरीशंकरका सञ्चालक तथा व्यवस्थापकहरु आफ्ना सदस्य र व्यवस्थापन सहयोगीसमेतलाई कुनै जानकारी नदिई विभिन्न बहानामा अन्यत्र पलायन हुँदै आएका छन् । गौरीशंकरका सञ्चालकहरुमध्येका एकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सहकारीमा २५ हजार सदस्यहरु रहेको र अख्तियारले ती सबैको खाता रोक्का गरेको बताए । तर सो सहकारीको २१४०१६२ नम्बरमामा फोन गर्दा एक महिलाले अर्को महिलालाई फोन ट्रान्सफर गरिन् ।
यस्तै कुराकानीमा ती महिला कर्मचारीले भने संस्थामा रहेका सदस्य संख्या बताउन नमिल्ने उल्लेख गरिन् । मैतीदेवीमा कार्यालय रहेको सो सहकारी संस्थाको ४४१८६८९ नम्बरमा फोन गर्दा फोन काटिएको आवाज आउँछ । उक्त संस्थाको वसन्तपुर काठमाडौंमा रहेको शाखा कार्यालय यतिबेला रञ्जना गल्लीको सोडा पसलअगाडि विना साइनबोर्ड सञ्चालन गरिएको र उक्त सहकारीबारे त्यसका सदस्यहरुलाई समेत सञ्चालकहरुले कुनै जानकारी नगराएको ती सञ्चालकले बताए । वडा नं. २३ मा रहेको कार्यालय लुसुक्क बन्द गरेर सञ्चालकहरु अर्ध–भूमिगत अवस्थामा बस्नथालेको झण्डै चार महिना भइसकेको स्रोतको दाबी छ ।
यस्तै, मैतीदेवीस्थित उक्त सहकारी संस्थाको मुख्य कार्यालय बन्द अवस्थामा रहेको छ । उक्त सहकारीमा कार्यरत एक कर्मचारीले आइतबार दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाभित्र कार्यक्षेत्र रहेको उक्त संस्थामा करिब १६ सय सदस्यहरु रहेको कारोबार करिब नौ करोड रुपैयाँ रहेको दाबी गरे । उक्त कार्यालयमा कार्यरत कर्मचारीलगायतका तथ्यांकका आधारहरु नै विरोधाभाषपूर्ण देखिएका छन् । दर्ता नं. ५२५–०५५÷०५६ रहेको उक्त संस्थामा यतिबेला अनुसन्धानका क्रममा एआईजी वज्राचार्यको स्रोत नखुलेको ४० लाख रुपैयाँ रहेको खुलासा भएपछि उक्त संस्थामा रकम जम्मा गरेका सयौँ सदस्यहरुको रकम समेत जोखिममा पर्ने देखिएको छ । संस्थामा अख्तियारले गरेको अनुसन्धानका क्रममा उक्त रकम रहेको खुलासा भएपछि कारोबार बन्द हुँदा सयौँ सदस्यहरु मर्कामा परेकाे अाजकाे अार्थिक दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
