२१ कात्तिक २०८३, शनिवार

सङ्कटको सहयात्री : साझा यातायात सहकारी

२०७२ मंसिर १०, बिहिबार
सङ्कटको सहयात्री : साझा यातायात सहकारी

– गोविन्द मरासिनी

काठमाडौं । भारतको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा सहज रुपमा यातायातको साधन सञ्चालन हुन नसके पनि साझा यातायात सहकारीले संचालन गरेको साझा यातायातले सर्वसाधारणको सङ्कटको साथी बनेको छ ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण आमसर्वसाधारण ठूलो समस्या बेहोर्नु बाध्य छन् । नागरिकले यसरी समस्या भोगिरहँदा साझा यातायात अहिले नागरिकको साथी बनेको यात्रु स्वयम् बताउँछन् ।

लामो समय बन्द रहेर पछिल्लो समय २०७० साल देखि पुनः सञ्चालन भएको साझा यातायातबाट नागरिकलाई ठूलो सहयोग हुँदै आएको छ । नाकाबन्दीका कारण नागरिकले समस्या भोग्नुपरेकाले यात्रुको सहजताका लागि नै अहिले साझाले आफ्नो सेवा विस्तार गरेको साझा यातायात सहकारीका कामु प्रमुख कार्यकारी निर्देशक पहेन्द्र पाण्डेले जानकारी दिए । सेवा विस्तारपछि लगनखेलदेखि बूढानीलकण्ठसम्म बस सञ्चालनमा छ ।

सेवा विस्तारमात्रै नभई यात्रुलाई थप सेवा होस् भन्ने उद्देश्यले अब छिट्टै २५ वटा बस थप्ने तयारी रहेको पाण्डेले बताए । अहिले उपत्यकामा १६ वटा साझा बस सञ्चालनमा छन् । सञ्चालनमा रहेका अन्य यातायातका साधनले जथाभावी भाडा असुल गरिरहँदा साझा बसले भाडा दर विद्यार्थीका लागि १० र अन्य नागरिकका लागि १५ निर्धारण गरेको छ ।

यातायातका साधन सहज रुपमा नपाउने र बढी भाडा लिने भएकाले यात्रुहरु पाएसम्म साझा यातायात नै चढ्ने गरेका छन् । बसमा यात्रा गरिरहनुभएका हरि शर्मा थोरै यात्रुले मात्र सेवा लिन पाएकाले यात्रुको चापलाई ध्यानमा राख्दै सक्दो छिटो बस थप्नुपर्ने बताउँछन् ।

यस्तै पुरानो बसपार्कबाट कलङ्कीका लागि बस चढ्नुभएकी सीता उप्रेती अहिले साझा बस विकल्पका रुपमा रहेकामा खुसी हुँदै सङ्ख्या थप गरी सेवा विस्तार गर्नेतर्फ व्यवस्थापनले सोच्न आवश्यक रहेको बताइन । यसरी यात्रुले साझा बसलाई बढी मन पराइरहँदा टिकट बिक्रीबाट बसले पनि तुलनात्मक रुपमा केही बढी आम्दानी गर्दै आएको छ ।

नाकाबन्दीअघि १६ वटा बसमा दैनिक १० हजार नागरिक चढ्दै आएका थिए भने अहिले झन्डै १५ हजार यात्रुले यस बसबाट सेवा लिने गरेका छन् । टिकट बिक्रीबाट दैनिक रु एक लाख ८० हजारसम्म आम्दानी गर्दै आएको कार्यकारी निर्देशक पाण्डेले बताए । “दुई महिनाअघि टिकट बिक्रीबाट दैनिक रु एक लाख ५० हजारमात्र अम्दानी हुने गरेको थियो” उनले भने ।

सञ्चालनमा रहेका सबै बसको एक पटकमा यात्रु बोक्न सक्ने सिट क्षमता ५४ रहेको छ । तर इन्धन अभावले गर्दा यातायात साधन कम चलेकाले यात्रुले उभिएरै पनि यात्रा गरिरहेका छन् ।

यात्रुको समस्या काठमाडौँ उपत्यकामा मात्रै नभई बाहिर पनि रहेकाले सम्भव भएसम्म उपत्यका बाहिर पनि साझा बस सेवा सञ्चालन गर्न यात्रुले आग्रह गरेका छन् ।

अभिलेख

लोकप्रिय