किन लियो अमेरिकी दूतावासले सहकारीसँग पेस्की ?
काठमाडौं । सहकारी समूहमा आधारित हुनुपर्छ । समूहमा आबद्ध भएका अर्थात् सहोदर सदस्यहरुबाट सानो–सानो रकम बचतको रुपमा जम्मा गर्ने र त्यो बचत रकम तिनै सदस्यहरुमा परिचालन गर्ने कार्य सहकारीमा हुन्छ । सहकारीको विश्वव्यापी मान्यता पनि यही हो । सहकारीको कार्यक्षेत्र सीमित रहेको हुन्छ । सहकारी संस्थाले जुन वडामा कार्यक्षेत्र तोकेर दर्ता गरेको हुन्छ, त्यो वरिपरि रहेका पाँचवटा वडासम्मका सदस्यहरुबाट बचत संकलन गर्ने र कर्जा दिने गरेको हुन्छ । वास्तवमा गर्नुपर्ने पनि यही हो । तर सहकारीहरु यो दायराबाट विमुख हुँदै सहकारीको सिद्धान्त र भावनाविपरीत कार्य गर्दै आएका छन् । सहकारीको यस्तो सिद्धान्तविपरीतको कार्यमा नेपालमा रहेको अमेरिकी दूतावास पनि तानिएको छ । काठमाडौैंको मीनभवनमा रहेको कान्तिपुर सेभिङ एण्ड को–अपरेटिभ र उक्त को–अपरेटिभबाट लिएको एक करोड रुपैयाँ पेस्कीका कारण महाराजगञ्जमा रहेको अमेरिकी दूतावास विवादमा तानिएको छ । दूतावास र कान्तिपुर सेभिङ दुवै पेस्की प्रकरणमा विवादमा मुछिएका छन् ।
सहकारीको सिद्धान्तअनुसार अमेरिकी दूतावास सहकारीको बचतकर्ता सदस्य भएको खण्डमा मात्र उसले कर्जा अर्थात् पेस्की लिन पाउँछ । यो अवस्थामा कूटनीतिक दायराभन्दा बाहिर गएको अमेरिकी दूतावासले सहकारी संस्थासँग आर्थिक कारोबार गरेको छ । वास्तवमा यस्तो कारोबार ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग गर्नुपथ्र्यो । यस्तै सहकारी संस्थाहरुको नियामक निकाय सहकारी विभागले पनि उक्त कार्य गैरकानुनी रहेको स्पष्ट पारेको छ । सहकारीको नियमअनुसार उक्त दूतावासले संस्थाबाट कुनै पनि तरिकाबाट कर्जा लिनसक्ने अवस्था रहँदैन । तर पनि कान्तिपुर सेभिङबाट भने दूतावासले कर्जा लिएको देखिएको छ । विभागका एक अधिकारीले भने, ‘दूतावासले कर्जा लिएको घटनाले आश्चर्यमा पारेको छ । यसरी कुनै पनि दूतावासहरुले कर्जा लिन पाउँदैनन् ।’ संस्थाकै सदस्यहरुका लागि मात्रै कर्जा उपलब्ध गराउने सहकारी नियम रहे पनि उक्त सहकारीले दूतावासलाई कर्जा दिएको घटना रहस्यमय देखिएको छ ।
नेपालस्थित अन्य देशका दूतावासहरुले आफ्नो आर्र्थिक कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एसबिआई, एभरेष्टलगायतका बैंकहरुसँग गर्दै आएका छन् । तर अमेरिकी दूतावासले भने किन कान्तिपुर सहकारीसँग कर्जाको कारोबार ग-यो, के अमेरिकी दूतावास कान्तिपुर सहकारी बचतकर्ता हो ? प्रश्न चिह्न खडा भएको छ । यदि अमेरिकी दूतावास कान्तिपुर सहकारीमा बचतकर्ता नै रहेको अवस्थामा पनि सहकारीसँगको कारोबार चित्तबुझ्दो भएन । यसमा कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामाको समेत बदनियत देखिएको छ । अध्यक्षकै नाताले लामाले सहकारी दायराभन्दा माथि उठेर नियमविपरीत रुपमा पेस्की दिएका छन् । यसमा सहकारीका अध्यक्ष लामासहित प्रबन्धसञ्चालक राजेन्द्र साह, सचिव जोगलाल लामा, कोषाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरु सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र हर्षजीत लामा तथा लेखा समितिका संयोजक कञ्चन तामाङ, सदस्य हिमालय विक्रम ठकुरी र लेखा अधिकृत सुभास भक्त मल्लसमेतले स्वीकृति दिनुमा पनि यो प्रकरणमा सबैको मिलेमतो रहेको देखिन्छ । एउटा दूतावासले कूटनीतिक मर्यादा नाघेर सहकारीबाट पेस्की लिनु र सहकारीले ऐन नै मिचेर बचतकर्ता सदस्य समेत नरहेको अमेरिकी दूतावासलाई पेस्की दिनुमा दुवैको नियतमा शंका गर्ने ठाउँ रहेको छ । यो घटनामा के भएको हो ? यो मिल्छ वा मिल्दैन ? नियमसंगत छ वा छैन ? सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक छ ।
सहकारीको लेखापरीक्षण प्रतिवेदनमा लेखा परीक्षक स्वर्णकारले ‘अमेरिकी दूतावासको नाममा गत आर्थिक वर्षमा विना प्रयोजन दिइएको पेस्की एक करोड रुपैयाँ प्रस्तुत वर्षमा पनि असुल हुन बाँकी छ’ भनेर लेखेका छन् । यसबाट अमेरिकी दूतावासले २०६५ सालमै कान्तिपुर सहकारीबाट एक करोड रुपैयाँ पेस्की लिएको स्पष्ट हुन आएको छ । उक्त अडिट रिपोर्टमा ‘अमेरिकी दूतावासकै नाममा एक करोड २१ लाख रुपैयाँ लिनुपर्ने देखिन्छ तर यस वर्ष एक करोड रुपैयाँ मात्र लिन बाँकी रहेको देखिन्छ । तर उक्त २१ लाख रकम कसरी घट्यो र कसले ति-यो भन्नेचाहिँ देखिँदैन । त्यसको पछिल्लो वर्ष सबै रकम ‘क्लियर’ भएको देखिन्छ तर अमेरिकी दूतावासले उक्त रकम तिरेर ‘क्लियर’ गरेको कहीँ कतै अडिट रिपोर्टमा देखिँदैन, आखिर यो कसरी संभव भयो । यसको बारेमा सम्बन्धित निकायले पनि छानबिन गर्नुपर्ने अार्थिक दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
