२१ कात्तिक २०८३, शनिवार

कक्षा ९ र १० का विद्यार्थीलाई सहकारी शिक्षा

२०७२ असोज २७, बुधबार
कक्षा ९ र १० का विद्यार्थीलाई सहकारी शिक्षा

कालीकोट । राज्यले सहकारी शिक्षाका लागि अनिवार्य नगरे पनि ग्रामीण क्षेत्रमा एक सहकारी संस्था र विद्यालयको संयुक्त पहलमा विद्यालयमा सहकारी शिक्षासम्बन्धी कक्षा सञ्चालन हुने भएको छ ।

जिल्लाको स्युना गाविसमा रहेको कालासिल्ला मावि गोर्खाली गाउँमा कक्षा ९ र १० का विद्यार्थीलाई सहकारी शिक्षा दिन लागिएको हो । विद्यालयका प्रधानाध्यापक सन्तराज शाही र हिमचुली कृषि सहकारी संस्थाका प्रतिनिधि रुपेन्द्र ऐडी र विद्यालयका शिक्षकसँगको बैठकमा पहिलो चरणमा महिनामा एक दिन र सो समयलाई बढाएर दुईदेखि पाँच दिनसम्म सहकारी शिक्षासम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी भएको बताइएको छ ।

पछिल्लो समयमा तीनखम्बे अर्थनीतिका कारण राज्यले सहकारीलाई प्राथमिकता दिन थालेपछि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता बढ्दै गएकाले विद्यालयमा सहकारीसम्बन्धी शिक्षा दिनु सकारात्मक भएको प्रधानाध्यापक सन्तराज शाहीले बताए ।

कक्षा ११ र १२ मा ऐच्छिकरुपमा पढाइ हुने गरे पनि कालीकोटमा भने सहकारीसम्बन्धी विषय लिएर कसैले अध्ययन गरेका छैनन् । सुरुवातको चरणमा मासिक एक दिन सहकारीसम्बन्धी शिक्षा दिने र विद्यार्थीमा हाजिरी जवाफ, देउडा, सडक नाटक, श्रव्य दृश्यलगायत माध्यमबाट समेत चेतना अभिवृद्धि गर्न लागेको हिमचुली कृषि सहकारी संस्थाले जनाएको छ ।

संस्थाले तीन वर्षअघि स्थानीयस्तरमा मावि तथा उमाविमा सहकारी शिक्षा दिने योजना बनाए पनि कार्यान्वयन नभएको अवस्थामा यस वर्षबाट सहकारीसम्बन्धी शिक्षाको तयारी भइरहेको बताइएको छ ।

कालीकोट जिल्लामा एक सय बढी सहकारी संस्था स्थापना भएर विभिन्न कार्य गरे पनि सहकारीसम्बन्धी शिक्षाका लागि चेतना अभिवृद्धि हुन नसक्दा सहकारी संस्थाप्रतिको जनविश्वास घटेको बताइएको छ । सहकारीमा पाँच करोड बढीको कारोबार गरेको बताइएको छ ।

अभिलेख

लोकप्रिय