२१ कात्तिक २०८३, शनिवार

किन लियो अमेरिकी दूतावासले सहकारीसँग पेस्की ?

२०७२ मंसिर १९, शनिवार
किन लियो अमेरिकी दूतावासले सहकारीसँग पेस्की ?

काठमाडौं । सहकारी समूहमा आधारित हुनुपर्छ । समूहमा आबद्ध भएका अर्थात् सहोदर सदस्यहरुबाट सानो–सानो रकम बचतको रुपमा जम्मा गर्ने र त्यो बचत रकम तिनै सदस्यहरुमा परिचालन गर्ने कार्य सहकारीमा हुन्छ । सहकारीको विश्वव्यापी मान्यता पनि यही हो । सहकारीको कार्यक्षेत्र सीमित रहेको हुन्छ । सहकारी संस्थाले जुन वडामा कार्यक्षेत्र तोकेर दर्ता गरेको हुन्छ, त्यो वरिपरि रहेका पाँचवटा वडासम्मका सदस्यहरुबाट बचत संकलन गर्ने र कर्जा दिने गरेको हुन्छ । वास्तवमा गर्नुपर्ने पनि यही हो । तर सहकारीहरु यो दायराबाट विमुख हुँदै सहकारीको सिद्धान्त र भावनाविपरीत कार्य गर्दै आएका छन् । सहकारीको यस्तो सिद्धान्तविपरीतको कार्यमा नेपालमा रहेको अमेरिकी दूतावास पनि तानिएको छ । काठमाडौैंको मीनभवनमा रहेको कान्तिपुर सेभिङ एण्ड को–अपरेटिभ र उक्त को–अपरेटिभबाट लिएको एक करोड रुपैयाँ पेस्कीका कारण महाराजगञ्जमा रहेको अमेरिकी दूतावास विवादमा तानिएको छ । दूतावास र कान्तिपुर सेभिङ दुवै पेस्की प्रकरणमा विवादमा मुछिएका छन् ।
सहकारीको सिद्धान्तअनुसार अमेरिकी दूतावास सहकारीको बचतकर्ता सदस्य भएको खण्डमा मात्र उसले कर्जा अर्थात् पेस्की लिन पाउँछ । यो अवस्थामा कूटनीतिक दायराभन्दा बाहिर गएको अमेरिकी दूतावासले सहकारी संस्थासँग आर्थिक कारोबार गरेको छ । वास्तवमा यस्तो कारोबार ‘क’ वर्गका वाणिज्य बैंकहरुसँग गर्नुपथ्र्यो । यस्तै सहकारी संस्थाहरुको नियामक निकाय सहकारी विभागले पनि उक्त कार्य गैरकानुनी रहेको स्पष्ट पारेको छ । सहकारीको नियमअनुसार उक्त दूतावासले संस्थाबाट कुनै पनि तरिकाबाट कर्जा लिनसक्ने अवस्था रहँदैन । तर पनि कान्तिपुर सेभिङबाट भने दूतावासले कर्जा लिएको देखिएको छ । विभागका एक अधिकारीले भने, ‘दूतावासले कर्जा लिएको घटनाले आश्चर्यमा पारेको छ । यसरी कुनै पनि दूतावासहरुले कर्जा लिन पाउँदैनन् ।’ संस्थाकै सदस्यहरुका लागि मात्रै कर्जा उपलब्ध गराउने सहकारी नियम रहे पनि उक्त सहकारीले दूतावासलाई कर्जा दिएको घटना रहस्यमय देखिएको छ ।
नेपालस्थित अन्य देशका दूतावासहरुले आफ्नो आर्र्थिक कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एसबिआई, एभरेष्टलगायतका बैंकहरुसँग गर्दै आएका छन् । तर अमेरिकी दूतावासले भने किन कान्तिपुर सहकारीसँग कर्जाको कारोबार ग-यो, के अमेरिकी दूतावास कान्तिपुर सहकारी बचतकर्ता हो ? प्रश्न चिह्न खडा भएको छ । यदि अमेरिकी दूतावास कान्तिपुर सहकारीमा बचतकर्ता नै रहेको अवस्थामा पनि सहकारीसँगको कारोबार चित्तबुझ्दो भएन । यसमा कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामाको समेत बदनियत देखिएको छ । अध्यक्षकै नाताले लामाले सहकारी दायराभन्दा माथि उठेर नियमविपरीत रुपमा पेस्की दिएका छन् । यसमा सहकारीका अध्यक्ष लामासहित प्रबन्धसञ्चालक राजेन्द्र साह, सचिव जोगलाल लामा, कोषाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरु सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र हर्षजीत लामा तथा लेखा समितिका संयोजक कञ्चन तामाङ, सदस्य हिमालय विक्रम ठकुरी र लेखा अधिकृत सुभास भक्त मल्लसमेतले स्वीकृति दिनुमा पनि यो प्रकरणमा सबैको मिलेमतो रहेको देखिन्छ । एउटा दूतावासले कूटनीतिक मर्यादा नाघेर सहकारीबाट पेस्की लिनु र सहकारीले ऐन नै मिचेर बचतकर्ता सदस्य समेत नरहेको अमेरिकी दूतावासलाई पेस्की दिनुमा दुवैको नियतमा शंका गर्ने ठाउँ रहेको छ । यो घटनामा के भएको हो ? यो मिल्छ वा मिल्दैन ? नियमसंगत छ वा छैन ? सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक छ ।
सहकारीको लेखापरीक्षण प्रतिवेदनमा लेखा परीक्षक स्वर्णकारले ‘अमेरिकी दूतावासको नाममा गत आर्थिक वर्षमा विना प्रयोजन दिइएको पेस्की एक करोड रुपैयाँ प्रस्तुत वर्षमा पनि असुल हुन बाँकी छ’ भनेर लेखेका छन् । यसबाट अमेरिकी दूतावासले २०६५ सालमै कान्तिपुर सहकारीबाट एक करोड रुपैयाँ पेस्की लिएको स्पष्ट हुन आएको छ । उक्त अडिट रिपोर्टमा ‘अमेरिकी दूतावासकै नाममा एक करोड २१ लाख रुपैयाँ लिनुपर्ने देखिन्छ तर यस वर्ष एक करोड रुपैयाँ मात्र लिन बाँकी रहेको देखिन्छ । तर उक्त २१ लाख रकम कसरी घट्यो र कसले ति-यो भन्नेचाहिँ देखिँदैन । त्यसको पछिल्लो वर्ष सबै रकम ‘क्लियर’ भएको देखिन्छ तर अमेरिकी दूतावासले उक्त रकम तिरेर ‘क्लियर’ गरेको कहीँ कतै अडिट रिपोर्टमा देखिँदैन, आखिर यो कसरी संभव भयो । यसको बारेमा सम्बन्धित निकायले पनि छानबिन गर्नुपर्ने अार्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय