२१ कात्तिक २०८३, शनिवार

सहकारीको गुणात्मक विकासका लागि मर्जर अनिवार्य – सहकारी सचिव

२०७२ भदौ १९, शनिवार
सहकारीको गुणात्मक विकासका लागि मर्जर अनिवार्य – सहकारी सचिव

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आफ्नो पाचौं स्थापना दिवस मनाएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै सचिव शंकरप्रसाद अधिकारीले सहकारीको गुणात्मक विकासका लागि मर्जरमा अनिवार्य जानुपर्ने बताए । हकारीको गुणात्मक विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति अबलम्बन गर्न लागिएको बताए । ‘सहकारी एकीकरण नीति ड्राफ्ट गर्दछौं’ उनले भने, ‘नीति बनेपछि सहकारी मर्जमा जान सजिलो हुन्छ ।’ हालसम्म ३३ हजार सहकारी दर्ता भएपनि एकीकरण नीति प्रभावकारी नहँुदा समस्या भएको उहाको भनाई थियो । सहकारीको विकासका लागि अब बन्ने सहकारी ऐनमा दण्ड र कैदमा जोड दिइएको सचिव अधिकारीले बताए । सहकारी ऐन २०४८ मा दण्डात्मक व्यवस्था नभएकाले केही सहकारीमा विकृति बढेको उनको भनाई थियो ।
समस्याग्रस्त सहकारीको व्यवस्थापन र समस्या समाधान गर्ने संयन्त्र बनाउन लागिएको सचिव अधिकारीले जानकारी दिए । कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदानबारे अध्ययन हुन नसकेको भन्दै सचिव अधिकारीले आउँदो आर्थिक वर्षदेखि अध्ययन गरिने बताए ।
राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले कर्जा सूचना केन्द्र निर्माणका लागि सरोकारवाला निकायको छुट्टै संयन्त्र बनाउनुपर्ने बताए । ‘कर्जा सूचना केन्द्रको काम निजी कम्पनीलाई दिने चलखेल भइरहेको छ, यदी त्यसो भए हामीलाई स्वीकार्य हुने छैन्’ उनले भने, ‘यदी त्यसो भएमा अभियानको साथ, सहयोग र समर्थन सरकारलाई रहने छैन् ।’
सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले सहकारी सुरक्षित, मर्यादित बनाउन आवश्यक भएको बताए । ‘सहकारीको साख गिर्न दिनुहुन्न, सहकारीको सिद्वान्त राम्रो भएपनि केही सहकारी सहकारी सिद्वान्त विपरित चलेका छन्’ उनले भने ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीको गुणत्मक विकासका लागि सहकारी एकीकरणमा दवावमुलक कार्यक्रम नै सञ्चालन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्ष गोकर्ण अवस्थीले सहकारीका विकृति, विसंगती अन्त्य गर्न कलम चलाउन आवश्यक भएको बताए । सहकारी गाउँ केन्द्रित हुन सकेमात्र अर्थतन्त्रमा सहकारी सबल खम्बा बन्न सक्ने उनको भनाई थियो ।
नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी अभियान पारदर्शी र सञ्चारमैत्री हुन नसक्दासम्म अर्थतन्त्रको सबल खम्बा बन्न नसकेको बताए ।

अभिलेख

लोकप्रिय