२१ कात्तिक २०८३, शनिवार

सहकारीले बैंक तथा वित्तीय संस्थाको सेयर किन्न नपाउने

२०७२ साउन १६, शनिवार
सहकारीले बैंक तथा वित्तीय संस्थाको सेयर किन्न नपाउने

काठमाडौं । सहकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशिका–०७२ मा सहकारीको लगानीमा कडाइ गरेको हो ।

४ वर्षअघि सहकारी दर्ता तथा नियमन मापदण्ड–०६८ ले सहकारी संस्थाले अन्य निजी व्यवसाय, कम्पनी तथा फर्ममा सेयर लगानी गर्न नपाइने व्यवस्था गरेको थियो । तर, मापदण्डका प्रावधानलाई सहकारी विभागले लागू गर्न नसक्दा सहकारीहरूले खुलेआम सेयरमा लगानी गर्दै आएका थिए ।

राष्ट्र बैंकको निर्देशन आएलगत्तै नेपाल स्टक एक्सचेन्जले बिहीबार सूचना जारी गर्दै सहकारी संघसंस्थाहरूलाई बैंक तथा वित्तीय संस्थाको सेयर किन्न रोक लगाएको छ । सहकारी संस्थाहरूले संस्थागत रूपमा नै विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दै आएका थिए । काठमाडौं उपत्यमा खुलेका सहकारीहरू यो काममा बढी संलग्न छन्  ।

यसैगरी, एकीकृत निर्देशनमा कालोसूचीमा राख्ने व्यवस्थालाई थप कडाइ गरेको छ । नयाँ व्यवस्थाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नका लागि निवेदन दिएको ५ दिनभित्र कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्नुपर्ने छ । यसअघि, यस्तो समयसीमा १५ दिनको थियो ।

यस्तै, कालोसूचीमा रहेका संस्थापक सेयरधनीको सम्पत्ति धितोमा ऋण लिन नपाइने, वार्षिक ३ लाख रुपैयाँभन्दा कम कारोबार भएका ग्राहकलाई कम जोखिमयुक्त सूचीमा राख्ने, साधारण ब्याजसमेत मिनाहा गर्न सक्ने, बैंकहरूले आफ्ना सञ्चालक, प्रमुख कार्यकारी र अधिकृतस्तरका कर्मचारी तथा तिनमा परिवारले लिएको ऋणको विवरण आर्थिक वर्ष सकिएको ३५ दिनभित्र राष्ट्र बैंकमा बुझाउनुपर्नेलगायतका व्यवस्था गरिएको कारोबार दैनिकले खबर छापेको छ ।

अभिलेख

लोकप्रिय