२१ कात्तिक २०८३, शनिवार

मन्दिर संरक्षण र चन्दननाथ उमावि भवन निर्माणको लागि ५८ करोड सहयोग

२०७२ भदौ १९, शनिवार
मन्दिर संरक्षण र चन्दननाथ उमावि भवन निर्माणको लागि ५८ करोड सहयोग

काठमाडौं । नेपालका लागि भारतीय राजदुत रणजीत रायले ३३ करोड ३ लाख रुपैंया अनुदान सहयोगमा निर्माणाधिन डोल्पा जिल्लाको श्री बाला त्रिपुरा सुन्दरीदेवी मन्दिर संरक्षण तथा जिर्णाेद्धार तथा २४ करोड ९४ लाख मिलियन रुपैंया भारतीय सहयोगमा निर्मित जुम्ला जिल्लाको श्री चन्दननाथ उमावि भवनको उदघाटन गरेका छन् ।
ठूली भेरीको किनारमा अवस्थित श्री बाला त्रिपुरा सुन्दरीदेवी मन्दिर त्रिपुराकोटमा पर्दछ । डोल्पा जिल्लाका जनताको सामाजिक तथा सांस्कृतिक जीवनसँग यो नौ सय बर्षभन्दा पुरानो मानिएको ऐतिहासिक सम्पदाको ठूलो महत्व गाँसिएको छ । हरेक वर्ष मन्दिरमा आउने २० हजारभन्दा बढी तिर्थालुलाई स्तरीय सुविधा दिनेगरी पुरानो संरचनाको स्तरोन्नति गरिएको बताईएको छ ।
सन् १९५१ म स्थापना भै सन् २००६ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नती गरिएको श्री चन्दननाथ उमावि मध्यपश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लाको महत्वपूर्ण शैक्षिक संस्था हो । भारतको सहयोगमा नवनिर्मित छात्रावास भवनबाट विद्यालयमा अध्ययनरत ६० प्रतिशत छात्राहरुसहित कुल करिव सात सय विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुग्ने बताईएको छ । यो भारत सरकारद्वारा जुम्ला जिल्लामा संचालित पहिलो विकास परियोजना हो । यसको साथै भारत सरकारले यस जिल्लालाई दुईवटा एम्बुलेन्ससमेत उपहार स्वरुप प्रदान गरिसकेको छ ।
यस बाहेक भारत सरकारले नेपालका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पुनर्निर्माण तथा जिर्णोद्धारको लागि करिब ३ करोड रुपैंया सहयोग प्रदान गरिसकेको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५०२ भन्दा धेरै परियोजनाहरुको लागत ७५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।
नेपालको समग्र विकासमा शैक्षिक पुर्वाधार विकासको महत्वमाथि जोड दिदै आफ्नो सम्वोधनको क्रममा भारतका राजदूतले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत निर्माणाधिन तथा सम्पन्न विभिन्न विकास परियोजनाहरुले नेपालका जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आशा व्यक्त गरे ।

अभिलेख

लोकप्रिय