२१ कात्तिक २०८३, शनिवार

सिंगा गाविसका सबै घरधुरी सहकारीमा आबद्ध, महिला सहकारी उत्कृष्ठ

२०७२ भदौ १३, आईतवार
सिंगा गाविसका सबै घरधुरी सहकारीमा आबद्ध, महिला सहकारी उत्कृष्ठ

म्याग्दी । जिल्लाको ग्रामीण क्षेत्रमा महिलाले सञ्चालन गरेका सहकारी संस्थाले एक वर्षको अवधिमा १२ करोडभन्दा बढीको कारोबार गरेका छन् ।

सानो पुँजीमा सञ्चालन गरेका सहकारीहरू ग्रामीण क्षेत्रका आर्थिक रुपमा विपन्न महिलाको आयआर्जन वृद्धि र रोजगारी सिर्जनामा सहयोगी बनेका छन् । प्लान नेपालको सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित सहकारी प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका २७ गाविसमा महिलाले सहकारी संस्था सञ्चालन गरेका छन् ।

ती संस्थाले आव २०७१/७२ मा रु १२ करोड छ लाख ७७ हजार ४ सय ४ को कारोबार गरेका सहमति संस्थाका जिल्ला संयोजक शिव सुवेदीले जानकारी दिए । उनका अनुसार २७ गाविसका १७ हजार ६१३ घरधुरीमध्ये ११ हजार ६७७ घरका १३ हजार १६७ जना सहकारीमा आबद्ध भएका छन् ।

कुइनेमङ्गले, दग्नाम, झीँ, कुहुँ, निस्कोट, लुलाङ, चिमखोला, बेगखोला, पात्लेखेत र साविकको सिंगा गाविसका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । मुदी, दाना र बाबियाचौरका ९५ प्रतिशतभन्दा धेरै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।

विभिन्न बस्तीमा गठन भएका ५१७ वटा महिला समूहको सिफारिसका आधारमा बिनाधितो ऋण लगानी र बचत सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । तीन करोड १२ लाख ९५ हजार सेयर पुँजी रहेको सहकारीहरूले गत आर्थिक वर्षमा रु छ करोड ८९ लाख ४२ हजार २७६ बचत सङ्कलन गरेका थिए ।

महिला सहकारीमार्फत बिनाधितो ऋण लिएर महिलाले तरकारीखेती, सिलाइ कटाइ, व्यापार व्यवसाय, घरखर्च चलाउन, कुखुरा, बाख्रा, भैँसीपालन गर्नुका साथै छोराछोरीका शिक्षा र स्वास्थ्यमा लगानी गर्ने गरेका छन् ।

गत वर्ष १० करोड दुई लाख ८९ हजार ७६७ लगानी भएकामा एक हजार २०४ जनाले कृषि र गैर कृषिजन्य उद्यमका लागि ऋण लिएका थिए । सहकारीबाट ऋण लिएर उद्यम सुरु गरेकाहरूले एक वर्षको अवधिमा रु दुई करोड ३४ हजार आम्दानी गरेको संयोजक सुवेदीले बताए ।

ग्रामीण बस्तीहरूमा सहकारी सञ्चालन भएपछि स्थानीयबासीमा बचत गर्ने बानीको विकास हुनुका साथै सहज रुपमा कर्जा पाउने भएकाले आर्थिक क्रियाकलाप गर्न सजिलो भएको देवीस्थानकी पिपला बुढाथोकीले बताईन ।

सहमतिले महिला सहकारी स्थापना र सञ्चालनका लागि सहजीकरण, कर्मचारीको व्यवस्था, सहकारी व्यवस्थापन र महिलाको नेतृत्व तथा क्षमता विकासका लागि सहयोग गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय