२१ कात्तिक २०८३, शनिवार

सहारा सहकारीद्वारा सदस्यको १० करोड ऋण मिनाहा

२०७२ असोज ४, सोमबार
सहारा सहकारीद्वारा सदस्यको १० करोड ऋण मिनाहा

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पूर्वका छ जिल्लाका चार हजारभन्दा बढी घर परिवारको करिब दश करोड ५० लाख ऋण मिनाहा गरेको छ । संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा योजना कार्यक्रमअन्तर्गत विपन्न परिवारका सदस्यलाई प्रदान गरिएको सो रकम मिनाहा गरेको हो । सहकारीमा आबद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि परिवारका अन्य सदस्यले आर्थिक भार बेहोर्नु नपरोस् भनेर सहकारीले सो कार्यक्रम संचालन गरेको जनाएको छ ।

तीन वर्षको अवधिमा चार हजार १ सय ५३ घरपरिवारका सदस्यले लिएकोे उक्त ऋण मिनाहा गरिएको संस्थाको भनाइ छ । कार्यालयका वरिष्ठ विभागीय प्रमुख दीनेशबहादुर निरौलाले तीन वर्ष अगाडि सहकारीले जिल्लामा नै पहिलो पटक सञ्चालन गरेको यो अभियानअन्तर्गत आबद्ध आफ्ना ऋणी सदस्यको मृत्युपछि उसले लिएको सम्पूर्ण ऋण मिनाहा गर्दै मृतकका परिवारलाई काजकिरिया खर्चबापत थप २४ प्रतिशत रकम प्रदान गरेको बताए ।
ऋणी सदस्यले लिएको ऋणको सम्पूर्ण रकम तिर्न नसक्दै उसको मृत्यु भएमा सहकारीले मृतकको परिवारलाई तिरेको ऋण फिर्ता गर्दै तिर्न बाँकी ऋणसमेत मृतकका हकवालालाई दिने गरेको निरौलाको भनाइ छ । सहकारीमार्फत जुनसुकै शीर्षकमा आफ्ना सदस्यले ऋण लगेको भए पनि उसको मृत्यु भएमा तिर्दै आएको रकम कार्यक्रमअनुसार फिर्ता गर्ने र तिर्न बाँकी रकमसमेत उसको परिवारलाई उल्टै सहकारीले प्रदान गर्ने बताए ।
‘सामाजिक सुरक्षा कार्यक्रम एक हिसाबले बिमा गरेजस्तै हो’ उनले भने – ‘कारणबस ऋणी सदस्यको मृत्यु भएमा उसको परिवारले भविश्यमा ऋणको चिन्ता बेहोर्नु नपरोस् भनेर सहकारीले यस्तो कार्यक्रम ल्याएको हो ।’ साथै यस सहकारीले ऋणी सदस्यको मृत्यु हुँदा प्रदान गरिने सेवाबाहेक सदस्यका श्रीमान्को मृत्यु हुँदासमेत काजकिरिया खर्चका लागि सात हजार ५ सय नगद प्रदान गर्ने गरेको छ ।

विसं २०५२ मा जिल्लाको चारपानेबाट कारोबार सुरु गरेको सहकारीको झापासहित इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुरमा कार्यक्षेत्र रहेका छन् । संस्थाका चारवटा इलाका कार्यालय र ४५ वटा सेवा केन्द्रमा गरी ३ सय १३ जनाले प्रत्यक्ष रोगजार पाएका छन् ।

सहारा नेपाल आव २०७१/७२ को एक आर्थिक बर्षमामात्रै रु १० करोड ५० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । २२ करोड ३४ लाख सेयर पुँजी रहेको सहकारीमा आबद्ध सदस्यबाट रु एक अर्ब ३५ करोड ५८ लाख बचत गर्न सफल भएको कार्यालयका वरिष्ठ विभागीय प्रमुख निरौला जानकारी दिए । सहकारीले आफ्ना सदस्यलाई रु २ अर्ब ४ करोड ६ लाख ऋण लगानी गरेको कार्यालयले जनाएको छ । यस्तै, यो सहकारीले यो आवमा २ करोड ८० लाख ४९ हजार रुपैयाँ राजस्व बुझाएको छ ।

अभिलेख

लोकप्रिय