२१ कात्तिक २०८३, शनिवार

सहकारी सुदृढीकरणका लागि २० करोड १० लाख विनियोजन

२०७२ भदौ ३१, बिहिबार
सहकारी सुदृढीकरणका लागि २० करोड १० लाख विनियोजन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७२/०७३ मा सहकारी क्षेत्रको सुदृढीकरणका लागि २० करोड १० लाख पाँच हजार रुपैयाँ विनियोजन गरेको छ । सहकारी क्षेत्रको विकास तथा विस्तारका लागि तालिम, शिक्षालगायतका अन्य कार्यका लागि सरकारले सहकारी विभागमार्फत सञ्चालन हुने गरी उक्त रकमको बजेट विनियोजन गर्दै आएको छ । सहकारी विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको लागि उक्त रकम विनियोजन गरिएको हो । विभागका अनुसार चालू आर्थिक वर्षमा विभागलाई एक करोड ५७ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विभाग, विभिन्न प्रशिक्षण केन्द्र तथा डिभिजन सहकारी कार्यालयहरुका कर्मचारीहरुको तलबभत्ताका लागि मात्रै सरकारले १८ करोड पाँच लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ । सहकारी प्रशिक्षण केन्द्रका लागि पाँच करोड ८४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । सरकारले सहकारीमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्य लिए पनि सोहीअनुसारका काम तथा ठोस योजनाहरु यो वर्ष पनि ल्याउन नसकेको देखिएको छ ।
विभागले सहकारी सुदृढीकरणका लागि उक्त बजेट विभागमा आएको र सो रकम तालिम, सहकारीसँग सम्बन्धित उद्योगहरुका लागि विनियोजन गरिने भने पनि कुनै परियोजना तथा आयोजनाहरु सञ्चालनका लागि खासै महत्व दिएको छैन । सहकारीमा सरकारले वार्षिक रुपमा बजेट विनियोजन गरेको छ । प्रत्येक वर्ष नै उक्त रकम सहकारीको शिक्षा, तालिम तथा यस्तै स–साना छरिएर रहेका कार्यक्रमहरुमा जाँदा सहकारीमा गएको बजेटले खासै उपलब्धि दिनसकेको छैन । मुलुकमा सहकारी स्थापना भएको लामो अवधि भए पनि सरकारले वार्षिक रुपमा सहकारीको चेतना तथा शिक्षाका लागि भन्दै विशेष बजेट नै विनियोजन गर्दै आएको छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद घिमिरेले सहकारीमार्फत सञ्चालनमा आएका उद्योग तथा व्यवसायहरुलाई सहयोग गर्ने उद्देश्यले सहकारी सुदृढीकरणका लागि विनियोजन भएको रकम परिचालन गरिने जानकारी दिए । चालू आर्थिक वर्षमा पनि सहकारी शिक्षा र तालिमलाई नै विशेष प्राथमिकतामा राखेको समेत उनले बताए । यस्तै, विभागले गत आर्थिक वर्ष २०७१÷०७२मा १७ वटा विभिन्न परियोजनाहरुलाई दुई करोड २३ लाख ७५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको जनाएको छ ।
यस्तै, गत आर्थिक वर्ष सहकारी सुदृढीकरणका लागि सरकारले १८ करोड ६१ लाख ४८ हजारमध्ये १७ करोड ५६ लाख ३३ हजार खर्च भई ९४ दशमलव ३८ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । विभागका अनुसार सहकारी प्रशिक्षण केन्द्रका लागि विनियोजन भएको पाँच करोड ६२ लाख ९३ हजार रुपैयाँमध्ये पाँच करोड ४४ लाख एक हजार रुपैयाँ खर्च भएको छ । यस्तै, विभागका अनुसार अनुदान वितरण भएका परियोजनाहरुमा ४४ वटा गाई, बाख्रा, माछा, बंगुरपालनमा, छवटा उच्च मूल्यका कृषि प्रशोधनमा, छवटा दलितहरुको पेशालाई आधुनिकीकरण गर्ने परियोजनालगायतका रकम अनुदान गएको छ ।
आईटीबेस हुदै सहकारी कार्यालय
सहकारी विभागले सहकारी डिभिजन कार्यालयहरुलाई प्रविधियुक्त बनाउने उद्देश्यले सबै डिभिजन प्रमुखहरुलाई प्रविधिमुखी तालिम दिएको छ । सहकारी सूचनाहरुलाई सफ्टवेयर प्रविधिमा लैजानका लागि विभागले डिभिजन प्रमुख र सहायक प्रमुखहरुलाई तालिम दिएको छ ।सहकारीको सूचना पारदर्शी बनाउन र अभिलेख अद्यावधिक गराउनका लागि सूचना प्रविधिमुखी तालिम दिएको विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले जानकारी दिए । उनले पाँचै विकास क्षेत्रका डिभिजन प्रमुखहरुलाई यस प्रकारको तालिम दिएको भन्दै आगामी असोजको पहिलो सातादेखि सबै क्षेत्रका सहायक प्रमुखहरुलाई जुम्लामा उक्त तालिम दिने तयारी गरिएको जानकारी दिए । सबै डिभिजनका कर्मचारीहरुलाई ल्यापटपसहित तालिममा सहभागी हुन उनले निर्देशनसमेत दिए ।  जुम्लामा चार दिने तालिम सञ्चालन गर्ने विभागले तयारी गरेको छ । सहकारीका सूचनाहरु एउटै सफ्टवेयरबाट सञ्चालन गरी सरल र पारदर्शी बनाउनका लागि उक्त तालिम दिइने तयारी गरिएको हो । उक्त तालिम सफ्टवेयर सञ्चालनका लागि केन्द्रित गरिनेछ ।

  • आर्थिक दैनिक

अभिलेख

लोकप्रिय