सहकारी सुदृढीकरणका लागि २० करोड १० लाख विनियोजन
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७२/०७३ मा सहकारी क्षेत्रको सुदृढीकरणका लागि २० करोड १० लाख पाँच हजार रुपैयाँ विनियोजन गरेको छ । सहकारी क्षेत्रको विकास तथा विस्तारका लागि तालिम, शिक्षालगायतका अन्य कार्यका लागि सरकारले सहकारी विभागमार्फत सञ्चालन हुने गरी उक्त रकमको बजेट विनियोजन गर्दै आएको छ । सहकारी विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको लागि उक्त रकम विनियोजन गरिएको हो । विभागका अनुसार चालू आर्थिक वर्षमा विभागलाई एक करोड ५७ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विभाग, विभिन्न प्रशिक्षण केन्द्र तथा डिभिजन सहकारी कार्यालयहरुका कर्मचारीहरुको तलबभत्ताका लागि मात्रै सरकारले १८ करोड पाँच लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ । सहकारी प्रशिक्षण केन्द्रका लागि पाँच करोड ८४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । सरकारले सहकारीमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्य लिए पनि सोहीअनुसारका काम तथा ठोस योजनाहरु यो वर्ष पनि ल्याउन नसकेको देखिएको छ ।
विभागले सहकारी सुदृढीकरणका लागि उक्त बजेट विभागमा आएको र सो रकम तालिम, सहकारीसँग सम्बन्धित उद्योगहरुका लागि विनियोजन गरिने भने पनि कुनै परियोजना तथा आयोजनाहरु सञ्चालनका लागि खासै महत्व दिएको छैन । सहकारीमा सरकारले वार्षिक रुपमा बजेट विनियोजन गरेको छ । प्रत्येक वर्ष नै उक्त रकम सहकारीको शिक्षा, तालिम तथा यस्तै स–साना छरिएर रहेका कार्यक्रमहरुमा जाँदा सहकारीमा गएको बजेटले खासै उपलब्धि दिनसकेको छैन । मुलुकमा सहकारी स्थापना भएको लामो अवधि भए पनि सरकारले वार्षिक रुपमा सहकारीको चेतना तथा शिक्षाका लागि भन्दै विशेष बजेट नै विनियोजन गर्दै आएको छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद घिमिरेले सहकारीमार्फत सञ्चालनमा आएका उद्योग तथा व्यवसायहरुलाई सहयोग गर्ने उद्देश्यले सहकारी सुदृढीकरणका लागि विनियोजन भएको रकम परिचालन गरिने जानकारी दिए । चालू आर्थिक वर्षमा पनि सहकारी शिक्षा र तालिमलाई नै विशेष प्राथमिकतामा राखेको समेत उनले बताए । यस्तै, विभागले गत आर्थिक वर्ष २०७१÷०७२मा १७ वटा विभिन्न परियोजनाहरुलाई दुई करोड २३ लाख ७५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको जनाएको छ ।
यस्तै, गत आर्थिक वर्ष सहकारी सुदृढीकरणका लागि सरकारले १८ करोड ६१ लाख ४८ हजारमध्ये १७ करोड ५६ लाख ३३ हजार खर्च भई ९४ दशमलव ३८ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । विभागका अनुसार सहकारी प्रशिक्षण केन्द्रका लागि विनियोजन भएको पाँच करोड ६२ लाख ९३ हजार रुपैयाँमध्ये पाँच करोड ४४ लाख एक हजार रुपैयाँ खर्च भएको छ । यस्तै, विभागका अनुसार अनुदान वितरण भएका परियोजनाहरुमा ४४ वटा गाई, बाख्रा, माछा, बंगुरपालनमा, छवटा उच्च मूल्यका कृषि प्रशोधनमा, छवटा दलितहरुको पेशालाई आधुनिकीकरण गर्ने परियोजनालगायतका रकम अनुदान गएको छ ।
आईटीबेस हुदै सहकारी कार्यालय
सहकारी विभागले सहकारी डिभिजन कार्यालयहरुलाई प्रविधियुक्त बनाउने उद्देश्यले सबै डिभिजन प्रमुखहरुलाई प्रविधिमुखी तालिम दिएको छ । सहकारी सूचनाहरुलाई सफ्टवेयर प्रविधिमा लैजानका लागि विभागले डिभिजन प्रमुख र सहायक प्रमुखहरुलाई तालिम दिएको छ ।सहकारीको सूचना पारदर्शी बनाउन र अभिलेख अद्यावधिक गराउनका लागि सूचना प्रविधिमुखी तालिम दिएको विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले जानकारी दिए । उनले पाँचै विकास क्षेत्रका डिभिजन प्रमुखहरुलाई यस प्रकारको तालिम दिएको भन्दै आगामी असोजको पहिलो सातादेखि सबै क्षेत्रका सहायक प्रमुखहरुलाई जुम्लामा उक्त तालिम दिने तयारी गरिएको जानकारी दिए । सबै डिभिजनका कर्मचारीहरुलाई ल्यापटपसहित तालिममा सहभागी हुन उनले निर्देशनसमेत दिए । जुम्लामा चार दिने तालिम सञ्चालन गर्ने विभागले तयारी गरेको छ । सहकारीका सूचनाहरु एउटै सफ्टवेयरबाट सञ्चालन गरी सरल र पारदर्शी बनाउनका लागि उक्त तालिम दिइने तयारी गरिएको हो । उक्त तालिम सफ्टवेयर सञ्चालनका लागि केन्द्रित गरिनेछ ।
- आर्थिक दैनिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
