२१ कात्तिक २०८३, शनिवार

सहुलियत ऋण सहयोग पुनरावलोकन बैठक सम्पन्न

२०७२ साउन १९, मङ्गलबार
सहुलियत ऋण सहयोग पुनरावलोकन बैठक सम्पन्न

काठमाडौं । भारत र नेपाल सरकारबीच तेश्रो द्वीपक्षीय सहुलियत ऋण सहयोग पुनरावलोकन बैठक मंगलबार सम्पन्न भएको छ ।

काठमाडौंमा भएको बैठकमा भारतीय प्रमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव (डीपीए–आई) मनप्रीत वोहरा तथा नेपाली टोलीको नेतृत्व नेपाल सरकार अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय विभागका सहसचिव मधुकुमार मरासैनीले गरेका थिए । बैठकमा भौतिक योजना तथा पुर्वाधार, उर्जा तथा सिंचाइ मन्त्रालयका सम्बन्धित अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

भारतको एक्सिम बैंकले प्रदान गरेको अमेरिकी डलर १०० मिलियन, २५० मिलियन र १ बिलियन सहुलियत ऋणका सम्बन्धमा भएका प्रगतिबारे समीक्षा गरिनुको साथै भारत सरकारले नेपालमा भूकम्प पछिको पुर्वाधार निर्माणको लागि जाहेर गरेको प्रतिवद्धता अनुरुपको सहुलियत ऋण कार्यान्वयन विधिबारेमा पनि बैठमा छलफल भएको थियो । भारतीय पक्षले माननीय विदेशमन्त्रीले २५ जुन २०१५ को पुर्ननिर्माणको लागि आयोजित अन्तर्राष्ट्रिय दाता सम्मेलनमा घोषणा गरेअनुरुपको सहयोग प्याकेज कार्यान्वयनको लागि ठोस प्रस्तावको अपेक्षा गरेको छ ।

भारतीय पक्षले काठमाडौं देखि निजगढ जोड्ने दु्रतमार्ग निर्माण गर्न नयाँ सहुलियत ऋण प्रदान सम्बन्धि नेपाल सरकारको प्रस्तावलाई भारत सरकारले अनुकुलतानुरुप मनन गर्ने कुरामा नेपाली पक्षलाई आश्वस्त गराएको छ ।
सहुलियत ऋण सहयोग पुनरावलोकन सम्बन्धि अर्काे बैठक जनवरी २०१६ मा भारतमा बस्ने निर्णय गरिएको छ ।

अभिलेख

लोकप्रिय